इन्धन अनियमितताबारे अख्तियारको चासो

131

काठमाडौं/ नेपालमा इन्धन वितरणको सर्वाधिकार पाएको निकाय आयल निगमको पछिल्लो वितरणकार्य शंकास्पद देखिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो व्यक्त गरेको छ ।
भारतबाट आयात भएको इन्धन बाटोबाटै हराउने, निगमका उच्च पदाधिकारीले अनियमितता गरेर निजी पेट्रोल पम्पहरूलाई वितरण गर्ने, कालोबजारी गर्नका लागि विभिन्न सञ्चारमाध्यमलाई अफर गर्ने जस्ता गुनासोहरू आएपछि अख्तियारको ध्यानाकर्षण भएको आयोगका प्रवक्ता कृष्णहरि पुष्करले जनाए । आयोगले निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र निर्देशक मुकुन्द घिमिरेलाई बोलाएर सोधपुछ गरेको छ । रूपन्देहीको भलवारी डिपोबाट काठमाडौंको स्वयम्भूस्थित हामा पेट्रोल पम्पका लागि डिजेल बोकेको एक ट्यांकर प्रहरीले नवलपरासीमा पक्राउ परेपछि निगमको अनियमितता भण्डाफोर भएको हो । उक्त डिपोबाट काठमाडौं इन्धन पठाउन नपाउने नियम छ ।
त्यस्तै पछिल्लो समय विराट पेट्रोलियमलाई निर्देशक खड्काले पैसाको प्रलोभनमा परेर इन्धन आपूर्ति गर्न स्वीकृति दिने एकलौटी निर्णय गरेका थिए । तर त्यो निर्णयको चौतर्फी विरोध र संसद्को लेखा समितिले पत्र माग गरेपछि खड्का पछि हटेका थिए । उनले रातारात विराटका सञ्चालकलाई आवेदन फिर्ता गराउन लगाएर आफ्नो बचाउ गरेका थिए ।
आयोगले इन्धनको न्यायोचित र समानुपातिक वितरणमा आवश्यक निर्देशन दिएको छ र मिलेमतो र अनियमितता फेला परे कारबाहीको भागिदार हुनुपर्ने भन्दै सचेत गराएको छ । आयोगले कालोबजारी नियन्त्रणका लागि सुरक्षा निकायहरूलाई आवश्यक कदम चाल्न पनि निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here