बेलायतमा बस्ने हरनाम कौरले अचम्मको रेकर्ड बनाएकी छिन् । उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा ‘दाह्री भएकी सबैभन्दा कान्छी महिला’ को उपाधि पाएकी हुन् । गिनिजले दाह्री र जुङ्गा भएकी हरनामको तस्बिरसमेत सार्वजनिक गरेको छ । ‘पलिसिसटिक ओभरी सिन्ड्रोम’ बाट पीडित हरनामको अनुहारमा सामान्यभन्दा बढी रौं पलाएका छन् । उनले २४ वर्ष २८२ दिनमा यो उपाधि हासिल गरेकी हुन् । सन् १९९० नोभेम्बर २९ तारिखका दिन जन्मिएकी उनले आफू ११ वर्षको हुादा अनुहारमा अनावश्यक रूपमा रौं पलाएको थाहा पाएकी थिइन् ।
उनको दाह्री ६ इन्चसम्म लामो छ । थुप्रै पटक दाह्रीकै कारण प्रताडना सहन परे तापनि उनी यसको डटेर सामना गरिन् र सिख धर्मको मान्यताअनुसार यसलाई नकाट्ने निर्णय गरिन् । हरनामले यही वर्ष एक अन्तर्राष्ट्रिय फेसन सोमा पनि र्याम्पवक गरेकी थिइन् । प्रतिष्ठित गिनिज बुक अफ वल्र्ड रेकर्डले गत बिहीबार आफ्नो ६२औं संस्करण जारी गर्दै सो कुराको जानकारी दिएको छ ।
















