प्रचण्डलाई विवादमा तान्ने देउवाको खेल

148

काठमाडौं÷ सत्ताको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले भारतसँग बिग्रिएको सम्बन्ध सुधारका लागि महत्वपूर्ण पहल गरे पनि सत्तासाझेदार नेपाली कांग्रेसको भूमिकाका कारण भारत र नेपालको सम्बन्ध सुमधुर हुनुभन्दा पनि नेपालको नीति भारतपरस्त जस्तो देखिन थालेको छ । सत्तासाझेदार नेपाली कांग्रेसको भारतप्रतिको झुकावका कारण नेपाली कांग्रेसले सरकारलाई भारतको अनुकूल हुने गरी काम गर्न दबाब दिँदा सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रसमेत भारतको निकट दलजस्तो बन्न पुगेको छ । नेपाली कांग्रेसको नेतृत्वको भारतपरस्त नीति र चीनप्रतिको गलत धारणाका कारण पछिल्लो समय उत्तरी छिमेकी मुलुक चीन वर्तमान सत्ता साझेदार दलसँग असन्तुष्ट हुन पुगेको छ ।
भारतीय राष्ट्रपतिको सम्मानमा आवश्यकताभन्दा बढी सद्भाव देखाएको तथा चिनियाँ राष्ट्रपतिको भ्रमणभन्दा पहिले नै विदा दिने निर्णयका कारण चर्काे आलोचनाको शिकार हुन पुगेको सरकारमाथि कांग्रेस सभापति शेरबहादुर देउवाका कारण थप संकट आइपरेको छ । सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति देउवाले नेपालले अख्तियार गरेको एक चीन नीतिको विपरीत भारतको गोवामा इन्डिया फाउन्डेसनले आयोजना गरेको सेमिनारमा तिब्बतका निर्वासित सरकार प्रमुखसँग वक्ता बनेर उपस्थित भएपछि चीनले नेपाल सरकारसँग असन्तुष्टि जनाउँदै आपत्ति जनाएको छ । चीनको चर्काे आलोचना हुने इन्डिया फाउन्डेसनको कार्यक्रममा फ्रि तिब्बत पक्षधरसँग भेटेको विषयमा कांग्रेसका महामन्त्री शशांक कोइरालाले समेत असन्तुष्टि व्यक्त गर्दै सभापतिले गल्ती गरेको जनाएका छन् । त्यसो त हालै नेपाल भ्रमणमा आएका दुई चिनियाँ प्रतिनिधि मण्डललाई पनि सरकारले अपमानजनक व्यवहार गरेको जनाइएको छ । चिनियाँ प्रतिनिधिमण्डलले गृह मन्त्रालयका अधिकारीहरूलाई भेट्न खोजे पनि भेट नदिइएको गुनासो गरेका छन् । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले सम्हालेको गृह मन्त्रालयमा चिनियाँ प्रतिनिधि मण्डललाई भेट नदिनुले पनि नेपाली कांग्रेसको भूमिका शंकास्पद देखिएको छ । हालै मात्र नेपाल आर्ट काउन्सिलमा आयोजिक एक कार्यक्रममा समेत एक चीन नीतिको विपरीत ताइवानको झण्डा राखिएकोमा पनि चीनले असन्तुष्टि जनाएको छ । यस्ता विषयमा पराराष्ट्रले विशेष चासो दिनुपर्ने हुन्छ । तर हालको सरकारमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि नेपाली कांग्रेसकै नेता प्रकाशशरण महतले सम्हालिरहेका बेला एक चीन नीतिविपरीत ताइवानलाई छुट्टै मुलुक मानेर अलग्गै झण्डा प्रयोगमा ल्याइएको थियो ।
पछिल्ला केही दिनयता नेपाली कांग्रेसको नेतृत्व तथा कांग्रेसका नेताहरूले सम्हालेका मन्त्रालयअन्तर्गत चीनलाई चिढ्याउने काम भए पनि त्यसको दोष भने सरकार प्रमुखको हिसाबले प्रधानमन्त्री प्रचण्डको टाउकोमा आउने गरेको छ । सिलसिलाबद्ध रूपमा सरकारविरुद्ध अनावश्यक टीकाटिप्पणी आउने वातावरण तयार हुनुका पछाडि सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति देउवाकोे भूमिका रहेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।
यसैबीच सरकारले भारतसँगको सम्बन्ध सुमधुर बनाउने भनिरहेका बेला भारतले भने नेपालसँगको सम्बन्ध बिगार्नेतर्फ भूमिका निर्वाह गर्दै आइरहेको छ । दुई मुलुकबीचको सम्बन्ध सामान्य अवस्थामा रहेका बेला गत वर्ष करिब पाँच महिनासम्म नाकाबन्दी लगाएर आफैं सम्बन्ध बिगारेको भारतले पाकिस्तानसँगको विवाद बढेपछि पाकिस्तानको सीमा क्षेत्रमा नेपाली गोर्खा सेनाहरूलाई खटाउन थालेको छ । हालैमात्र पाकिस्तानको सीमा क्षेत्रमा पाकिस्तानी सेनाको गोली प्रहारबाट धरानका बिमल तामाङको निधन भएको छ । दुई देशको सीमा क्षेत्रमा तेस्रो देशका नागरिकलाई खटाउन नहुने भए पनि भारतले त्यही गरेको छ । त्यत्ति मात्र होइन पाकिस्तानको सीमा क्षेत्रमा मारिएका नेपाली गोर्खा सैनिक तामाङको शवसमेत भारतले नेपालस्थित उनको परिवारलाई हस्तान्तरण नगरेर नेपाली गोर्खाको अपमान गरेको छ । यसले सम्बन्ध सुधारभन्दा पनि सम्बन्धमा थप चिसो ल्याउने काम गरेको छ । भारतीय सेनामा कार्यरत गोर्खाहरूमाथि हुने विभेद, उनीहरूको मृत शरीर हस्तान्तरण नगर्ने भारतीय प्रवृत्ति र नेपाल सरकारको प्रतिक्रियालगायतका विषयमा यस प्रकाशनको सहप्रकाशक ‘स्वाभिमान नेपाल मासिक’मा विस्तृत जानकारीसहितको रिपोर्ट आगामी मंसिर अंकमा प्रकाशित हुँदै छ । प्रतीक्षा गर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here