काठमाडौं । नेपाल भाषाका हजारौँ किताब अब ई-लाइब्रेरी मार्फत विश्वकै कुनाकाप्चामा बसेर पढ्न सकिने भएकाे छ ।
त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई-लाइब्रेरीको बिहीबार काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले उद्घाटन गर्नुहुँदै नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्बन्धी पुस्तकहरूलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
डंगोलले नेपाल भाषाको साथमा नेपालकै भाषा, कला, साहित्य, संस्कृतिको साथमा नेपालसँग जोडिएका हरेक क्षेत्रको अध्ययन विश्वकै कुनाकाप्चामा बसेर गर्न सकिने गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
त्रिवि नेपाल भाषा केन्द्रीय विभागले बनाएको ई-लाइब्रेरीमा काठमाडौँ महानगरपालिकाले सहकार्य गरेको छ । कामनपाले ई-लाइब्रेरी बनाउन अहिले ५० लाख रुपियाँ उपलब्ध गराएको र यसलाई ‘अपग्रेड’ र ‘अपडेट’ गर्दै जानको लागि महानगरपालिकाले थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि डंगोलले व्यक्त गर्नुभयो ।
यसैगरी त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक डा. राजनलाल जोशीले अहिले करिब चार हजार पुस्तकहरू ई-लाइब्रेरीमा अपलोड भइसकेको र यसमा नेपालभाषा, नेवार र नेपालकै भाषा, कला, साहित्य, संस्कृति सम्बन्धी लेखिएका हरेक पुस्तकहरू, पुराना थ्यासफू लगायतका ऐतिहासिक लिखित सामग्रीहरू खोजी खोजी यसमा अपलोड गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
यसैगरी उपप्राध्यापक डा. वज्रमुनि बज्राचार्य, पाटन संयुक्त क्याम्पसका प्रमुख डा. लक्ष्मण वीर सिंह कुँवर, रत्नराज्यलक्ष्मी क्याम्पसका प्रमुख प्रा.डा. जीवनधर ज्ञवाली, प्रमुख, नेवा: देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेपालभाषा केन्द्रीय विभागको विद्यार्थी सङ्गठन लुमन्ति दबूका अध्यक्ष रामेश्वर श्रेष्ठलगायतले आआफ्नो विचार राख्नुभयो ।