राज्यलक्ष्मी शाक्य
केही वर्ष पहिलेसम्म राज्यका महत्वपूर्ण अंगमा महिलाहरूको सहभागिता हुनुपर्ने भन्दै आवाज उठाउने तथा आन्दोलन गर्ने नेपाली महिलाहरूका लागि छोटो अवधिमै निकै ठूलो उपलब्धि हात लागेको छ । राज्यका महत्वपूर्ण अंगहरूमध्ये राष्ट्रप्रमुख, सभामुख, न्यायालय प्रमुख हुँदै अख्तियारमा समेत महिला नेतृत्वको बहस सुरु भएको छ । यो नेपाली महिलाहरूका लागि छोटो समयमा प्राप्त भएको निकै ठूलो उपलब्धि हो । भलै यो उपलब्धिलाई जोगाउन नेपाली महिलाहरू कति सक्षम होलान् यो भविष्यको कुरा भयो । विश्वका कतिपय विकसित भनिएका मुलुकहरूमा समेत महिलाहरूको समावेशी सहभागिताले प्राथमिकता पाउन नसकिरहेको बेलामा महिला अधिकारका लागि आवाज उठाउने मुलुकहरूका लागि नेपाल एउटा उदाहरणीय मुलुक नै बनेको छ । यो मानेमा नेपाल महिलाहरूका लागि उर्वर, सम्भावना बोकेको साथै महिलाहरूलाई सम्मान गर्ने मुलुकका रूपमा विश्वमाझ दरिन सफल भएको छ । यो आधा आकाश ओगट्ने महिलाहरूका लागि मात्र नभएर नेपाल मुलुक र सम्पूर्ण नेपालीहरूका लागि पनि गर्वको कुरा हो ।
नेपाल महिलामैत्री मुलुक हो भन्ने प्रमाण नेपालका महिलाहरू महत्वपूर्ण ओहोदामा पुग्नु मात्र नभएर विदेशीहरूका नजरमा पनि महिलामैत्री मुलुक हो भन्ने पुष्टि हुँदै गइरहेको छ । विश्वको सर्वशक्तिमान् तथा लोकतान्त्रिक मुलुकका रूपमा आफ्नो पहिचान बनाएको अमेरिकाले नेपालमा आफ्नो कूटनीतिक निकायको नेतृत्व सम्हाल्नका लागि राजदूतका रूपमा अलाइना बी टेपलेट्जलाई पठाइसकेको छ । विश्वशक्ति राष्ट्रका रूपमा उदाउँदै गरेको छिमेकी मुलुक चीनले समेत नेपालमा कूटनीतिक नेतृत्व सम्हाल्न महिला राजदूत यू होङलाई हालै मात्र नेपाल पठाएको छ । दुई शक्तिशाली मुलुकले कूटनीतिक निकायमा महिलाहरूलाई पठाउनुले नेपाल महिलामैत्री र महिलाहरूका लागि उर्वर मुलुक हो भन्ने कुरालाई अझ प्रष्ट रूपले पुष्टि गरेको छ ।
नेपालमा महिला अधिकारका क्षेत्रमा छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि यो नै पर्याप्त हो भन्नेचाहिँ होइन । लामो समयदेखि घरको चुलो र चौकामा सीमित नेपाली महिलाहरूले केही अवसर पाए अथवा विदेशीहरूका नजरमा पनि नेपाल महिलाहरूका लागि मैत्रीपूर्ण मुुलुक हो भन्ने लाग्यो भन्दैमा महिला अधिकारका क्षेत्रमा गर्नुपर्ने काम पूरा भयो भन्ने अवस्था छैन । अहिले पनि ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा समेत महिलाहरूमाथि हुने विभेद र शोषणका घटनाहरू प्रसस्तमात्रामा सार्वजनिक हुने गरेका छन् । महिलाहरूको प्रतिनिधित्व गर्नेहरूले सुप्रिम ओहोदा प्राप्त गरे भन्दैमा सबै नेपाली महिलाहरू अधिकार सम्पन्न भए भन्ने अवस्था अहिले पनि छैन र भन्न पनि मिल्दैन । तर समानुपातिक र समावेशी सहभागिताका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएकाले त्यसलाई हरेक क्षेत्र र तहका महिलाहरूको सहभागिता हुने व्यवस्थाको निर्माण गर्नु नितान्त आवश्यक देखिन्छ । यसतर्फ ध्यान दिँदै र अहिले प्राप्त भएको उपलब्धिलाई पनि रक्षा गर्दै अघि बढ्नसकेमा भविष्यमा पनि नेपाल महिलाहरूका लागि मैत्रीपूर्ण मूलकका रूपमा दरिन सक्नेछ ।
हाल महिला अधिकार र राज्यका महत्वपूर्ण निकायमा महिलाहरूको सहभागिताका विषयमा जे जति उपलब्धि नेपालमा प्राप्त भएको छ, त्यसलाई जोगाउनका लागि हाल महत्वपूर्ण ओहोदामा बसेका महिला नेतृहरूको भूमिका निकै महत्वपूर्ण हुने देखिन्छ । तर कतिपय अवस्थामा उच्च ओहोदामा रहेका महिलाहरूले भविष्यमा पनि त्यो निकायमा महिलाहरूको सहभागितालाई मध्यनजर राख्दै काम गरेको निकै कम मात्रामा देख्न पाइन्छ । यस्तो अवस्थामा आगामी दिनमा महत्वपूर्ण निकायमा महिलाहरूको सहभागिता हुनेमा प्रश्न चिह्न उठ्ने अवस्था सिर्जना हुँदै गइरहेको छ । यसले गर्दा महिला अधिकारका क्षेत्रमा प्राप्त भएका उपलब्धिहरूसमेत गुम्ने सम्भावना पनि उत्तिकै बढेको छ । यस्तो संवेदनशील विषयमा सबै गम्भीर हुँदै महिला अधिकार र सहभागिताका विषयमा महत्वपूर्ण काम गर्नसके मात्र नेपाल सधैंका लागि महिलामैत्री मुलुकका रूपमा स्थापित हुनसक्छ । यसतर्फ सबैको ध्यान जान जरुरी देखिन्छ ।
चबवथबबिहmष्कजबपथब२नmबष्।िअयm


















