संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुनु हुँदैन : केपी ओली

55

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काममा असहज भएको बताएका छन् ।

गुटेरेससँगको भेटमा ओली : ‘प्रधानमन्त्रीले नै हिंसाको महिमामण्डन गर्दा शान्ति प्रक्रिया टुंग्याउन असहज भयो’

आईतबार संघीय संसद् भवनमा नेपाल भ्रमणमा रहेका महासचिवगुटेरेससँगको भेटमा ओलीले प्रधानमन्त्री दाहालले हिंसात्मक गतिविधिलाई बढावा दिने काम गरेकाले शान्ति प्रक्रियालाई टुंगोमा पुग्न नसकेको बताए ।

माओवादी युद्ध सुरु भएको दिनलाई दिवसको रुपमा मनाउने प्रधानमन्त्री दाहालको कामले शान्ति प्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्रसंघका महासचिव गुटेरेससँग राखेको भेटमा सहभागी एमाले उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘हाम्रो तर्फबाट हाम्रो पार्टी अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुनु हुँदैन । त्यो चाहिँ पीडितहरुलाई ध्यान राखेर समाधान गरिनुपर्छ । हामी त्यसलाई छिटो भन्दा छिटो टुंग्याउन चाहन्छौं । तर प्रधानमन्त्रीज्यू जो हिजोको विद्रोही नेता हुनुहुन्थ्यो । आज प्रधानमन्त्री हुनुहुुन्छ । उहाँले नै यी सबै विषयहरु टुंग्याउन भूमिका खेल्नुपर्नेमा चाहीँ अलिकति हिंसालाई बढावा दिने खालको, हिंसालाई महिमामण्डन गर्ने खालको उहाँका क्रियाकलापले अलिकति असहज जस्तो भएको छ । खास गरेर युद्ध सुरु भएको दिनलाई दिवसको रुपमा मान्यता दिने जुन कुराहरु भयो । यसले पीडितहरु अलिकति चिन्तामा छन्’ ओलीले गुटेरेससँग राखेको भनाई उदृृत गर्दै ज्ञवालीले भने ।

अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंग्याउँदा गम्भीर अपराधमा आममाफी हुन नहुने, अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई ध्यान दिनुपर्ने, सर्वोच्च अदालतको जुन आदेश छ, त्यो कुरालाई समेत ध्यानमा राखेर त्यो विषय छिटो भन्दा छिटो टुंगियोस् चाहना राखेको जानकारी गराएका थिए । यस्तो भयो भने प्रतिपक्षले हैसियतले सहयोग रहने धारणा ओलीको थियो ।

महासचिव गुटेरेसले भने आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताएका थिए । महासचिव गुटेरेससँग ओलीले संयुक्त राष्ट्रसंघलाई नेपालजस्तो विकासोन्मुख देशहरुको बलियो अभिभावकको रुपमा हेर्न चाहेको पनि बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here