सुनकाे उच्च मूल्य रेकर्ड कायमै

31

काठमाडौं । वितेकाे ५ दिनदेखि सुनले दैनिक उच्च मूल्य रेकर्ड कायम गरेकाे  छ  ।

अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा १ हजार रुपैयाँले सुन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेकोमा आइतबार १ लाख २६ हजार रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।

गत मंगलबार तोलाको १ लाख २३ हजार रुपैयाँ मूल्य कायम भई अघिल्ला सबै रेकर्ड तोडिएको थियो । बुधबार १ लाख २३ हजार ५ सय, बिहीबार र शुक्रबार १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख २६ हजार कायम भएको हो । अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । सो आधारमा नेपालमा पनि मूल्य समायोजन हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिका वावजुत माग बढ्दै जाँदा मूल्यमा असर परेको हो । अन्तर्राष्ट्रिय व्यावसायिक विस्तारको क्रम साँघुरिँदा लगानी सुरक्षाका लागि सुन धेरैको छनोटमा परेको र यसले माग बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले जनाए । ‘विश्वका धेरै मुलुकको आर्थिक वृद्धिदर खुम्चिएको अवस्था छ, विभिन्न प्रक्षेपणले पनि तत्काल सुधार हुने आधार देखाएका छैनन्, त्यसले गर्दा व्यवसाय विस्तारभन्दा पनि लगानी सुरक्षाका लागि अहिले सुन धेरैको रोजाइ बनेको छ,’ उनले भने ।

आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ४७० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here