दुई पक्षीय सम्बन्धलाई प्राथमिकतामा राख्दै चीनले नेपालको प्रतिबद्धता खोज्यो
काठमाडौं÷ नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु एशिया र युरोपलाई जोड्ने महत्वाकांक्षी ‘वान वेल्ट वान रोड’ परियोजनाका विषयमा चासो व्यक्त गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रकाशन विभाग प्रमुख लिउ छिबाओ नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर यस्तो चासो व्यक्त गरेको हो । नेपाललाई दक्षिण एशियाली मुलुकहरूसँग जोड्ने पुलका रूपमा हेर्दै आएको चीनले आफूले अघि बढाएको महत्वाकांक्षी परियोजनाका विषयमा नेपालसँग चासो राखेको हो ।
गत वर्ष संविधान जारी भएपश्चात् भारतले गरेको नाकाबन्दीका बेला अघिल्लो सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयनमा वर्तमान सरकार सुस्त भएको भन्दै चीनले असन्तुष्टि व्यक्त गर्दै आएको छ । नेपालले समस्या पर्दा मात्र उत्तरी छिमेकीको सहारा खोजेको आरोप लगाउँदै आएको चीनले नयाँ सरकार बनेसँगै नेपाल भारतसँग निकट भएको र चीनसँगको सम्बन्धलाई महत्व नदिएको चिनियाँ विज्ञहरूको अभिव्यक्तिबाट पुष्टि हुन्छ । चिनियाँ उच्च नेतृत्वले समेत महत्वाकांक्षी परियोजनाका बारेमा नेपालका प्रधानमन्त्रीसँग चासो राख्नुले चीन नेपालसँगको सम्बन्धलाई बलियो बनाउन खोजिरहेको र उसले अघि बढाउन खोजेका आयोजनामा पनि नेपालको साथ र प्रतिबद्धता खोजेको भन्ने हुने कतिपय राजनीतिक विश्लेषहरूको बुझाइ छ ।
चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणको तयारीका लागि समेत आएको ठानिएको चिनियाँ प्रतिनिधि मण्डलले नेपाल सरकारसँग महत्वपूर्ण विषयमा प्रतिबद्धता खोज्नुको अर्थ राष्ट्रपतिको भ्रमणका बेला महत्वपूर्ण विषयमा सहमति तथा सम्झौता जुटाउन सकियोस् भन्ने रहेको जनाइन्छ । साथै नेपालले चीनसँगको सम्बन्धलाई महत्वमा राख्दै विगतमा चीनसँग भएका सम्झौतारु प्नि कार्यान्वयन गरोस भन्ने चीनको चाहना रहेको बुझिन्छ । जसलाई प्रचण्ड नेतृत्वको सरकारले सम्बोधन गर्नुपर्ने देखिन्छ । दुई पक्षीय भेटका क्रममा चिनियाँ प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डसँग दुई देशबीचको सडक एवम् रेल सञ्जालका बारेमा पनि छलफल गरेको थियो । त्यस्तै, नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धताका लागि पनि चिनियाँ प्रतिनिधि मण्डलले नेपाललाई धन्यवाद व्यक्त गरेको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले चीनसँगको सबै किसिमको सम्बन्ध सुदृढ गर्न नेपाल तयार भएको र चिनियाँ राष्ट्रपतिको व्यग्र प्रतीक्षामा रहेको जनाउनुभएको थियो ।
उच्चस्तरीय चिनियाँ प्रतिनिधि मण्डलले नेपालमा उच्चस्तरिय भेटघाट गरिरहेका बेला चिनियाँ राष्ट्रपति सी जिङपिङले पनि नेपाललाई चीनले उच्च प्राथमिकतामा राखेको जनाएका छन् । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालको ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति सीले नेपालसँगको सम्बन्धका बारेमा बोलेका हुन् । उनले नेपाल चीनको पुरानो मित्र राष्ट्र भएकाले आगामी दिनमा पनि सम्बन्धलाई थप सुमधुर बनाउन चाहेको जनाएका थिए । राष्ट्रपति सीले आफू नेपाल भ्रमणका लागि उत्सकु रहेको भन्दै छिट्टै नेपाल भ्रमण गर्ने जनाएका थिए । नेपाल र चीनको सम्बन्ध विश्वमै उत्कृष्ट रहेको भन्दै नेपालको पूर्वाधार एवं आर्थिक विकासमा सहयोग गर्न चीन तत्पर रहेको जनाएका थिए ।
नेपाल र चीनबीचमा कनेक्टिभिटीको कुरा भइरहेका बेला नेपाल तिब्बत जोड्ने मोटरेवल पुल हुम्लाको हिल्सामा सञ्चालनमा आएको छ । प्रधानमन्त्री प्रचण्डले उक्त पुलको उद्घाटन गरेका हुन् । पुल सञ्चालनमा आएसँगै कर्णाली क्षेत्रमा आवश्यक पर्ने सामग्रीहरू तिब्बतबाट आयात गर्न सकिनेछ भने चिनियाँ पर्यटकहरूलाई नेपाल भित्र्याउनका लागि पनि सहयोग पुग्ने विश्वास गरिएको छ । ५४ मिटर लम्बाइ र ६ मिटर चौडाइ भएको पुलको निमार्णकार्य २०६८ बाट सुरु भएको थियो ।

















