काठमाडौं/ नेपाल–भारत सीमा अपराध नियन्त्रणका लागि गृहसचिव स्तरीय बैठक तीन वर्षपछि बसेको छ । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि पहल गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा अपराध नियन्त्रणका लागि दुई देशका सुरक्षाकर्मीबीच सूचना आदानप्रदान गर्ने सहमति भएको छ । सन् २०१३मा नेपालमा दुई मुलुकका अधिकारीहरूबीच बैठक भए पनि तीन वर्षयता उक्त बैठक बस्न सकेको थिएन । बैठकमा नेपालका तर्फबाट आतंकवाद नियन्त्रण, सीमा क्षेत्रमा नेपालीमाथिको दुव्र्यवहार तथा नक्कली नोटलगायतका विषयहरू उठान भए पनि त्यसलाई भारतीय पक्षले भने गम्भीरताका साथ नलिएको जनाइएको छ । बैठकमा नेपालले सीमाक्षेत्रका भारतीय बााधका कारण हुने डुबान र क्षतिपूर्ति लगायतका विषयलाई पनि उठान गरे पनि यस विषयमा भारतीय पक्षले कुनै प्रतिक्रिया नदिएको जनाइएको छ ।
दुई पक्षीय बैठकमा नेपालका तर्फबाट गृहसचिव लोकदर्शन रेग्मीले नेतृत्वमा विभिन्न सरकारी अधिकारीहरूले सहभागिता जनाएका थिए भने भारतका तर्फबाट गृहसचिव राजीव महर्षीको नेतृत्वमा विभिन्न अधिकारीहरूले सहभागिता जनाएका थिए ।


















