मानव बेचबिखन कारबाही प्रभावकारी भएन : केपी

48

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्नमाथि कारबाही र पीडितको उद्धार गरी स्वदेश फिर्ती गर्ने काम प्रभावकारी हुन नसकेको बताएका छन् ।

मानव बेचविखनविरूद्धको १७ ‌औं राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले अन्तरदेशीय संगठित अपराधका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारका घटना अहिले पनि कम हुन नसकेको बताएका हुन्।

मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरण र निराकरणका लागि चालिएको कदम प्रभावकारी नभएको ओलीको भनाइ छ।

‘त्यस्ता कार्यमा संलग्नलाई कानूनको दायरामा ल्याएर दण्डित गर्न र पीडित/प्रभावितको उद्धार, स्वदेश फिर्ती, पुनःस्थापना, पुनर्मिलन र राहत तथा क्षतिपूर्ति प्रदान गर्ने काम प्रभावकारी हुन सकेको छैन,’ सन्देशमा उनले भनेका छन्।

समाजमा रहेको गरिबी, बेरोजगारी र पछौटेपनको फाइदा अपराधजन्य कार्यमा संलग्न पक्षले उठाइरहेको ओलीले बताएका छन्।

उनले मनोरञ्जन, वैदेशिक रोजगारी, घरेलु काम, मानव अङ्ग प्रत्यारोपणलगायत विभिन्न कार्यका लागि मानव खासगरी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको उल्लेख उल्लेख गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यौन शोषण, बाध्यात्मक श्रम, दासता, जोखिमपूर्ण कार्यको नियन्त्रणका लागि राज्यको स्तरबाट नीतिगत, कानून र संरचनागत आधार तयार गर्न र सामाजिकस्तरबाट सचेतनागत अभियान सञ्चालन गर्न आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here