धरान । धरानका मेयर हर्क साम्पाङले सार्वजनिक सुनुवाइ कार्यक्रममा आफूलाई प्रश्न सोधेको विषयलाई लिएर सञ्चारकर्मी सञ्चिता धमलालाई आफ्नो कार्यकक्षमा बोलाएर प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रश्न गरेको विषयमा मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मी धमलालाई कार्यालयमा हाजिर हुन आदेश दिएका थिए ।
धमलाले केही दिन अघि धरानमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा धरानमा पैसा लिएर जनप्रतिनिधिले नागरिकताको सिफारिस बन्ने गरेको आरोप लगाएकी थिइन् । सो विषयलाई लिएर साम्पाङले बारम्बार स्टाटस लेख्दै धमलालाई प्रमाणसहित कार्यालयमा आउने निर्देशन दिएका थिए । मेयरको आदेश पछि उनी धमला कार्यालयमा बिहान पुगेकी थिइन् ।
कार्यालयमा पुगेपछि मेयर साम्पाङ र धमलाबीच विवाद भएको थियो । विवाद पछि साम्पाङले प्रहरी बोलाएर धमलालाई पक्राउ गर्न निर्देशन दिएका थिए । प्रहरीले पक्राउ गर्ने क्रममा त्यहाँ रहेका पत्रकारहरूले प्रहरीलाई रोकेका थिए । सो क्रममा सञ्चारकर्मी धमलामाथि लछारपछार भएको थियो ।
नगर प्रमुख साम्पाङले बोलाएका प्रहरी टोली भने धमला सञ्चारकर्मी भएको थाहा पाएपछि भने पक्राउ नगरी गएको छ । धमला इटहरीबाट प्रकाशन भइरहेको पूर्वेली न्युज डटकममा कार्यरत छिन् यसैबीच सञ्चारकर्मी संजिता धमलालाई धरान उपमहानगर प्रमुख हर्कराज राईले आफ्नो कार्यकक्षमा बोलाएर गरेको दुर्व्यवहारप्रति चारवटै संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रेस चौतारी, प्रेस युनियन, समाजवादी प्रेस संगठन र प्रेस सेन्टरले नगर प्रमुख हर्कराज राई आफैंले सामाजिक सञ्जालमार्फत कार्यालयमा हाजिर हुन उर्दी जारी गर्ने र कार्यालयमा आएपछि गरेको व्यवहार नगर प्रमुखको हैसियतमा गर्ने व्यवहार नभएका ठहर गरेको । ती संगठनले नगर प्रमुख राईको निर्देशनकै आधारमा सत्य तथ्य नबुझी सञ्चारकर्मी संजिता धमलामाथि नेपाल प्रहरीले गरेको दुर्व्यवहारका कारण धमलाको चस्मा फुटेको र शरीरका विभिन्न भागमा चोट पटक समेत लागेको जनाएका छन् ।
पत्रकार जन्य ती संगठनले सञ्चारकर्मी संजिता धमलामाथि धरान उपमहानगरपालिकामा गरिएको आक्रमणको सत्य तथ्य छानबिन गरी दोषी उपर गर्न माग गरेका छन् ।


















