जसले कम्युनिष्टको झण्डालाई झुक्न दिएनन्

192

सोभियत संघको विघटनसँगै विश्वभरबाट कम्युनिष्ट शासनहरु एकपछि अर्काे गर्दै ढल्दै गए । कतिपय मुलुकहरुमा कम्युनिष्टहरुको अस्तित्व रहे पनि प्रभाव निकै कम हुँदै गयो । तर क्युवा र त्यसको नेतृत्व गरिरहेका फिड्रेल क्यास्ट्रो समकालीन विश्वमा एक मात्र त्यस्ता नेता थिए, जसले कम्युनिष्टको झण्डालाई सधैं उचाइमा राख्न सफल भए । त्यो पनि आफ्ना देशका जनताको पूर्ण विश्वास लिएर । फिड्रेल त्यस्ता नेता हुन् जसले करिब ५० वर्षसम्म क्युवामा एकछत्र राज गरे । यस अवधिमा क्युवामा कुन अर्काे पार्टी निर्माण हुन सकेन, जसले उनलाई चुनौती दिन सकोस् । क्यास्ट्रोका समर्थकहरु उनलाई समाजवादका संरक्षक मान्छन् । साथै उनलाई आफ्ना नागरिकहरुलाई स्वतन्त्र बनाउने राजनेताका रुपमा समेत परिभाषित गर्छन् । कतिपयले भने विपक्षीहरुलाई क्रूर ढंगले दमन गरेको भन्दै आलोचना समेत गर्छन् । त्यस्तो आरोप लगाउनेहरुले उनले अवलम्बन गरेको खराब आर्थिक नीतिका कारण क्युवाको अर्थव्यवस्थालाई अपांग बनाएको समेत आरोप लगाउने गर्छन् ।
क्यास्ट्रोको पुरा नाम फिड्रेल अलजन्द्रो क्यास्ट्रो रुज हो । उनको जन्म १३ अगस्ट १९२६ मा एक धनी किसानको घरमा भएको थियो । उनले आफ्ना् विद्यालय तहको अध्ययन सेन्टियागोको क्याथोलिक स्कुलमा गरेका थिए । त्यसपश्चात् उनी अध्ययन गर्नका लागि हवाना गएका थिए । सन १९४० को दशकको मध्यमा हवाना विश्वविद्यालयबाट कानुन अध्ययन गर्दै गर्दा उनी राजनीतिक कार्यकर्ता बनेका थिए । त्यसलगत्तै उनले सार्वजनिक वक्ताका रुपमा आफ्नो परिचय बनाएका थिए । मानिसहरु उनको भाषण सुन्न लालायित हुने गर्थे ।
सक्रिय राजनीतिमा सहभागी भएपछि क्यास्ट्रोले क्युबा सरकारलाई आफ्नो निशाना बनाए । यस अवधिमा क्युवाका राष्ट्रपति रेमनको सरकारमाथि भ्रष्टाचारको गम्भीर आरोप लागेको थियो । जसको क्यास्ट्रोले आफ्नो भाषणमा व्यापक आलोचना गर्ने गर्थे । त्यतिबेला क्युवामा हिंस्रक आन्दोलन भइरहेको थियो । आन्दोलनमा क्यास्ट्रोले सरकारको चर्काे आलोचना गरेपछि प्रहरीले उनलाई निशाना बनाउन सुरु ग¥यो ।
क्यास्ट्रो डोमिनिकन गणराज्यका दक्षिणपन्थी नेताका विरोधी थिए । उनले दक्षिणमन्थी नेता राफेल ट्रुजिलोको सत्ता पल्ट्याउनका लागि प्रयास गरेका थिए । तर अमेरिकाको सहयोगका कारण उनको प्रयास असफल भयो ।
क्यास्ट्रोले सन १९४८ मा क्युवाका एक धनी नेताकी छोरी मिर्ता डियाज बालार्टसँग बिहे गरे । उनले धनी नेताकी छोरीलाई बिहे गरेपछि क्यास्ट्रो हुनेखाने वर्गमा सहभागी भएको भन्दै चर्चा चलेको थियो । तर चर्चा केवल चर्चामै सीमित भयो । बरु उनी बिहेपछि तीव्र गतिले माक्र्सवादको बाटोमा अघि बढे । क्यास्ट्रोको एउटै मान्यता थियो, क्युवाको आर्थिक समस्याको मुख्य कारण अनियन्त्रित पुँजीवाद हो भन्ने । उनी भन्ने गर्थे, पुँजीवादको उपचार जनक्रान्तिबाट मात्र गर्न सकिन्छ । स्नातक तहसम्मको अध्ययन पूरा गरेपछि क्यास्ट्रोले केही समय कानुन व्यवसायीका रुपमा काम गर्ने प्रयास गरेका थिए । तर यसमा उनी सफल हुन सकेनन् । उनीमाथि ऋणको बोझ थपिँदै गयो । यस अवधिमा पनि उनले आफ्ना राजनीतिक गतिविधिलाई निरन्तरता दिइरहे । उनी क्युवामा भएका सबैजसो हिंसात्मक प्रदर्शनमा सहभागी हुने गर्थे । सन १९५२ मा क्युवाका तानाशाह फुलगेन्सियो बाटिस्टाले देशमा सैन्य विद्रोह गराए । त्यसपछि क्युवाका राष्ट्रपति कार्लोस प्रियोले सत्ता छाड्नु प¥यो । बाटिस्टाको अमेरिकासँग घनिष्ट सम्बन्ध थियो । उनले समाजवादी संगठनहरुको दमन गर्न सुरु गरे । जुन क्यास्ट्रोको मौलिक राजनीतिक मान्यता भन्दा विपरीत थियो । यसलाई चुनौती दिन उनले एउटा संस्था स्थापना गरे, उक्त संस्थाको नाम थियो, ‘द मुभमेन्ट’ । यस संस्थाले भूमिगत ढंगले आफ्नो काम सुरु ग¥यो । जसको उद्देश्य तानाशाह बाटिस्टाको सत्ता ढाल्नु थियो । यसै सिलसिलामा सन १९५३ मा उनले सेन्टियागोको एक सैनिक ब्यारेकमा सशस्त्र हमला गरे । उक्त विद्रोहको उद्देश्य हतियार जफत गर्नु थियो । तर उनको यो योजना विफल भयो । उक्त हमलामा कैयौं क्रान्तिकारीहरु मारिए । उक्त असफल हमलापश्चात् क्यास्ट्रोलाई १५ वर्षको जेल सजाय सुनाइयो । तर उनलाई १९ महिनाको सजायपश्चात् रिहा गरियो । जेलमा सजाय भोगिरहेका क्यास्ट्रोले जेलबाटै श्रीमतीसँग पारपाचुके गरेका थिए । त्यसपछि उनी दिनरात माक्र्सवादी साहित्य अध्यनमा लिप्त हुन थाले ।
जेलबाट रिहा भएका क्यास्ट्रो बाटिस्टाले आफ्ना विरोधीलाई सिध्याउने योजना बनाएपछि गिरफ्तारीबाट बच्न क्युवा छोडेर मेक्सिको गए । त्यहाँ उनको भेट चर्चित क्रान्तिकारी नेता चे ग्वेभारासँग भयो । नोभेम्बर १९५६ मा क्यास्ट्रो ८१ जना सशस्त्र साथीहरुसँग क्युवा फर्किए । सन १९५९ मा क्युवाका तानाशाह बाटिस्टालाई सत्ताबाट हटाएर क्यास्ट्रोले क्युवामा कम्युनिष्ट व्यवस्था स्थापना गरे । क्यास्ट्रोको नेतृत्वमा बनेको क्युवाका नयाँ सरकारले गरीबहरुसँग उनीहरुको सम्पत्ति फिर्ता गर्ने तथा उनीहरुको अधिकारको रक्षा गर्ने वाचा ग¥यो । तर सरकारले छिट्टै एक पार्टी प्रणालीको व्यवस्था ग¥यो । साथै सयाँै राजनीतिक व्यक्तिहरुलाई कैदी बनाइयो । कतिपयलाई जेल पठाइयो भने कतिपयलाई श्रम शिविरमा पठाइयो । त्यस्तै हजाराँै मध्यम वर्गीय क्युवाली जनतालाई निर्वासन गराइयो । उनले आफ्ना अघिकांश भाषणमा भन्ने गर्थे । क्युवामा रहेको व्यवस्था साम्यवाद वा माक्सवाद होइन, यो त यस्तो लोकतन्त्र हो जसमा सबैलाई प्रतिनिधित्वको स्वतन्त्रता छ ।
सन १९६० मा क्यास्ट्रोले अमेरिकी स्वामित्व भएका सबै व्यवसायलाई राष्ट्रियकरण गरे । यसको जवाफमा वाशिंटनले क्युवामाथि कैयाँै व्यापारिक प्रतिबन्ध लगायो । क्युवा यस अवधिमा शीतयुद्धको मैदानमा परिणत भएको थियो । एकातर्फ सोभियत संघ तथा त्यसका नेता निकिता ख्रुश्च्वेले आफूसँग सम्झौताको प्रस्ताव गरेको क्यास्ट्रोको दाबी थियो । प्रस्तावपश्चात् दुई नेताका बीचमा सन्धि भएको थियो । त्यसपछि उनलाई सोभियत संघको समर्थन मिलेको थियो । अर्काेतर्फ अमेरिकाले क्यास्ट्रोको सरकार हटाउन क्युवाका राजनीतिक बन्दीहरुसँग मिलेर एउटा नीति सेना निर्माणमा जुटिरहेको थियो । उनी अमेरिकाका लागि सबैभन्दा ठूलो दुश्मन बनिसकेका थिए । सीआइएको नेतृत्वमा एउटा टीम पनि बनाइएको थियो । जसको उद्देश्य उनको हत्या गर्नु थियो । यसका लागि क्यास्ट्रो सिगारमा विस्फोटक पदार्थ लगाएर उनको हत्या गर्ने योजना बनाइएको थियो । उनको हत्याका लागि बनाइएका विभिन्न आश्चर्यजनक तरिकाहरु सार्वजनिक भएका थिए । यस बीचमा क्यास्ट्रो र क्युवालाई आर्थिक सहयोग गर्न सोभियत संघले क्युवामा आर्थिक लगानी शुरु गरेको थियो ।
कमजोर आर्थिक अवस्था हुँदा हुँदै पनि क्यास्ट्रोले अफ्रिकामा आफ्ना सैनिकहरुलाई पठाएर र मोजाम्बिकका माक्र्सवादी छापामार लडाकुको समर्थन गरे । तर सन १९८० को मध्यसम्म विश्व राजनीतिमा व्यापक फेरबदल आइसकेको थियो । यो समय उनको क्रान्तिका लागि घातक सावित भयो । यस अवधिमा मस्कोलाई पनि क्यास्ट्रोलाई सघाउन कठिन भइरहेको थियो । जसले गर्दा क्युवाको एउटा ठूलो भरोसा टुटेको थियो । समस्याको बीचबाटै सन १९९० को मध्यसम्म क्युवाले कैयाँै प्रभावशाली घरेलु उपलब्धिहरु हासिल गरिसकेको थियो । मुलुकका जनताका लागि उत्कृष्ट चिकित्सा व्यवस्था निःशुल्क उपलब्ध गराइएको थियो । यसले क्युवाको शिशु मृत्युदरलाई विकसित मुलुककै तहमा ल्याएको थियो । सन २००८ मा स्वास्थ्य अवस्थाका कारण राष्ट्रपतिको जिम्मेवारी समेत त्यागेका उनको हालै ९० वर्षको उमेरमा निधन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here