पाका नेताहरु गम्भीर बन्न जरुरी !

11

नेपालमा अहिले राजनीतिक अस्थिरता छ । जेनजी आन्दोलनका क्रममा देशमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ । यो आन्दोलनले युवा पुस्ताको असन्तुष्टि र परिवर्तनको मागलाई उजागर गरेको छ । यसले राजनीतिक दलहरूलाई पनि गम्भीर प्रश्न खडा गरेको छ । यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्तिविरुद्ध अदालतमा रिट दायर गर्ने प्रवृत्ति देखिएको छ । जुन राजनीतिक दल र यससँग सम्बन्धित पक्षको ठूलो गल्ती हो । देशमा चुनावको वातावरण निर्माण गर्नु र निर्वाचनमार्फत स्थिर सरकार गठन गर्नु आजको आवश्यकता हो । त्यतातर्फ राजनीतिक दलका शीर्ष नेताहरुले ध्यान पु¥याउनुपर्ने देखिन्छ ।

जेनजी आन्दोलनको पृष्ठभूमि हेर्दा यो युवाहरूको लामो समयदेखिको कुण्ठा र असन्तोषको विस्फोट हो । नेपालमा राजनीतिक अस्थिरता लामो समयदेखि जरा गाडेर बसेको छ । बारम्बारका सरकार परिवर्तन, गठबन्धनको खेल र भ्रष्टाचारले जनता आजित भएका थिए । सोही कारण जेनजी आन्दोलित भए । तर, आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाहरूले दर्जनौंको ज्यान गएको छ, सयौं घाइते भएका छन् र सार्वजनिक सम्पत्तिमा अर्बौंको क्षति भएको छ । यो क्षति केवल भौतिक होइन, सामाजिक र आर्थिक पनि हो । पर्यटन, व्यापार र दैनिक जीवन प्रभावित भएको छ ।

यस्तो अवस्थामा राजनीतिक दलहरूले आत्मचिन्तन गर्नु आवश्यक छ । उनीहरूले परिवर्तनलाई स्वीकार गर्दै युवा नेतृत्वलाई अगाडि सार्नुपर्छ । पाका नेताहरूले आफ्नो अनुभवलाई मार्गदर्शनका रूपमा प्रयोग गर्दै युवाहरूलाई जिम्मेवारी दिनु नै बुद्धिमानी हुन्छ । यसले दलहरूमा नयाँ ऊर्जा भर्नेछ र जनताको विश्वास फर्काउनेछ । प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादीलगायतमा नेतृत्व एकै पुस्तामा सीमित छ । ७० वर्षमाथिका नेताहरूले दशकौंदेखि सत्ता हाँकिरहेका छन् । उनीहरूको अनुभव मूल्यवान छ, तर नयाँ पुस्ताको दृष्टिकोण र ऊर्जाबिना दलहरू जीवन्त रहन सक्दैनन् । जेनजी आन्दोलनले यो कुरा प्रमाणित गरेको छ ।

अब प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्तिविरुद्धका कानुनी झमेलामा भन्दा सबै दल मिलेर चुनावको वातावरण बनाउनुपर्छ । निर्वाचन आयोगलाई मजबुत बनाउने, सुरक्षा व्यवस्था सुनिश्चित गर्ने र जनतालाई निर्भीक मतदानको अवसर दिनुपर्छ । चुनावले मात्र स्थिर सरकार दिन सक्छ । विगतमा पनि निर्वाचनपछि बनेका सरकारहरूले केही स्थिरता दिएका थिए । जेनजीको अपेक्षा पनि यही हो– एक स्थिर सरकार जसले विकासलाई प्राथमिकता दिन्छ। उनीहरूले चाहेको सरकारले रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्र, पर्यावरण संरक्षण र समावेशी विकासमा जोड दिन्छ । यदि चुनावबाट यस्तो सरकार बन्छ भने आन्दोलनको ऊर्जा सकारात्मक दिशामा मोडिन सक्छ । चुनावमार्फत स्थिर सरकार गठन गरेर देशलाई नयाँ दिशा दिन सकिन्छ । राजनीतिक दलहरूले यो जिम्मेवारी वहन गरेमा नेपालको भविष्य उज्ज्वल हुनेछ । जनधारणा साप्ताहिक

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here