एमालेकाे काठमाडौं क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेल उठ्ने

12

काठमाडौं । एमालेले ‘अध्यक्षले टुंग्याउने’ गरी खाली राखेका काठमाडौंका ४ मध्ये ३ क्षेत्र टुंग्याएको छ । त्यसमध्ये क्षेत्र नम्बर ५ बाट पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उठ्ने भएका छन् ।

एमाले स्रोतका अनुसार पोखरेलले महासचिव शंकर पोखरेललाई फोन गरेर उक्त क्षेत्रमा आफैँ उठ्ने जानकारी गराएका हुन् । त्यसअघि उक्त क्षेत्रमा पोखरेल नउठे उपमहासचिव योगेश भट्टराईले उम्मेदवारी दिने विषयमा छलफल गरेका थिए । तर, पोखरेलले आइतबारसम्म निश्चित जवाफ नदिएको बताइएको छ ।

उम्मेदवारी तोक्न बाँकी रहेको काठमाडौंको क्षेत्र नं. ७ बाट प्रकाश श्रेष्ठ र ९ बाट अजयक्रान्ति शाक्यलाई उम्मेदवार बनाउने टुंगो लागेको एमाले स्रोतले जनाएको छ । तर, क्षेत्र नं. ४ मा कसलाई उठाउने भन्नेबारे केही टुंगो लागेको छैन ।

उक्त क्षेत्रमा एमालेका तर्फबाट चुनाव उठ्दै आएका सचिव डा. राजन भट्टराई यसचोटि नउठ्ने मनस्थितिमा छन् । उनले उम्मेदवार हुने नचाहेपछि बूढानीलकण्ठ नगरपालिकाका निवर्तमान मेयर उद्धव खरेल, वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईसहितका आकांक्षी देखिएका छन् । तर, उनीहरूमध्ये कसलाई उम्मेदवार बनाउने भन्नेबारे अहिलेसम्म टुंगो लागेको छैन ।

काठमाडौंको क्षेत्र नं. ४ कांग्रेस सभापति गगन थापाले जित्दै आएको निर्वाचन क्षेत्र हो । थापा हेभिवेट उम्मेदवार भएको र एमालेको केन्द्रीय स्तरका नेता नै उम्मेदवारीबाट पन्छिँदा एमालेका अन्य स्थानीय नेता त्यहाँबाट उम्मेदवार बन्न हच्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here