प्रतिवन्धित औषधि  बिक्री गराएकाले दश हजार जरिवाना

15

धादिङ । धादिङमा भेटेरिनरी पसल तथा क्लिनिकहरुमा अनुगमन गरिएको छ ।
जिल्ला अनुगमन समितिले सोमबार धुनिवेसी नगरपालिका आसपासका भेटेरिनरी पसल तथा क्लिनिकहरुमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा धुनिवेसी नगरपालिका–१ भञ्ज्याङ पोखरीमा संचालित धुनिवेशी स्वास्थ्य क्लिनिक प्रालि र धुनिवेशी फार्मेसीलाई अनुगमन टोलीले दश-दश हजार जरिवाना तिराईएको छ । लाइसेन्स नभएको व्यक्तिले औषधि  बिक्री गरेको र प्रतिवन्धित औषधि  बिक्री गरेको, आवश्यक कागजपत्र विना नै संस्था संचालन गरेको र म्याद गुज्रिएको औषधि  बिक्री गर्न रोखेको पाइएकोले उपभोक्ता संरक्षण ऐन बमोजिम कारबाही गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं  सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जनाए ।

कानुन विपरित हुन सक्ने गतिविधि रोक्न सम्बन्धित विशेषज्ञसहितको उपस्थितिमा अनुगमन गरिएको पराजुलीले जनाए । विगतको अनुगमनमा गरिएका निर्देशन पालनाको अवस्था र सरकारको मापदण्ड पालनाको अवस्थाबारे पनि अनुगमन गरिएको जनाए।

अनुगमन समितिले भेटेरिनरी औषधी पसलहरुमा भने विगतमा भन्दा सुधार आएको फेला पारेको छ । एक वर्ष अगाडि भएको अनुगमनमा अधिकांश भेटेरिनरी औषधि  पसलहरु कारबाहीमा परेको भएपनि अहिले ती पसलहरुले सुधार गरेको पाइएको अनुगमनमा पुगेका जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख सन्दीप सिलवालले जनाए । अनुगमन गरिएका अधिकांश ठाउँहरुमा औषधि  व्यवस्था विभागको मापदण्ड अनुसार नै पसल संचालन गरेको पाइएको उनको भनाई छ । अनुगमनको क्रममा केही पसलहरुलाई एक साताभित्र सुधार गर्न लिखित निर्देशन पनि दिइएको छ ।

यस्तो अनुगमनले व्यवसायीहरु सचेत बन्ने र सेवाग्राही र उपभोक्ताले राम्रो सेवा पाउने भन्दै स्थानीयहरु खुसी भएका छन् भने व्यवसायी आफै पनि खुसी भएका छन्।अनुगमन समितिले अहिले धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा पर्ने धुनिबेसी, थाक्रे, गल्छी, गजुरी र बेनिघाटमा अनुगमन गरिरहेको छ । जिल्लाका गाउँ गाउँमा समेत पुगेर अनुगमन गर्ने योजनासहित अनुगमनलाई तीव्र पारिएको अनुगमन समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here