काठमाडौं — फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा देशभर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। तर यससँगै आश्वासनको भ्रम छर्ने, जनतालाई प्रलोभनमा पार्ने र विदेशी स्वार्थअनुकूल चल्ने गतिविधिहरू पनि बढ्दै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
निर्वाचनको नाममा केही राजनीतिक दल तथा उम्मेदवारहरूले दिनदहाडै नयाँ–नयाँ तिकडम अपनाएर मतदातालाई भ्रमित पारिरहेको आरोप लागिरहेको छ। राष्ट्रियताको खोल ओढेर विदेशी स्वार्थको सेवा गर्ने, नेपाली झण्डाको आडमा देशविरोधी गतिविधि गर्ने समूहहरू सक्रिय देखिन थालेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्ला वर्षहरूमा नेपाल विदेशी शक्तिहरूको प्रयोगशाला बन्ने जोखिम बढ्दो छ। विदेशी भूमिमा प्रशिक्षण लिएर, नयाँ राजनीतिक मुकुण्डो लगाउँदै मुलुक प्रवेश गर्ने प्रवृत्ति चिन्ताजनक रहेको उनीहरूको भनाइ छ। इतिहासमै राष्ट्रनायकहरू दरबारभित्रै हत्या भएका घटनादेखि लिएर सत्य उजागर गर्ने पत्रकार, सुरक्षाकर्मी र राष्ट्रसेवकहरू मारिएका पीडादायी स्मृतिहरू अझै ताजा छन्।
निर्वाचन प्रचार–प्रसारका क्रममा विदेशी नम्बर प्लेटका सवारी साधनको खुला प्रयोग, छिमेकी मुलुकले नाकाबन्दी गर्दा वा सीमा अतिक्रमण गर्दा मौन बस्ने दलहरूको व्यवहारप्रति पनि जनस्तरबाट प्रश्न उठ्न थालेका छन्। व्यक्तिगत स्वार्थका लागि विदेशी हितमा सन्धि–सम्झौता गर्ने नेताहरूको पहिचान गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ।
यस्तै, ‘नयाँ आन्दोलन’ को नाममा हिंसा, अराजकता र राष्ट्रिय संरचनामाथि आक्रमणको योजना बनाउने समूहहरू विभिन्न पार्टीको आवरणमा चुनावी मैदानमा सक्रिय हुने आशंका पनि व्यक्त गरिएको छ। सिंहदरबार, संसद भवन, अदालत, प्रहरी चौकीदेखि उद्योग–व्यवसायसम्म ध्वस्त पार्ने विगतका प्रयासहरू नेपाली जनताले नबिर्सेको जानकारहरू बताउँछन्।
नागरिक समाज र सचेत मतदाताहरूले यस निर्वाचनलाई राष्ट्र जोगाउने अवसरका रूपमा लिनुपर्ने धारणा राखेका छन्। मासुभात, बियर–रक्सी वा पैसाको प्रलोभनमा नपरी, विवेक र चेतनाको प्रयोग गर्दै नेपाल र नेपालीको हित गर्ने इमानदार, राष्ट्रप्रेमी र स्वाभिमानी प्रतिनिधि छान्नुपर्ने उनीहरूको आह्वान छ।
“एक पटकको प्रलोभनले देशको भविष्य साटिनु हुँदैन,” उनीहरू भन्छन्, “हरेक नेपालीले विवेकशील निर्णय गरेर राष्ट्रको शिर उच्च पार्ने सपूतहरूलाई चिनेर जिताउनुपर्ने बेला आएको छ।”
फागुन २१ को निर्वाचन केवल सत्ता परिवर्तनको प्रक्रिया मात्र नभई नेपाल र नेपालीको भविष्यको दिशानिर्देश तय गर्ने निर्णायक घडी भएको जनमत बलियो बन्दै गएको छ।
नेपाल र नेपालीको सदा जय होस् — जय नेपाल आमा।
प्रशान्त डंगाेल


















