गोमा एयरद्वारा खानीडाँडामा नियमित उडान सुरु

259

खोटाङ, ३२ साउन । गोमा एयरले खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा नियमित उडान सुरु गरेको छ ।

नेपाल एयर, तारा र सिम्रिक एयरको जहाजले उडान भर्दै आएको विमानस्थलमा गोमा एयरले पनि नियमित उडान सुरु गरेको हो ।

जिल्लाका तीनवटा विमानस्थलमध्ये सदरमुकामबाट सबैभन्दा नजिक रहेको खानीडाँडा विमानस्थलमा हप्ताको तीन दिन मङ्गलबार, शुक्रबार र शनिबार खानीडाँडा–काठमाडौँ उडान भर्ने गोमा एयरलाइन्सका खानीडाँडा स्टेसन मेनेजर राम घिमिरेले बताए । घिमिरेका अनुसार केही हप्तापछि खानीडाँडाबाट विराटनगरका लागि पनि उडान भर्ने तयारी गरिएको छ ।

यसअघि शुक्रबारबाहेक हप्ताको छ दिन उडान हुँदै आएको खानीडाँडामा गोमाको उडानपछि सातै दिन उडान सुरु भएको छ । खानीडाँडामा नियमित उडान सुरु भएपछि जिल्ला अस्पतालले रेफर गरेका बिरामीलाई अन्यत्र लैजान लाखौँ खर्च गरेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता हटेको छ ।

सदरमुकाम दिक्तेलबाट बढीमा डेढ घन्टा पैदल दूरीमा रहेको विमानस्थलमा नियमित उडान सुरु भएपछि जिल्लावासी लाभान्वित बनेका छन् । सदरमुकामबाट नजिक भए पनि कालोपत्रे नहुँदा खानीडाँडामा हरेक वर्षको वर्षाभर उडान बन्द हुने गरेको थियो ।

जिल्लामा लामीडाँडा, थामखर्कसहित तीन वटा विमानस्थल छन् । दूरीका हिसाबले खानीडाँडा सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here