सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजाने बाटोमा हिँडेका हौँ : रवि लामिछाने

67

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन् ।

बुधबार चितवनको मुग्लिन बजारमा आज आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजानुपर्ने बताए। उनले भने, “सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजाने बाटोमा हिँडेका हौँ हामी । हाम्रो ओठमा मुस्कान र हातमा फूल छ । हामीले गालीगलौज गर्न सुहाउँदैन । त्यसैले हामी गालीगलौजको राजनीति नगरौँ ।”

उनले पार्टीको २१ सिटको यात्रा फूलबाट तय भएको स्मरण गराए । मात्तिएर र आत्तिएर राजनीतिमा नहुने भन्दै उनले आफूहरु सच्चिनुपर्ने ठाउँहरु केही रहेछन् भने सबैभन्दा पहिले आफ्नो पार्टीभित्रको पङ्क्तिलाई हेर्ने बताए । उनले अरु दलको आलोचना नगर्ने बताए।

सामाजिक सञ्जालमा आफूहरुलाई माया गर्ने नाममा अन्य दलहरुप्रति घृणा र गालीगलौज भएको पनि देखिएको भन्दै आफूले क्षमा मागेको उनले बताए । सभापति लामिछानेले भ्रष्टाचारविरुद्ध पार्टी सधैं अग्रपङ्तिमा रहेर काम गर्ने स्पष्ट पारे ।

यस्तै सोही सभालाई सम्बोधन गर्दै तनहुँ १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफूहरूले पात्रहरूको विरोध नगरेर प्रवृत्तिको विरोध गरेको बताए । विपक्षीले निम्नस्तरको गाली गरे पनि आफूहरूले प्रवृत्तिको आलोचना गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here