आज बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस हुने

39

हेटौँडा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटलाई लक्षित गरी बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गर्नु हुनुभएको छ ।

प्रदेश सभाको दोस्रो अधिवेशनको पहिलो दिन आज मङ्गलबार विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा तामाङले पेस गर्नु हुने भएको हो ।

मन्त्री लामाले प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । बजेट अधिवेशनको रूपमा समेत रहेको वर्षे अधिवेशनमा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफलपछि आगामी आवको नीति तथा कार्यक्रम र बजेट पेस गरिने भएको छ ।

प्रदेश सरकारको बजेट खर्चलाई पारदर्शी र प्रभावकारी बनाइने लगायतका विषयलाई विनियोजन विधेयकको सिद्धान्त रूपमा लिइने जनाइएको छ । साथै स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, रोजगारीको अवसर सिर्जनालाई प्राथमिकतामा राखिने भएको छ ।

साथै प्रदेश सभाको आजको बैठकमा चिट्ठा व्यवस्थापनसम्बन्धी विधेयक बागमती प्रदेशका प्रदेश प्रमुखले फिर्ता पठाउनुभएको पत्रको बारेमा जानकारी गराइने भएको छ । बागमती प्रदेश सभाबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको प्रदेश स्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा बनेको विधेयकमा केही विवादास्पद बुँदा रहेको र सङ्घीय चिट्ठासम्बन्धी ऐनमा भएको व्यवस्थासँग बाझिएको पाइएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त विधेयक प्रदेश सभामा फिर्ता पठाउनुभएको हो ।

गत चैत २८ गतेको मन्त्रीपरिषद् बैठकले सामाजिक हितका लागि भन्दै प्रदेश भर चिट्ठा खेल्ने खेलाउने अनुमति दिन कानुन बनाउने गरी विधेयक स्वीकृत गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषद्बाट स्वीकृतपछि प्रदेश सभामा दर्ता भएको उक्त विधेयक सामान्य छलफलमा नै प्रदेश सभाबाट गत वैशाख १२ गते बहुमतले पारित गरी प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here