बैतडीका एक युवक महाकालीमा बेपत्ता

34

धनगढी  । दशैँ मनाउन भारतबाट घर फर्किँदै गरेका बैतडीका एक युवक महाकालीमा बेपत्ता भएका छन्। भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर युवक बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार बेपत्ता हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेका छन्। सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीका अनुसार घर फर्किरहेका धामी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजारनजिकै सडकबाट महाकाली नदीमा खसेको खुलेको छ।

झुलाघाटबाट बैतडी सदरमुकामतर्फ आउने जीप पार्किङ हुने क्षेत्रमा हिँडिरहेको अवस्थामा चिप्लिएर महाकाली खसेर बेपत्ता भएका धामीको खोजी कार्य भइरहेको उनले जानकारी दिए। धामी खसेको ठाउँमा सडकमाथिबाट पहिरोसमेत खसेका कारण जोखिम रहेको प्रहरीले जनाएको छ।

नदीमा बेपत्ता धामीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ। भारतमा रोजगारी गर्दै आएका धामी दशैँ मनाउन घर फर्किदै थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here