काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा पदपूर्तिका लागि सरकारले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । कार्यविधि अनुसार इच्छुक उम्मेद्वारले कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र समेत आवेदनका साथमा बुझाउनुपर्नेछ ।
कार्यविधिमा भनिएको छ, ‘प्रचलति कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको र हाल कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र दरखास्त साथ पेश गर्नुपर्नेछ ।’
सोमबार जारी कार्यविधिमा न्युनतम योग्यतामा कुनै पनि विश्वविद्यालयको प्राध्यापकमा नियुक्ति भई अनुभव प्राप्त गरेको हुनुपर्ने, उम्मेद्वारको शैक्षिक योग्यता न्युनतम स्नातकोत्तर हुनुपर्ने उल्लेख छ ।
विश्वविद्यालय सम्बन्धी सोचपत्र र कार्य योजनालाई ३५ पूर्णाङ्क छुट्टाइएको छ भने प्रस्तुतीकरणमा २० र अन्र्तवार्ताका लागि १५ अंक तोकिएको छ ।
त्यस्तैगरी प्राज्ञिक अनुसन्धानमूलक परियोजनाका लागि ६, पुस्तक प्रकाशन वापत ५ पूर्णाङ्क, विश्वविद्यालयको पदाधिकारीको अनुभवका लागि ४ अंक, विद्यावारिधि योग्यताका लागि ५ अंक, प्राध्यापकको अनुभव भएको १० पूर्णाङ्कमा मुल्याङकन हुनेछ । ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको कार्ययोजना माग गरिएको छ ।
कार्यविधिमा उल्लेख भए अनुसार प्रतिस्पर्धीको आवेदनको मुल्याङ्कन गरेर अल्पसूचि प्रकाशन गरिने र विज्ञ समितिबाट अल्पसूचिमा परेकाबीच प्रतिस्पर्धा गराइनेछ । प्रतिस्पर्धामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये कुलपतिले एक जनालाई त्रिविको उपकुलपतिमा नियुक्ति दिनेछन् ।
आवेदकले सूचना प्रकाशित भएको १५ दिन भित्र अर्थात माघ ८ गते भित्र कार्यविधिमा तोकिएको कागजात सहित दरखास्त दिनुपर्नेछ । सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकिएको छ । सिफारिस समितिमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य चन्द्रकला घिमिरे सदस्य छन् ।
शुक्रबार विश्वविद्यालयका पदाधिकारीले मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी दरखास्त माग भएपछि विरोध भएको थियो । विवादित बनेपछि उक्त दरखास्त रद्द गर्दै शिक्षामन्त्री अशोककुमार राई संयोजक रहेको सिफारिस समितिले सोमबार पुनः उपकुलपतिको लागि दरखास्त आव्हान गरेको हो ।
कात्तिक १७ गते देखि रिक्त रहेको त्रिविमा उपकुलपति पदमा निमित्त उपकुलपतिको रुपमा शिक्षाध्यक्ष शिवलाल भुसाललाई जिम्मेवारी दिईएको छ । शिक्षाध्यक्ष (रेक्टर) र रजिष्ट्रारको पद पनि रिक्त रहेकोले निमित्तलाई जिम्मेवारी दिइएको छ ।
हेर्नुहोस् कार्यविधि :


















