काठमाडौं । श्रमजीवी पत्रकारहरुको छाता संगठन मानिएको नेपाल पत्रकार महासंघमा पछ्र्रिल्लो कर्मचारी चयनमा भएको अयिमितता र पक्षपातको विषय निसन्देह नै चिन्तनीय र गम्भीर हो । युरोपियन युनियन र इन्टरनेशनल अलर्टको सहकार्यमा सञ्चालन हुने परियोजनाका लागि कर्मचारी छनोट प्रक्रियादेखि परीक्षासम्म गरिएको विभेदले महासंघको स्वतन्त्र भूमिकाप्रतिको विश्वासमा पूरै धमिरा लागेको छ ।
परीक्षाको निस्पक्षता, पारदर्शिता त कतै छनक देखिएन । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले लोकतन्त्रलाई दर्बिलो बनाउनका लागि आवाज, नागरिक सहभागिता र उत्तरदायित्व भन्ने नाराकासाथ सिनियर प्रोजेक्ट अफिसर एक जना र प्रोजेक्ट अफिसर एक जना कर्मचारीको दरखास्त गत जेठ १८ गते आह्वान गरेको थियो । त्यो नारालाई नै व्यंग्य हुने गरी हर्कतहरु भए ।
दुई जना कर्मचारीहरुका लागि विज्ञापन गरियो । जसका लागि १३ जनाले पठाएको निवेदन र व्यक्तिगत विवरण इमेल मार्फत प्राप्त भएको महासंघका एक कर्मचारीले बताए । प्रोजेक्ट अफिसर पदका लागि फणीन्द्र फुयालको पनि त्यहाँ निवेदन परेको थियो । अचम्म त के भयो भने त्यो निवेदन इमेलमै नआएको भनियो । पछि प्राविधिक लगाएर जाँच गर्दा मेल पुगेको तर फालिएको भन्ने रिपोर्ट आयो । त्यस्तै अन्यको पनि फालियो होला ।
फणीन्द्रले त्यसबारेमा सत्यतथ्य पत्ता लगाउन भन्दै महासंघ र युरोपियन युनियनको काठमाडौंस्थित कार्यालयमा पनि इमेलमार्फत उजुरी दिएकाले न यो कुरा वाहिर आयो । सबैले यो किसिमको प्रतिवाद नगर्न सक्छन ।
उनले आफ्नो उजुरीमा ‘सूचनामा उल्लेख भएअनुसारको इमेलमार्फत ६ जुन १२:४६ बजे प्रोजेक्ट अफिसर पदका लागि बायोडाटा र निवेदन पठाएको थिएँ । …सूचनाअनुसार केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मेरो आवेदन नै परेको थिएन भन्ने कुरा जानकारीमा आयो ।’
यसबारेमा बुझ्न महासंघका अध्यक्ष बिपुल पोखरेललाई फोन, एसएमएस, फेसबुक मेसेञ्जर आदिमा सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएपछि आफूले इमेलको स्क्रिनसटसहित प्रमाण पेश गरेको भन्दै फणीन्द्रले निवेदनमा उल्लेख गरेका छन् । उनले महासंघका अध्यक्ष विपुल पोखरेलको नियतमा नै प्रश्न उठाएका छन् ।

महासंघमा फणीन्द्र फुयालको उजुरी परेपछि प्राविधिक ल्याएर चेकजाँच गरियो । निवेदन फालेको (इमेल डिलिट गरेको) प्रमाणित भयो ।
फणीन्द्रको उजुरी र प्रविधिकले इमेल परीक्षण गरेपछि फणीन्द्रलाई पनि साउन ९ गते गते दिउँसो १ बजेका लागि अरुहरुसँगै अन्तर्वाताको लागि महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राम बोलाइयो । अन्तर्वार्ता लिन नेपाल पत्रकार महासंघका वरिस्ठ उपाध्यक्ष रमेश बिष्ट, कोषाध्यक्ष कलेन्द्र सेजुवाल र प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल थिए । अघिल्लो दिन अन्तर्वार्ता लिन पत्रकार महासंघका महासचिव रोशन पुरी पनि बस्ने योजना थियो । पछि पुरी बस्न नमानेपछि महासंघका अध्यक्ष विपुल पोखरेलको तजबिजीमा भुसाल गएका थिए । अध्यक्ष पोखरेलले आफूलाई दुइटा टास्क दिएर पठाएको अहिले आफ्ना निकटलाई भुसालले बताएका छन् । एक, निवेदन नै फालेका फणीन्द्र फुयाललाई नम्बर नदिने र दोस्रो, अध्यक्ष पोखरेलले ल्याउन चाहेका गिरिराज अधिकारीलाई धेरै नम्बर दिने । महासंघ र सभापति बिपुलका बारेमा एकाध रचनात्मक आलोचनासहितको समाचार लेखेको, सामाजिक सञ्जालमा शेयर गरेका कारण बिपुल आफूप्रति पूर्वाग्रही भएको फणीन्द्रको बुझाइ छ ।
कर्मचारी छनोटका लागि अन्तर्वार्ता मात्र लिइएको थियो । लिखित परीक्षा पनि लिइएन । परियोजनाको विषयसँग भन्दा पनि अन्तर्वार्ताकारहरुले अन्यत्र विषय मोडे । जन्मदेव जैशीले नेतृत्व गरेको पत्रकार संगठन, कान्तिपुर आन्दोलनका विषयमा कुरा समेत राखे । राख्नु नपर्ने लिष्टमा परेका केहीलाई दुई मिनेटमै अन्तर्वार्ता सकियो । अधिकाँशलाई परियोजना प्रमुखले गर्नुपर्ने कामका बारेमा भन्दा पनि महासंघको संरचना र निर्माणका बारेमा प्रश्न सोधिएको थियो ।
दुई पदका लागि मागिएको आवेदनमा दुवै पदका लागि चार/चार जना सर्टलिस्ट बनाइयो । प्रमुख पदमा छानिएकामध्येबाट अन्तर्वार्ता लिएकालाई दोस्रो पदमा अन्तर्वार्ता दिन लगाएर दोस्रोमा छान्ने काम भयो । जुन पदका लागि दरखास्त दिएको हो, सर्टलिस्टमा पनि त्यसैमा चुनेर पछि नियुक्ति अर्कै पदमा दिने गरी उतिर्ण गरियो । छनोटका लागि अन्तर्वार्ता मात्र लिइएको थियो । लिखित परीक्षा पनि लिइएन । अरुको अनियमितताको बारेमा प्रश्न गर्ने पत्रकारहरुको समेत नेतृत्व गर्ने संगठनकोे विकृति र अनियमितताको यो पराकाष्ठा होइन ?
पत्रकार महासंघ श्रमजीवी पत्रकारहरुको संगठनभन्दा पनि राजनीति शक्ति प्रदर्शन गरेर नेतृत्वबाट व्यक्तिगत नाम र दाम लिने थलोको रुपमा विकास हुँदै गएको अनुभूत हुँदै गएको छ । यसलाई श्रमजीवीहरुको पक्षमा लड्ने छाता संगठनको रुपमा विकास गर्नका लागि निकै ठूलो मेहनत, संघर्ष गर्नुपर्ने देखिन्छ ।
यस्तो छ प्राविधिक प्रवेश सुवेदीले दिएको रिपोर्ट:
श्री महासचिव ज्यू,
नेपाल पत्रकार महासंघ,
सञ्चारग्राम काठमाडौं
यहाँले मिति २०८०/४/८ गतेको पत्रमा सहजिकरणका लागि आग्रह गरे अनुसार कर्मचारी नियुक्तिका लागि दिएको आवेदनको इमेल उपलब्ध नभएको/हराएको सम्बन्धी विषयमा प्राविधिक विश्लेषण निम्न अनुसार रहेको जानकारी गराउँछु ।
१. आवेदन दिने फणिन्द्र फुयाल ([email protected]) र नेपाल पत्रकार महासंघको तर्फबाट इमेल व्यवस्थापन गर्ने कर्मचारी ऋषि भण्डारी ([email protected]) लाई महासंघै कार्यालयमा उपस्थित गराई दुबै पक्षका इमेललाई प्राविधिक परीक्षणका लागि अनुमति दिन (Access to mailbox) अनुरोध गरियो । सम्बन्धित इमेलको Header information, spam र trash folder को विश्लेषण गरियो ।
२. प्रेषक फणिन्द्र फुयालको इमेल ठेगानाबाट Jun 6, 2023 at 12:46 PM मा २ अट्याचमेन्ट सहित आवेदन पठाइएको देखियो । पाउने ठेगाना राख्दा कुनै व्याकरण त्रुटी नभएको, पाउने इमेल पनि एउटै सेवा प्रदायक (Gmail) कै रहेकोले, एट्याटमेन्ट साइज वा फाइलको प्रकारले पनि सामान्यतः इमेल प्रेसित हुन अवरोध हुने अवस्था देखिएन । इमेल प्रेसित हुन नसक्दा सेवा प्रदायक (Gmail) ले सूचित गर्ने (Delivery Status Notification (Failure)) गरेको अवस्था पनि देखिएन । उक्त इमेललाई परीक्षणका लागि उही सामग्री पुन सम्प्रेषित गर्दा प्रापक इमेलमा सहजै उपलब्ध भएकोले प्रेषकको तर्फबाट त्रुटि भएर इमेल प्राप्त नभएको देखिएन ।
३. प्रापक इमेलमा Inbox, Trash र Spam फोल्डर कतै पनि उक्त इमेल नदेखिएकाले तत्कालिन अवस्थामा कि मध्यस्तकर्ता नेटवर्कमा अवरोध हुनुपर्ने (कतिपय, सुरक्षा संवेदनशील इमेलहरू नेटवर्क वा इमेल होस्ट गर्ने सरभरका फिल्टरहरूले रोक्छन्) कि प्राप्त भइसकेको इमेललाई मानवीय त्रुटि/नियतबस permanently delete गरेको हुनुपर्ने वा Spam इमेलको रूपमा लेबल भएर ३० दिनको अवधिमा स्वतः हटेको हुनुपर्ने देखियो ।
४. यो प्राविधिक विश्लेषणबाट प्रापक mailbox मा हाल उपलब्ध भए वा नभएपनि आवेदक फणिन्द्र फुयालले सन् २०२३, जुन ६ तारिख दिउँसो १२:४६ बजे तोकिएकै इमेलमा इमेल पठाएको निष्कर्ष निकालियो ।
भवदीय,
प्रवेश सुवेदी
समयबद्ध साप्ताहिकबाट


















