हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगियो

30

काठमाडौं  । चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो २०/२२ दिनको बिचमा हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगिएको हो ।

पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ । खुद्रा बजारमा त झन् मूल्य छोइसक्नु नै छैन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको साउन १६ गते प्रतिकेजी २८ रुपियाँमा थोकमा कारोबार भएको घिउसिमी भदौ ४ गते आइपुग्दा बढेर ११० रुपियाँ वा ७४ प्रतिशत बढेको छ । खुद्रामा घिउसिमीको मूल्य अहिले बढेर २२० रुपियाँमा किनबेच भइरहेको छ ।

यस्तै साउन १६ गते ४५ रुपियाँमा थोकमा कारोबार भएको तनेबोडी भदौको ४ गते मूल्य बढेर ११० रुपियाँ थोकमै पुगेको छ । खुद्रामा यसको मूल्य प्रतिकेजीको २२० रुपियाँसम्म किनबेच भएको छ । यस्तै सो अवधिमा सेतो मुला ३७ मा कारोबार भएकामा अहिले बढेर ७६ रुपियाँ रहेको छ । स्थानीय काउली प्रतिकेजी ६८ रुपियाँबाट ८८ रुपियाँ, मकैबोडी ६६ रुपियाँबाट ८५ रुपियाँमा थोकमा किनबेच भइरहेको छ । यस्तै भदौ ४ गते भटमास प्रतिकेजी १०४ रुपियाँ, तितेकरेला प्रतिकेजी ५० रुपियाँ, लौका प्रतिकेजी ८० रुपियाँ, परबर प्रतिकेजी ७० रुपियाँ, घिरौँला प्रतिकेजी ५० रुपियाँ र भिन्डी प्रतिकेजी ५० रुपियाँमा किनबेच भएको छ । यसको भाउ खुद्रा बजारमा दोब्बरभन्दा बढी महँगो छ ।

चाडपर्वमा बढी माग हुने काउली, च्याउ, तामा, घिउसिमी, तनेबोडी, काँक्रोलगायतका तरकारीको मूल्य वृद्धि भएको छ । उत्पादन स्थलमै महँगो भएकाले काठमाडौँसम्म आइपुग्दा यसको मूल्य अझै बढेको व्यापारी बताउँछन् ।

कलङ्कीबाट कालीमाटी तरकारी बजारमा तरकारी किन्न आएकी बबिता अधिकारी पछिल्ला दिनमा तरकारी र फलफूलको मूल्य महँगिएको सुनेर अलमल हुनुभयो । तरकारी र फलफूल किन्न आएकी अधिकारीले भन्नुभयो, “के तरकारी किन्ने भन्ने नै अन्योल भयो, के किन्ने महँगो उत्तिकै छ  । त्यही पनि ताजा भए त हुन्थ्यो नि, हेर्दै बासी जस्तो छ, के किन्ने खै !”

वरपरको पसलमा राम्रो तरकारी नपाएपछि कालीमाटीमै आएकी उहाँले पैसा महँगो तिरेर पनि राम्रो तरकारी नपाएको गुनासो गर्नुभयो । एक महिनाअघि १५० रुपियाँमा एक झोला तरकारी किनेको तर अहिले त त्यो पैसाले त एक केजी पनि मुस्किल भएको उहाँको अनुभव छ ।

व्यवसायीले पसलपिच्छे फरक मूल्यमा बिक्री गरेका छन् । बजारमा खुला ठगी भए पनि सम्बन्धित निकाय भने मौन बसेको छ । बजार अनुगमन, नियमन र हस्तक्षेप गर्ने अधिकार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको हो तर विभागले प्रभावकारी रूपमा अनुगमन गरेको देखिँदैन । बजारभाउ बढ्नुमा सरकारी निकाय मौन बसेको आरोप उपभोक्ताकर्मी लगाउँछन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले तरकारीको भाउ पसलैपिच्छे फरक हुँदा पनि यसको सरकार निकायबाट अनुगमन हुन नसक्नु विडम्बना हो भन्नुभयो ।

बजार अनुगमन गर्ने जिम्मा पाएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तीन/चार वटा समूहले नियमित रूपमा मूल्य अनुगमन गरेर कारबाहीसमेत गर्दै आएको जनाएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार केही दिनदेखि गोलभेँडाबाहेक अन्य तरकारीको भाउ महँगो भएको छ । थोक मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीले पनि मनोमानी रूपमा मूल्य बढाउँदै आएका छन् ।

समितिका अनुसार आइतबार बजारमा झन्डै छ सय मेट्रिक टनको हाराहारीमा मात्रै कालीमाटी बजारमा तरकारी भित्रिएको थियो भने सोमबार १०/११ बजेसम्म तीन/चार सयको हाराहारीमा तरकारी भित्रिएको छ ।

समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको माग उच्च भएका बेला आयात केही घटेकाले भाउ महँगिएको बताउनुभयो । नियमित आउनुपर्ने तरकारी बजारमा समयमै नआउँदा धेरै बिग्रेर फाल्नुपर्ने अवस्थाले गर्दा पनि महँगो भएको उहाँको भनाइ छ ।

समितिका अनुसार यो बेलामा कालीमाटी बजारमा धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, भक्तपुर, ललितपुर र काठमाडौँका विभिन्न ठाउँबाट तरकारी आउँछन् । यो समयमा काठमाडौँमा खपत हुने तरकारीको आधा हिस्सा छिमेकी जिल्लाबाटै आउने भएकाले तरकारीको अभाव नहुने श्रेष्ठको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here