काठमाडौं÷ संविधान संशोधन प्रस्तावका सम्बन्धमा पछिल्लोपटकको भारतको प्रतिक्रियाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विवादमा तान्ने काम भएको विश्लेषकहरूले ठहर गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनका लागि संसद्मा प्रस्ताव गर्नु भएलगत्तै नेपालका राजनीतिक दलहरूबीच सम्वाद नहुँदै भारतले संशोधन प्रस्ताव सकारात्मक रहेको भनी प्रतिक्रिया जनाएर संशोधन प्रस्ताव नै भारतीय सत्तापक्षबाट आएको भनी विपक्षीहरूलाई विरोध गर्ने आधार बनाइएको रूपमा विश्लेषण गरिएको छ । भारतीय सत्तापक्षले नेपालको संविधानमा आपूm अनुकूल संशोधन गराउने चाहना प्रकट गर्दै आएको थियो । आपूm अनुकूल संशोधन नहुँदा नेपालविरुद्ध नाकाबन्दी लगाएर नेपाली जनजीवनलाई नै अस्तव्यस्त तुल्याउने काम भारतबाट भएको थियो । संविधान संशोधनका लागि नाकाबन्दी नै लगाउने भारतले पछिल्लो संशोधन प्रस्तावको समर्थनमा वक्तव्यबाजी गरेर नेपालका राजनीतिक दलहरूबीच विभाजन गराउने काम गरेको छ । भारतबाट भएका यस्ता गतिविधिले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विवादित बनाउने मात्र नभएर राजनीतिक रूपमा कमजोर तुल्याउने काम गरेको बुझ्न कठिन छैन ।
पहिलोपटक प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भएपछि प्रचण्डलाई असफल तुल्याउन हरेक किसिमका अस्त्रहरू भारतले प्रयोग गरेको थियो । प्रधानसेनापति रुक्माङ्गद कटवाललाई कारबाही गर्नसमेत अवरोध सृजना गरेर प्रधानमन्त्री पदबाट प्रचण्डलाई राजीनामा गर्न बाध्य पार्ने काम भारतबाटै भएको थियो । त्यो बेला काममा अवरोध गरेर प्रधानमन्त्री प्रचण्डलाई असफल तुल्याएको भारतले यसपटक प्रधानमन्त्री प्रचण्डलाई संशोधन प्रस्तावमा समर्थन जनाएझैं गरी कमजोर तुल्याउने भूमिकामा आपूmलाई नाङ्गो रूपमा प्रस्तुत गरिरहेको छ ।

















