सुर्खेतमा जिङ्‌क चक्कीकाे अभाव

179

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ। यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिङ्‌क चक्कीको अभाव भएको छ।

६ महिनायता जिङ्‌क चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन्। स्वास्थ्यचौकी आउने बिरामी जिङ्‌क चक्की नहुँदा चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य छन्। सुर्खेतको रामघाटस्थित स्वास्थ्यचौकीका बरिष्ठ स्वास्थ्य सहायक धिरेन्द्र घर्तीले पखलाका बिरामीलाई खुवाउने जिङ्‌क चक्कीको अभाव रहेको बताए। ‘पाँच/६ महिनादेखि स्वास्थ्यचौकीमा जिङ्‌क चक्कीको अभाव छ,’ उनले भने, ‘अन्य औषधिसमेत अभाव भएको छ।’

स्वास्थ्यचौकीमा आइरन चक्की र परिवार नियोजनका साधनको समेत अभाव हुने गरेको छ। यस्तै भेरीगङ्गास्थित छिन्चु स्वास्थ्यचौकीमा समेत जिङ्‌क चक्की अभाव भएको बरिष्ठ स्वास्थ्य सहायक गोकर्ण बुढाले जानकारी दिए। एक वर्षदेखि जिङ्‌क चक्कीको अभाव रहेको उनले बताए। जिङ्‌क चक्कीको अभाव भएपछि बिरामी मर्कामा परेका छन्।

स्वास्थ्यचौकीले उपलब्ध गराउने ४२ प्रकारका निःशुल्क औषधिमध्ये आधाजसो मात्र स्वास्थ्यचौकीमा उपलब्ध हुने गरेको उनले बताए। त्यसैगरी स्वास्थ्यचौकीमा ग्याष्टिक, छाला, कानको समस्या भएका बिरामीलाई उपलब्ध गराइने औषधिसमेत अभाव भएको रहेको बुढाले बताए। रामघाट र छिन्चुमा मात्र होइन जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ। छिन्चु स्वास्थ्यचौकीका बरिष्ठ स्वास्थ्य सहायक बुढाले यहाँ अभाव हुँदा कतिपय औषधि स्वास्थ्य संस्था आफैँले खरिद गर्ने गरेका छन्।

यस्तै भरीगङ्गा स्वास्थ्य शाखाले सङ्घबाट खरिद भएर आउने औषधि समयमा नआउँदा औषधिको अभाव भएको जनाएको छ। अति आवश्यक औषधि स्वास्थ्यचौकीमा अभाव नभएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अर्जुन चपाईले बताए। ‘केन्द्रले खरिद गरेर पठाउने नौ प्रकारको औषधि अभाव भएको छ,’ उनले भने, ‘जिङ्‌क चक्कीका साथै परिवार नियोजनका साधनको समेत अभाव छ।’ जनस्वास्थ्य कार्यालयलाई औषधि अभावको विषयमा पटक पटक जानकारी गराइएको उनले बताए।

यसैबीच केही दिनअघि  सुन्दर नेपाल संस्थाको पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत गठन गरिएको निगरानी समूहले स्वास्थ्यचौकीको अनुगमन गरेको थियो। अनुगमनका क्रममा स्वास्थ्यचौकीहरुमा अत्यावश्यक औषधिको अभाव रहेको पाइएको परियोजनाका कार्यक्रम संयोजक याम थापाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here