ताप्लेजुङ/ताप्लेजुङमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको काममा संलग्न केही मजदुरलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भए पनि निर्माणको कार्य निरन्तर जारी छ । कोभिड–१९ सङ्क्रमितबाहेकका जनशक्ति आयोजना निर्माणको कार्यमा निरन्तर खटिइरहेका हुन् ।
फुङ्लिङ नगरपालिका, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाको सिमाना भई बग्ने तमोर नदीमा बन्न लागेको आयोजनाबाट कुल ७३ मेगावाट क्षमता उत्पादन हुनेछ । कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि आयोजनामा संलग्न केही जनशक्ति पटकपटक सङ्क्रमित भए पनि निर्माणको कार्य नरोकिएको आयोजनाले जनाएको छ ।
मध्यतमोर जलविद्युत् आयोजनाका प्रबन्धक मणिराज पोखरेलका अनुसार दुई पटक गरी १४ जना जनशक्तिलाई कोरोना सङ्क्रमण भएको छ । पहिलो पटक सङ्क्रमित आठ जना सङ्क्रमणमुक्त भइसकेका छन् । दोस्रो पटक छ जनामा सङ्क्रमण देखिएपछि उनीहरू सुरक्षित रूपमा आइसोलेसनमा रहेका छन् । सङ्क्रमित मजदुरको स्वास्थ्य अवस्था पनि सामान्य रहेको पोखरेलले जनाए।
पोखरेलका अनुसार एउटै आयोजनामा कार्यरतमध्ये केहीमा सङ्क्रमण देखिएपछि अन्यलाई मानसिक रूपमा त्यसको असर हुने भए पनि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर कामलाई निरन्तरता दिइएको छ । हाल आयोजनामा २५ जना चिनियाँसहित चार सय जनशक्ति संलग्न रहँदै आएका छन् । उक्त सङ्ख्यामध्ये २२५ जनाको पीसीआर परीक्षण गरिसकेको र बाँकीको पनि चाँडै नमुना सङ्कलन गरी पीसीआर परीक्षण गराउने तयारी रहेको उनले जनाए।
यता आयोजना निर्माणको कार्य भने हालसम्म ६० प्रतिशतभन्दा बढी प्रगति भइसकेको प्रबन्धक पोखरेलले जानकारी दिनुभयो । उनका अनुसार तीन हजार चार सय मिटर लम्बाइ रहेको मुख्य सुरुङको निर्माण कार्य करिब ७० प्रतिशत पूरा भइसकेको छ ।
गत वर्ष पनि कोरोना भाइरसका कारण देशभर बन्दाबन्दी भएको समयमा पनि निर्माणको कार्यलाई निरन्तरता दिएका कारण आयोजनाको काममा अपेक्षाकृत प्रगति रहेको उनको भनाइ छ ।


















