रेखाको एक्सन ‘हिरो रिटर्न्स’मा देखिने

311

नायक सविन श्रेष्ठको प्रस्तुति रहने चलचित्र ‘हिरो रिटर्न्स’को औपचारिक घोषणा गरिएको छ । चलचित्र बजारमा यो चलचित्र बन्ने समाचार सार्वजनिक भएको लामो समय भए पनि, औपचारिक घोषणा भने भएको थिएन । काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै नायक सविनले चलचित्र बन्न लागेको घोषणा गरे । चलचित्रमा नायिका रेखा थापा, नायक सरोज खनाल, नायक दिल श्रेष्ठ र सविन श्रेष्ठ मुख्य भूमिकामा छन् । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, चलचित्र निर्देशक उज्ज्वल घिमिरे, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले सविन र टिमलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै नायिका रेखा थापाले सविनको मन छुने प्रस्तावलाई आफूले नकार्न नसकेको भनिन् । उनले यो चलचित्रमा आफू एक्सन अवतारमा नै प्रस्तुत हुने जनाइन् । रेखा फिल्मस्कै ब्यानरमा बनेको चलचित्र ‘अन्दाज’बाट सविनले चलचित्र नगरीमा डेब्यू गरेका थिए । चलचित्रका निर्माता चन्द्र गौतमले ‘दमदार’पछि दोस्रो चलचित्र निर्माणमा उत्रिएको जनाए । चलचित्रमा सहदेव गौतम र भिम न्यौपानेको पनि लगानी रहनेछ । चलचित्रको निर्देशन आशिष भेटवालले गर्दैछन् । चलचित्रका कलाकार सरोज खनालले यसमा आफू खलपात्रको भूमिकामा देखिन लागेको खुलासा गरेका छन् ।
नायक दिल श्रेष्ठ चलचित्र ‘पर्खिराख है’पछि यो चलचित्रमा काम गर्न लागेका हुन् । चलचित्रको छायांकन काठमाडौं, वीरगञ्ज र हेटौडामा हुनेछ । कमेडी एक्सनमा बन्ने चलचित्रमा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मित्र गुरुङको सम्पादन रहनेछ । नवराज शर्मा चलचित्रका सहनिर्देशक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here