लोकतन्त्र दिवसका दिन राजाको भव्य स्वागत !

4

काठमाडौं / नेपालले मंगलबार १८औं लोकतन्त्र दिवस मनाइरहँदा कतारका राजा शेख तमिम बिन हमाद अल थानीले दुई दिने नेपाल भ्रमण गरेका छन् । कतारी राजालाई विमानस्थलमा नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य मन्त्री र शीर्ष नेताहरुले नै राजा अल थानीको भव्य स्वागत गरे ।

दुई देशबीचको मुख्य पहिचान हो, नेपालले युवा शक्ति बेच्छ भने कतारले खरिद गर्छ । भौगोलिक रुपले सानो मुलुक भए पनि पेट्रोलियम पदार्थको बिक्रीबाट कतार विश्वकै धनी र शक्तिशाली राष्ट्रको रुपमा उदाएको छ । फुटबलको गत विश्वकप आयोजना गरेको कतारले यो विकास भने आप्रवासी श्रमिकको मद्दतले नै गरेको हो । त्यसमा नेपाली श्रमिकको योगदान पनि उत्तिकै छ ।
लामो समयदेखि नेपालीले कतारलाई आफ्नो श्रम गन्तव्य बनाउँदै आएको छ । तर कतार युरोप, अमेरिका जस्तो श्रमका लागि आकर्षक गन्तव्य हुन सकेको छैन । पहिलो त यसको सेवासुविधा आकर्षक छैन, अर्कोतर्फ श्रमिकहरुलाई काममा लगाउँदा मानवअधिकार पनि पालना नगरेको जस्ता प्रतिवेदन बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।

त्यसकारण राजा अल थानीको नेपाल भ्रमणको क्रममा दुई देशबीच १९ वर्षअघि भएको श्रम सम्झौता पुनरावलोकन गर्न नेपालले चाहेको थियो । तर, कतारले भने आनाकानी गरेको छ । नेपालले कतारसँग पटक पटक श्रम सम्झौता पुनरवलोकन गर्न आग्रह गरे पनि कतारले आनाकानी गर्दै आएको हो । यसअघि संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एक बैठकमा नेपालले कतारसँग श्रम सम्झौताको प्रस्ताव राखेको थियो । कतारले त्यस बेला पनि सहमति जनाउँदै अमिर थानीको नेपाल भ्रमणका क्रममा हस्ताक्षर हुने जनाएको थियो ।
कतारसँगको सम्झौतामा अहिलेको समय अनुकूल हुने गरी पारिश्रमिक सेवा सुविधा, बीमा, सामाजिक सुरक्षा लगायत विषय समेटिने गरी व्यवस्था गर्न नेपालले प्रस्ताव गरेको छ । श्रमिक भर्ना प्रक्रियाको सबै शुल्क कतारका रोजगारदाताले बेहोर्ने उल्लेख छ । तर कतारले यसमा चासो नदिँदा पुनरवलोकन हुन नसकेको अधिकारीहरू जनाउँछन् ।

नेपाल र कतारबीच पहिलो पटक सन् २००५ मार्च २१ मा श्रम सम्झौता भएको थियो । यसलाई समयानुकूल तथा श्रमिकमैत्री बनाउन पुनरवलोकन गर्ने विषय बेलाबेला उठ्दै आएको छ । तर सम्झौताको १९ वर्षसम्म पनि पुनरवलोकन हुन सकेको छैन ।

सरकारले कतारमा श्रमिकहरू फ्री भिसा, फ्री टिकटमा पठाउने घोषणा पनि गरिसकेको छ । तर यो घोषणामा मात्रै सीमित छ। कार्यान्वयन हुन सकेको छैन । यहाँबाट श्रमिकहरू चर्को शुल्क तिरेर जान बाध्य छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार कतारका लागि गत आर्थिक वर्ष (२०७९–२०८०) मा एक लाख ३३ हजार युवाले श्रम स्वीकृति लिएका थिए । २०८० वैशाखदेखि चैतसम्म पनि कतारका लागि एक लाख ३३ हजार १०२ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यसविपरीत कतारले आफ्नो राजाको भ्रमणमा पनि नेपाललाई आश्वासन मात्र दिएको छ । कतारमा रहेका नेपाली श्रमिकहरूका हक अधिकारको रक्षा, सेवासुविधाको कुरा समग्रमा राष्ट्रपतिले राखेका थिए । राष्ट्रपति पौडेलसँगको भेटमा अल थानीले आफ्नो मुलुकका आकर्षक क्षेत्रहरूमा नेपाली कामदार लैजान योजना बनाएको आश्वासन दिए ।

त्यसबाहेक नेपाल र कतारबीच भावी सहकार्यका बारेमा पनि कुराकानी भएका थिए । कतारका अमिरले नेपालको जलस्रोत, कृषि, खाद्यान्न र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन सकिने सम्भावनाको ढोका खोलेको जनाएका छन् । लगानी बढाउनेबारे पनि संयुक्त समिति बनाउने कुरा भएको छ ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूताबास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो । नेपाल र कतार दुवै संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र र असंलग्न आन्दोलनका पक्षधर हुन् । शान्ति, सुरक्षा तथा विकासका क्षेत्रमा सहकार्यका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनहरुमा यी दुवै राष्ट्रहरु सदस्यका रूपमा छन् । अब कतारले नेपालबाट युवा श्रमिक लैजाने मात्र होइन, युवाको सीप विकासमा नेपालमा लगानी गर्नका लागि पनि नेपाली पक्षले जोड दिनुपर्छ । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here