काठमाडौं÷ रिजर्भ बैंक अफ इण्डियाले गत वर्षदेखि भुटान र नेपालमा एक हजार तथा पाँच सय रूपैयाँका भारतीय नोट सीमित मात्रामा प्रयोग गर्न पाउने सुविधा दिएको थियो । त्यसभन्दा पहिले दुवै देशमा बन्द रहेका भारतीय एक हजार र पाँच सयका नोटहरू बैंकको निर्णयपश्चात् प्रयोगमा आउन थालेका थिए । एक व्यक्तिले २५ हजार रूपैयाँ भारुसम्म प्रयोग गर्ने गरी प्रचलनमा आएका भारतीय नोटमा पूर्व जानकारीविना नै भारत सरकारले रोक लगाएपछि नेपाल तथा भुटानमा ठूलो परिमाणमा भारतीय नोटको सञ्चिती रहेको अनुमान गरिएको छ ।
नेपाल राष्ट्रबैैंकको तथ्यांकअनुसार सरकारको मातहतमा झण्डै साढे तीन करोड भारतीय पाँच सय तथा हजारका नोटहरू रहेका छन् । त्यसबाहेक भारतसँगको खुल्ला सीमाका कारण नेपाल भारत सीमा क्षेत्रका बासिन्दाहरूसँगपनि पर्याप्त मात्रामा प्रतिबन्धित भारतीय नोटहरू रहेको अनुमान गरिएको छ । त्यस्तै उपचारका लागि भारत जाने नेपालीहरू तथा भारतमा कार्यरत नेपालीका परिवारसँग पनि ठूलो परिमाणमा भारतीय मुद्रा रहेको छ । नेपाल र भारतका बीचमा ठूलो परिमाणमा व्यापार हुने भएकाले नेपाली व्यवसायीहरूसँग पनि भारतीय रूपैयाँ रहेको जनाइन्छ । त्यस्तै, भारतमा एक हजार र पाँच सयका भारतीय नोटमाथि प्रतिबन्ध लगाएपछि उपचारका लागि भारत लैजाँदै गरेका बिरामी, नेपाली विद्यार्थी तथा नेपाली व्यापारीहरू नराम्रोसँग प्रभावित भइरहेका छन् । भारतीय मिडियाले नेपालमा रहेका भारतीय रूपैयाँ भारत सरकारले नसाट्ने आशयका समाचारहरू सार्वजनिक भएपछि त झन् नेपालमा सञ्चित रहेको भनिएको अर्बाैँ भारतीय रूपैयाँको भविष्यलाई लिएर नेपालीहरूमा त्रास बढिरहेको छ । कुल कारोबारको झण्डै २० प्रतिशत भारतीय मुद्रा प्रयोगमा आउने नेपालमा भारतको निर्णयपश्चात् ठूलो समस्या सिर्जना हुने अनुमान गरिएको छ ।
भारतमा पुराना पाँच सय तथा हजारको नोटमा प्रतिबन्ध लाग्दा नेपाललगायत भारतका छिमेकी मुलुकहरू भुटान, बंगलादेश र म्यानमारमा समेत यसको प्रभाव पर्ने देखिन्छ । नेपालबाहेक ठूलो परिमाणमा भारतीय रूपैयाँको प्रयोग हुने भुटानमा सीमा व्यापारबाहेक जलविद्युत् उत्पादनमा पनि भारतीय लगानी रहेकाले त्यहाँ पनि निकै ठूलो परिमाणमा भारतीय रूपैयाँ सञ्चित रहेको जनाइन्छ । तर भारतीय प्रधानमन्त्री मोदीको निर्णयलगत्तै यस विषयमा भुटानको केन्द्रीय बैंकका गभर्नरले रिजर्भ बैंक अफ इण्डियाका गभर्नरसँग लामो कुराकानी गरेकाले भुटानले समस्या व्यहोर्नुनपर्ने त्यहाँका अर्थसचिव निम दोर्जेले जनाएका छन् । भुटानको रोयल मनिटरिङ अथोरटीले ५० हजारसम्म भारतीय रूपैयाँ सहजै साट्न सकिने जनाएको छ । नेपालमा रहेका भारतीय पाँच सय र हजार रूपैयाँका नोटका विषयमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भारतका समकक्षी मोदीसँग यस विषयमा कुराकानी गरेका थिए । तर भारतले यस विषयमा स्पष्ट जवाफ दिएको छैन ।
भारतमा ठूला नोटको प्रतिबन्धका कारण नेपालले निकै कष्ट व्यहोरिरहेका बेला भारतको सुरक्षा छाताभित्र रहेको भुटानले खासै समस्या व्यहोर्न नपर्ने जनाइनुले यसले भारतले नीतिगत रूपमै नेपाललाई दुःख दिने मनसायले पनि यस्तो निर्णय गरेको कतिपय अर्थविद्हरूको तर्क छ । भारतकै अनुमतिअनुसार गत वर्षदेखि नै नेपाल र भूटानमा पनि चलनचल्तीमा आएका भारतीय ठूला नोटहरू भूटानबाट ल्याउन तत्पर हुने तर नेपालबाट भने फिर्ता गर्न आनाकानी गर्नुले अर्थविद्हरूको तर्कलाई बल पु¥याउँछ ।
नेपाललाई विभिन्न बहानामा दुःख दिँदै आएको भारतले गत वर्ष नाकाबन्दी तथा सीमा क्षेत्रमा अवरोध गरी नेपालको अर्थतन्त्रमा ठूलो नोक्सानी पु¥याएको थियो । भूकम्पले थिलथिलो बनेको नेपाली अर्थतन्त्र भारतीय नाकाबन्दीबाट वर्षाैसम्म उठ्न नसक्ने गरी थला परेको अवस्थामा खुला सिमाना रहेको छिमेकी भारत सरकारको यो मुद्रा नीतिले नेपाललाई नै निशाना बनाएको देखिन्छ । नाकाबन्दीको एक वर्ष पनि नपुग्दै अहिले पुनः ठूला नोट बन्द गर्ने भारतको निर्णयले नेपाल–भारत व्यापार सम्बन्ध र नेपाल भारत खुला सिमानाका विषयमा नेपालले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था सृजना भएको छ । आफ्नो सुरक्षा छातामा रहेको भुटानलाई नोट प्रतिबन्धको प्रभाव पर्न नदिनु तर नेपालमा रहेको आफ्नो मुद्रा फिर्ता गर्न सहमति नजनाउनुले भारतले जाने बुझेरै नेपाललाई दुःख दिन खोजेको हो भन्ने प्रष्ट हुन्छ ।


















