“लभ लभ लभ”को रोमान्टिक गीत

172

काठमाडौं । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘लभ लभ लभ’को रोमान्टिक गीत गोसाईकुण्डमा छायांकन गरिएको छ । निर्देशक खनालका अनुसार दुई हप्ता पहिले जस्तो ९५ प्रतिशत छायांकन सकाइएको फिल्म ‘लभ लभ लभ’को अन्तिम गीत छायांकन गर्दै सुटिङ प्याकअप भएको छ । फिल्मको इण्ड क्ल्याप सट रसुवाको प्रसिद्ध स्थल गोसाईकुण्डमा गीत खिच्दै लिइयो ।
उक्त गीत छायांकन गर्नका लागि १२ लाख रूपैयाँ खर्च भएको निर्माण टिमले दाबी गरेको छ । निर्देशक खनालले नौ दिन लगाएर ‘के यो माया हो कि के हो.. ’ बोलको गीत खिचिएको जनाए । त्यसो त आम निर्देशकको भीडमा छुट्टै पहिचान स्थापित गरेका खनालले सकेसम्म राम्रो गरौं भन्ने उद्देश्यकै कारण फिल्मका सबैजसो दृश्य पोखरामा खिचिएता पनि एक गीतका लागि मात्रै गोसाईकुण्ड पुगेको जानकारी दिए । त्यस्तै फिल्म निर्मात्री शर्मिला पाण्डेले फिल्मलाई स्तरीय बनाउन बजेटमा कुनै कन्जुस्याईं नगरेको दाबी गर्दै एकै गीतमा १२ लाख लगानी गरेको तर्क गरिन् ।
उता फिल्मका प्रोडक्शन डिजाइनर नगेन्द्र घिमिरेले तातो पानीको लागि समेत पैसा तिरेर खानुपर्ने ठाउँमा निकै कष्ट र दुःखका साथ फिल्मको उक्त गीत छायांकन गरिएको बताए । आफ्नो ३० बर्षे फिल्मी करियरमा यो प्रकारको मिहिनेत तथा दुःख पहिलो पटक झेल्नुपरेको घिमिरेको दाबी छ ।
फिल्मका प्रस्तुतकर्ता अमृत पाण्डे हुन् । भने स्वस्तिमा खड्का र सुरज पाण्डे लिड अभिनयमा छन् । सुरजको लागि यो फिल्म डेब्यू हुनेछ । फिल्मलाई निरज कंडेलले खिचेका छन् भने संगीत सुरेश राईको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको फिल्म नयाँ वर्षको छेकोमा अर्को वर्षको वैशाख १ गते रिलिज हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here