रैतीको स्थानबाट हामी माथि उठ्न सकेनौ

222

–निमकान्त पाण्डे–

२ सय ४० वर्षसम्म राजाका रैती (प्रजा)का रुपमा रहेका नेपाली जनताले गणतन्त्र पाएको दश वर्ष पूरा हुादै छ । अब हामी रैतीबाट नागरिक बनेका छौा भनेर नेताहरुले पटक–पटक भाषण गर्दै आएका छन् । परन्तु नेपाली जनता अझै पनि रैतीकै रुपमा रहन बाध्य हुनुपरेको छ । उत्तरतिर विशाल छिमेकी मुलुक चीन र दक्षिणतिर विशाल छिमेकी भारतका बीचमा रहेको हाम्रो देश नेपाल राजाको रैतीबाट छिमेकीहरुको रैतीमा रुपान्तरित भएको मात्र रहेछ भन्ने खालका दृष्टान्तहरु देखिन थालेका छन् । पछिल्लोपटक नेपाल सरकारले दुवै छिमेकी देशका राष्ट्रपतिहरुलाई नेपालमा भ्रमण गर्न गरिरहेको अनुनयविनयले नेपालको हैसियतलाई प्रष्ट पारेको छ । दुवै छिमेकी देशका राष्ट्रपतिलाई नेपाल भ्रमणका निम्ति लम्पसारै परेर अनुरोध गर्दा पनि नेपाल आउन उनीहरु तयार भएनन् । यो स्थितिले सम्पन्नशाली हाम्रा छिमेकी देशका शासकहरुको बढप्पन (जमिन्दारीशैली)लाई नाङ्गो बनाइदिएको छ । हाम्रा देशका शासकहरु चीन र भारत तिरबाट निम्तो नआउादै भ्रमण गर्न खुट्टो उचालिरहेका हुन्छन् तर हाम्रा छिमेकी देशका शासकहरु हाम्रो निम्तोलाई समेत अस्वीकार गर्न लज्जाबोध गर्दैनन् । यो अवस्था भनेको जमिन्दार र रैतीकै अवस्था हो ।

बृटिश साम्राज्यवादविरुद्ध लडेर स्वतन्त्र भएको हाम्रो दक्षिणतिरको छिमेकी देश भारत र विश्व साम्राज्यवादविरुद्ध सैद्धान्तिक वैचारिक आधार बनाएर विश्वकै मुक्तिकामी जनताको लोकप्रिय आाधारभूमिका रूपमा चर्चित रहेको उत्तरतिरको अर्को छिमेकी देश चीनको बीचमा रहेको सानो मुलुक नेपाल दुई छिमेकी देश चीन र भारतकै कारणबाट समस्याग्रस्त अवस्थाबीच गुज्रिइरहेको छ । यी दुई छिमेकी देशहरूले नेपाल र नेपाली जनताको हित चाहने हो भने नेपालको उन्नति असम्भव छैन । तर दुर्भाग्य नै भन्नुपर्छ यी दुई देश मिलेर नेपाल र नेपाली जनतामाथि जमिन्दारी शैली प्रदर्शन गरिरहेका छन् र नेपालीलाई रैती ठानिरहेका छन् ।

दक्षिणतिरको छिमेकीले नेपालविरुद्ध नाकाबन्दी गरेर दैनिक उपभोग्य सामग्रीलगायत पेट्रोलियम पदार्थको अभाव सृजना गरिदिएपछि विकल्पका रुपमा उत्तरतिरको छिमेकी चीनसाग सहयोगको याचना गर्नुको विकल्प नेपालसाग थिएन । भूपरिवेष्ठित नेपालको अवस्थाले चीन र भारतबाहेक अन्य विकल्प बााच्नका लागि छैन । यी दुवै छिमेकीको सम्पन्नता नेपालका निम्ति खुशीको विषय हुनुपर्नेमा ठीकविपरीत भएको छ । हालसम्म भारतले नेपालको भूमि अतिक्रमण गर्ने र नेपालको राजनीतिमा हस्तक्षेकारी गतिविधि गर्ने काममा अग्रस्थान नै ओगटेको छ । भारतका हरेक गतिविधिलाई चीनले राम्रैसाग निगरानी गरिरहेको छ भन्ने विश्वास आम नेपाली जनमानसमा थियो पनि । पछिल्लो समयमा आएर नेपालको परिवर्तित राजनीतिक परिवेशपछि सरकारको नेतृत्व गर्ने प्रत्येक नेताले छिमेकी देशहरुको जमिन्दारी शैलीलाई खुशी तुल्याएर रैतीको भूमिका निर्वाह गर्ने बाहेक अरु हुनसकेको छैन । गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी देश भारतकै कारणबाट राजीनामा गर्नुपर्ने बाध्यता सृजना भएको थियो । तत्कालीन नेपाली सेनाको नेतृत्वलाई समेत आफ्नो इसारामा नचाउनसक्ने क्षमता भारतले प्रदर्शन गर्‍यो । प्रचण्डले राजीनामा गरेपछि भारत आफूअनुकूलका व्यक्तिलाई नेपालको प्रधानमन्त्री बनाउनमै तल्लीन रहादै आयो । आफ्नो स्वार्थमा थोरैमात्र अवरोध देखिादासाथ सरकारको विकल्प खोज्ने काममा भारतले कहिल्यै लज्जाबोध गरेको पाइएन । यस्तै घटनाक्रमका बीच पछिल्लोपटक सरकारको नेतृत्व गर्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै छिमेकी देशहरुसाग सन्तुलित व्यवहार प्रदर्शन गर्ने चाहना व्यक्त गर्ने क्रममा दुवै देशमा आफ्ना विशेष दूतहरु पठाउनुभयो । यो प्रवृत्ति पनि छिमेकी देशहरुलाई मालिक मान्ने प्रवृत्तिका रुपमा देशभित्र आलोचित भयो । तैपनि दुवै छिमेकी देशका शासकहरुले नेपालको छिमेकीसागको सम्बन्ध सुमधुर बनाउने चाहनालाई स्वीकार गरेनन् । दुवै देशका राष्ट्रपतिले नेपालको निम्तो अस्वीकार गर्नुले यही कुरालाई पुष्टि गर्दछ ।

हुन त चीन र भारत दुवै छिमेकी देशले नेपालको स्वाधीनतामाथि नै संयुक्त रुपमा धावा बोल्न समेत पछि परेका छैनन् । लिपुलेक प्रकरण सबैभन्दा पछिल्लो उदारण हो । नेपाल र नेपाली जनताका लागि लिपुलेक प्रकरण ठूलो दुर्घटना हो । तथापि नेपालका राजनीतिक दलका नेताहरु र नेपाल सरकारले यो विषयमा मुख खोलेका छैनन् । यो अवस्थाले पनि नेपाल रैतीको अवस्थाभन्दा माथि उठ्न नसकेको स्पष्ट गर्दछ । लिपुलेक जस्ता नेपाली भूमिमाथि भारतबाट हुादै आएको अतिक्रमणको लेखाजोखा गरी साध्यै छैन । परन्तु नेपाली भूमि अतिक्रमण गर्ने काममा चीन यस अघि विवादमा आएको थिएन । लिपुलेक प्रकरणबाट चीनको छवि पनि नेपालको जमिन्दारमा रुपान्तरित हुन पुगेको छ । भारत स्वतन्त्र भएदेखि नै उसले आफ्ना छिमेकी देशहरूसितको सम्बन्धलाई राम्रो बनाउनेतिर कहिल्यै ध्यान दिएको पाइएन । सबै छिमेकी देशहरू भारतबाट पीडित छन् । स्वयम् चीनसाग पनि भारतको सम्बन्ध राम्रो छैन भन्ने कुरा संसारलाई जानकारी छ । चीनले आफ्नो देशको व्यापारलाई भारतसाग सहज बनाउनका लागि नेपाली भूमि प्रयोग गर्नुपर्ने आवश्यकता महसुस गरेपछि नेपालपक्षसाग सम्पर्क गर्नुपर्दथ्यो । लिपुलेक प्रकरणमा भारतकै जमिन्दारी शैलीमा चीन किन प्रस्तुत भयो ? यो नेपालका निम्ति गम्भीर विषय हुादाहुादै पनि आफूलाई राष्ट्रवादी प्रधानमन्त्रीका रुपमा स्थापित गराउन चाहने केपी ओलीले समेत उठाउने आवश्यकता महसुस गरेनन् । नयाा प्रधानमन्त्रीका रुपमा प्रचण्डले भारतमा आफ्ना समकक्षीसाग यो विषय उठाउने आशा गर्नु कति मनासिव ठहर्ला ? नेपाली जनतामाथि भूकम्पको बज्रपात परेका बेला सहयोगी भावनाका साथ सबैभन्दा अग्रस्थानमा प्रस्तुत भएका चीन र भारतद्वारा लिपुलेकमाथि भएको हस्तक्षेप नेपाली भूमि अतिक्रमणको निन्दनीय पक्ष हो । यी दुवै छिमेकीले भूकम्पपीडितका नाममा नेपाललाई गरेको सहयोगको पनि अवमूल्यन गरेको छ लिपुलेक प्रकणले ।

हामीलाई बुझ्न सजिलो हुने गरी यहाा एउटा दृष्टान्त प्रस्तुत गर्नु सान्दर्भिक लागेको छ । नेपालको सामाजिक संरचनामा ग्रामीण वस्तीतिर जमिनदार र जोताहा किसानबीच द्वन्द्व भइरहेको हुन्छ । किसानहरूको संख्या धेरै भए पनि जमिन्दारसाग धेरै जमिन भएका कारण किसानहरू जमिन्दारका विरुद्धमा मुख खोल्न हिम्मत गर्दैनन् । जमिन्दारले किसानहरूलाई दमनमा राखेर दासतापूर्ण व्यवहार गरिरहेको हुन्छ । ठीक त्यस्तै गतिविधि भारतबाट निरन्तर रूपमा हुादै आएको थियो । चीन पनि यस्तै जमिन्दारी शैलीमा प्रस्तुत भएपछि माओत्सेतुङले परिकल्पना गरेको सामाजिक संरचना निर्माण गर्ने बाटोबाट चीनको वर्तमान नेतृत्व विचलित भएको पुष्टि हुन्छ । यो घटनाले चीन अब पूर्णरूपले साम्राज्यवादी बाटोतिर अग्रसर भएको पुष्टि हुन्छ । नेपालको लिपुलेक नाकालाई प्रयोग गर्ने क्रममा चीनले गरेको गल्तीले नेपालको एउटा सानो जमिनको टुक्रा मात्र गुमेको छ । तर यो गल्तीले गर्दा चीनको परिचय कायापलट गराएको छ । विश्व राजनीतिक मञ्चमा साम्राज्यवादी मुलुकको रूपमा चीनले कुख्याति कमाउनेछ । यस्तो गलत बाटोबाट चीनले आफूलाई सच्याउन सकेन भने उत्पीडित मुलुकहरूको मित्रशक्तिको स्थान पनि चीनले नराम्रोसाग गुमाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here