कर्णाली। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालयको बैठकले विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग गरेको छ ।
प्रदेश तथा जिल्ला इञ्चार्ज, केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्षसहित बुधबार बसेको प्रदेश सचिवालयको बैठकले पश्चिम नेपालमा सम्भावित विनाशकारी भूकम्पको उच्च जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण नागरिकका लागि विपद् जोखिम आवास बीमा तथा प्राकृतिक विपद् जोखिम सामूहिक दुर्घटना बीमा गर्न संघीय सरकारसँग माग गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपपहासचिव तथा कर्णाली प्रदेश इञ्चार्ज मातृकाप्रसाद यादवले जानकारी दिए ।
यही कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट प्रभावित जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा, विपद् व्यवस्थापन विशेष कार्ययोजना निर्माण, साधन स्रोत र जनशक्तिको उचित परिचालन गरी तत्काल पुनःस्थापना गर्न सचिवालय बैठकले तीनै तहका सरकारलाई अनुरोध गरेको छ ।
माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले मुलुकमा आइपर्ने विषम् परिस्थिति तथा महाविनासकारी अवस्थाको प्रतिकार्यका लागि पूर्वतयारी, रोकथाम तथा जनताको जीउधनको सुरक्षा गर्न सरकारले अभिभावकीय भूमिका खेल्नुपर्ने अवस्थाका विषयमा सङ्घलगायत तीनै तहका सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए ।
भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका लागि माओवादी केन्द्र कर्णाली प्रदेशले सरकारको राहत कोषमा रु पाँच लाख जम्मा गर्ने निर्णय गरेको छ ।
















