संकटोन्मुख राष्ट्रिय स्वाभिमान

251

संकटोन्मुख राष्ट्रिय स्वाभिमान

सार्वभौमसत्ता, स्वाधीनता, स्वाभिमान, स्वतन्त्रता र नेपाल एक अर्काका परिपूरक हुन् भन्दा फरक नपर्ला । शक्तिशाली मुलुकहरुले कमजोर मुलुकहरुमाथि हमला गर्ने तथा आफ्नो गुलाम बनाउने साम्राज्यवादी युगमा समेत आफूलाई सधैं स्वतन्त्र र सार्वभौम राख्न सफल भएको सम्भवतः नेपाल एउटा मात्र मुलुक हो । नेपालमाथि हमला गर्ने वा नियन्त्रण गर्ने साम्राज्यवादी मुलुकहरुका हरेक प्रयासलाई असफल बनाउन सफल भएकै कारण नेपाल विश्व मानचित्रमा स्वतन्त्र र सार्वभौमसम्पन्न मुलुकका रुपमा एउटा गौरवपूर्ण इतिहास निर्माण गर्न सफल भएको थियो । विगतमा यही गौरवपूर्ण इतिहास बोकेको नेपाल वर्तमानमा आफ्नो स्वतन्त्र अस्तित्व कसरी जोगाउने भनेर निर्णायक संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको  छ ।
हिमालय क्षेत्रसँग जोडिएको सिक्किमको विलय, भुटानमाथि नियन्त्रण, पाकिस्तान विभाजन लगायत निकै पीडादायी घटनाहरुको साक्षी बनेको नेपालले आफूमाथिका सबै किसिमका हस्तक्षेपलाई विफल पार्दै स्वतन्त्र मुलुकका रुपमा रहदै आएको छ ।  तर मुलुकभित्रैबाट भइरहेका अराष्ट्रिय गतिविधि र बाह्य हस्तक्षेपका कारण पछिल्ला केही वर्षमा नेपाल अस्तित्वको लडाइँ लड्नुपर्ने अवस्थामा पुगेको छ । मुलुकबाहिर तथा मुलुकभित्रैबाट एकैसाथ भइरहेका यस्ता आक्रमणलाई झेल्न नसकेपछि नेपाल लामो समयदेखि संक्रमणकालको शिकार भइरहेको छ ।
विगतमा पर्दा पछाडि हुने वैदेशिक हस्तक्षेपका घटनाहरु हाल सबैले देख्नेगरी हुन थालेका छन् । सरकार निर्माण, मुलुकले गर्ने महत्वपूर्ण निर्णय लगायतमा वैदेशिक हस्तक्षेपका घटना पर्दा पछाडि हुने गरेका थिए । तर पछिल्लो एक वर्षमा यस्ता घटनाहरु सार्वजनिक रुपमै हुन थालेका छन् । विशेष गरी संविधान निर्माण प्रक्रियाको सुरुवात तथा नयाँ संविधान जारी भएयता मुलुकमा भारतीय चलखेल खुल्लारुपमा सुरु भएको छ । संविधानमा आफ्ना स्वार्थ समावेश गराउन खोज्नु, संविधान जारी हुन लाग्दा त्यसलाई रोक्न चलखेल गर्नु, संविधान जारी भएसँगै नाकाबन्दी लगाउनु, ९० प्रतिशतले जारी गरेको संविधान संशोधनका लागि खुल्लारुपमा दबाब दिनुलगायतका घटनाहरु देखिने गरी छिमेकी मुलुकबाट भएका हस्तक्षेपका घटनाहरु हुन् । हालै मात्र संविधानले रुपान्तरित संसद्लाई दिँदै नदिएको सीमांकनको विषयको अधिकार तथा मुलुकको स्वाभिमानसँग जोडिएको अंगीकृतलाई महत्वपूर्ण प्रमुख पदमा पुग्ने व्यवस्था, भाषालगायत विषयलाई सरकारले नै संशोधनका लागि प्रस्ताव दर्ता गराउनुले छिमेकी मुलुक आफ्नो स्वार्थ पूर्तिका लागि एउटा स्वतन्त्र मुलुकको सरकारलाई नै आफू अनुकूल सञ्चालन गर्ने हैसियतमा पुगेको पुष्टि भएको छ । मुलुकलाई हराउने किसिमका छिमेकी मुलुकका चासोहरुलाई रोक्नका लागि पहल गर्नुपर्ने राष्ट्र नै आफैँ छिमेकी मुलुकको अनुकूल प्रयोग हुनुले नेपालको राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने बुझन कठिन छैन ।
पछिल्लो एक दशकयता नेपालमा उत्पन्न परिस्थिति तथा राजनीतिक स्थिरता यतिबेला उत्कर्षमा पुगिरहेको छ । लामो समयदेखि विविधतालाई अँगाल्दै आएको मुलुकमा विविधताबीच साम्प्रदायिकताका संकेतहरु देखिन थालेका छन् भने राज्य संरचनाका नाममा सुरु भएको किचलोले क्षेत्रीय अशान्ति उत्पन्न गराइरहेको छ । नेपालमात्रको विकास र समृद्धिसँग जोडिएका संघीयता, धर्मनिरपेक्षता तथा नागरिकतालगायत विषयहरु नेपालको नियन्त्रणभन्दा बाहिर जाने अवस्था सिर्जना भइरहेका छन् भने सत्ताभन्दा बाहिरबाट तथा सत्ताकै बागडोर सम्हालेकाहरुबाट मुलुकको हित विपरीतका गतिविधिहरुलाई प्रोत्साहन गर्नेदेखि विभिन्न पक्षले उठाएका माग पूरा गराउने बहानामा मुलुकमा रहेको जातीय, धार्मिक, क्षेत्रीय तथा भौगोलिक विविधताको मर्मविपरीत काम गर्ने र त्यसको अपनत्व आन्दोलनरत पक्षले नभई छिमेकी मुलुकले लिने जस्ता गम्भीर किसिमका प्रवृत्तिहरुले निरन्तरता पाउनु सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मुलुकका लागि अवश्य पनि राम्रो संकेत होइन । लामो अभ्यासबाट जनतामा साम्प्रदायिक सोचको विकास गर्ने र मुलुकभित्रै रहेको एउटा जातजातिका विरुद्ध अर्काे जातजातिलाई भड्काउने, एउटा क्षेत्रको मानिसलाई अर्काे क्षेत्रको मानिससँग लडाउने तथा एउटा धर्मको व्यक्तिलाई अर्काे धर्मसँग भिडाउने प्रवृत्ति जुन गतिमा अघि बढिरहेको छ । यसले नेपाललाई आन्तरिक रुपमा थिल्थिलो पारेर अन्तिममा आफूले रजाइँ गर्ने योजनाको प्रारुप हो भन्ने अब कतै लुकेको छैन । यसलाई चिर्नका लागि देशभक्त स्वाभिमानी नेपालीहरु एकै ठाउँमा नजुटे नेपालको अस्तित्व इतिहासमा समेटिनेमा दुई मत छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here