प्रजातन्त्रको पूजा कर्तव्य, त्याग, उदारता, निष्ठाले मात्रै हुने

33

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पूजा शब्दले मात्रै गरेर नपुग्ने जनाएका छन्। पूर्वराजा शाहले ७४ औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्रको पूजा कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र सही आचरणले मात्रै हुने जनाएका हुन्।

उनले भनेका छन्,’प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा– कर्म कर्तव्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम् सही प्रकारको आचरणले मात्र हुने हो। जनता जनार्दनले जे भन्दछन् – त्यो सुनौं – त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार झल्काउनु पर्दछ।’

प्रजातन्त्रमा सबैले खान लाउन पाउने, स्वस्थ र सन्तुष्ट भएर बाँच्न पाउने अवस्था हुनुपर्ने उनको भनाइ छ।

‘प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन सक्दैन। आफ्नो श्रोत, साधन र सीप सबै यसमा समाहित हुनुपर्दछ। यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ। सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने–सबैलाई देश मै गतिलो शिक्षा र सबैको क्षमताअनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ,’ उनको भनाइ छ।

यस्तो छ पूर्वराजा शाहको शुभकामना सन्देशः

नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,

फागुन ७ गतेको समय सन्दर्भमा हामी प्रत्येक वर्ष– राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गर्दछौँ। यस अवसरमा हामी प्रजातन्त्रप्रति प्रतिबद्ध हाम्रा प्रात स्मरणीय पूज्य जिज्यू बुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभूवनको त्याग र उदारताको संस्मरण गर्दै प्रजातन्त्रका अथक योद्धा वीर शहीद सबैमा श्रद्धाभाव राख्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं।

प्रजातन्त्र आजको युगको सर्वस्वीकार्य राजनीतिक विश्व व्यवस्था हो। प्रजातन्त्रको प्रगति हुँदै जानु अपरिहार्य देखिन्छ, किनभने यो इतिहासमा पाइने सबैभन्दा समान, सबैभन्दा पूरानो र सबैभन्दा स्थायी प्रकृति पद्धति हो। प्रजातन्त्रमा आफ्नो देशको प्रकृति, प्रवृत्ति, संस्कृति र परिवेश अंकित हुनुपर्दछ। यसैगरि आफ्नो भू–बनोट, आफ्नो भू–भागभित्रका विविध समाज सबैलाईं संलग्न पार्नु पर्दछ। सबैलाई समाविष्ट गर्ने र सबैको विशेषता, योग्यता तथा योगदानलाई प्रजातन्त्रमा फल्न फुल्न दिनु पर्दछ। आ–आफ्नो राष्ट्रको मौलिक मान्यता तथा आ–आफ्नो सामाजिक संरचना मुताविक आ–आफ्नो शैली, पद्धति र परिपाटीअनुरुप राज्य पद्धति कायम रहनै पर्दछ।

प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन सक्दैन। आफ्नो श्रोत, साधन र सीप सबै यसमा समाहित हुनुपर्दछ। यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ। सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने–सबैलाई देश मै गतिलो शिक्षा र सबैको क्षमताअनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ।

प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा– कर्म कर्तव्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम् सही प्रकारको आचरणले मात्र हुने हो। जनता जनार्दनले जे भन्दछन् – त्यो सुनौं – त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार झल्काउनु पर्दछ।

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागीरहने प्रतिबद्धता हामी राख्दछौं। प्रजातन्त्र दिवसको यो शुभ सन्दर्भमा हामी सदैव नेपालीजनसँग निकट रही रहने र सम्पर्कका निम्ति हाम्रा सबै द्वारहरु खुल्ला रहने शुभेच्छाभाव पनि राख्दछौं।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्।
जय नेपाल , २०८० साल फागुन ७ गते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here