काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अफगानिस्तानको प्रशिक्षकमा नियुक्त हुने भएका छन् ।
अफगानिस्तान फुटबल महासंघले बिहिबार सामाजिक सन्जालमार्फत अल्मुताइरी नयाँ मुख्य प्रशिक्षक नियुक्त हुने क्रममा रहेको जनाएको छ । अफगानिस्तानको राष्ट्रिय टोलीका लागि काबुलमा छनोट प्रक्रिया सन्चालन हुनेछ । अफगानिस्तान भन्दा बाहिर रहेका खेलाडीले पनि छनोट प्रक्रियामा भाग लिने महासंघले जनाएको छ ।
अल्मुताइरी र महासंघबीच छिट्टै राजधानी काबुलमा सम्झौता पत्रमा हस्ताक्षर हुने र त्यसपछि पत्रकार सम्मेलन गरिने जानकारी पनि महासंघले दिएको छ । राष्ट्रिय टोलीकै खेलाडीसँग विवादमा परेपछि अल्मुताइरीले गत वर्ष नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

नेपालमा १४ महिना रहँदा प्रशासनिक रुपमा निक्कै विवादित भए पनि अल्मुताइरी समर्थकमाझ निक्कै लोकप्रिय थिए ।
नेपाललाई साफ च्याम्पियनसिपको फाइनलसँगै पहिलो पटक एएफसी एसियन कप छनोटको तेस्रो चरण तथा एसिया कपको छनोटसम्म पुर्याएका अल्मुताइरीको नेतृत्वमा नेपालले अफ्रिकी देश मोरिससविरुद्धको दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण शृंखलामा दुवै खेल जितेको थियो ।


















