इजरायली आक्रमण तत्काल रोक्ने विषय छलफल

47

तेहरान । इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार रुस भ्रमणका क्रममा गाजा क्षेत्रमा भएको इजरायली आक्रमणलाई तत्काल रोक्ने विषय छलफलको मुख्य विषय भएको बताएका छन् ।

रुसी समकक्षी भ्लादिमिर पुटिनको निमन्त्रणामा तेहरानबाट रुसको राजधानी मस्को जानु अघि पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति रायसीले उक्त टिप्पणी गरेको राष्ट्रपति कार्यालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रुससँगको राजनीतिक, आर्थिक, व्यापारिक, सांस्कृतिक तथा वैज्ञानिक क्षेत्रमा सम्बन्ध विस्तार गरी सहकार्यका विषयमा छलफल गर्ने पनि भ्रमणको एजेण्डामा समेटिएको राईसीले बताएका छन् । इरानी राष्ट्रपतिले क्षेत्रीय र अन्तरक्षेत्रीय मुद्दामा शान्ति, स्थायित्व तथा एकपक्षीयताका विरुद्ध लड्न दुवै देशले समान धारणा राखेको पनि उल्लेख गरेका छन्।

इरानी राष्ट्रपतिले आफ्नो भ्रमणको उद्देश्य गाजाको घेराबन्दी हटाउने, तटीय क्षेत्रका मानिसहरूलाई मानवीय सहायता पु¥याउने तथा प्यालेस्टाइनीहरूको ‘अपरिहार्य’ अधिकारको रक्षा गर्नेलगायतका मुख्य विषयमा विचार आदानप्रदान गर्नु रहेको बताएका छन् । यी मुद्दाहरूमा अन्य देशहरूसँग पनि आवश्यक छलफल हुने उनले उल्लेख गरे ।

 

 

युरेशियन इकोनोमिक युनियन, साङ्घाई सहयोग सङ्गठन र ब्रिक्सलगायतका संस्थाले इरान र रुसबीचको द्विपक्षीय सम्बन्धका साथै बहुपक्षीयतामा आधारित अन्य क्षेत्रीय तथा समान विचारधाराका देशहरूसँगको सम्बन्ध सुधार्ने आधार तय गरेको उनको भनाइ छ ।

बिहीबारदेखि प्यालेस्टाइनी इस्लामिक प्रतिरोध आन्दोलन (हमास) र इजरायलबीचको घातक द्वन्द्व तेस्रो महिनामा प्रवेश गरेको छ । उक्त द्वन्द्वबाट १७ हजार एक सय ७७ जना प्यालेस्टाइनी तथा इजरायली पक्षका एक हजार दुई सय जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये अधिकांशले द्वन्द्वको सुरुआती चरणमा मारिएका हुन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here