शान्तिमिसनमै नेपाली सेनामाथि भारतीय दादागिरी

166

द्वन्दग्रस्त देशहरूमा भारतीय सेना अग्रपंक्तिमा जान डराउने गरेको खुलासा गर्छन् शान्ति मिसनबाट फर्किएका नेपाली सेनाका अधिकृत
काठमाडौं÷ भारतले संयुक्त राष्ट्र संघअन्तर्गतको शान्ति मिसनमा जाने नेपाली सेनालाई आफू मातहतमा परिचालन गर्न राजनीतिक लबिङ सुरु गरेको चर्चाबीच शान्ति मिसनमा खटिने नेपाली सेनामाथि नै भारतीय सेनाले नेतृत्व जमाउन खोजेको जानकारी प्राप्त भएको छ । शान्ति मिसनका लागि सुडानलगायत विभिन्न देशहरूमा पुगेर फर्केका नेपाली सेनाका उच्च अधिकारीका अनुसार शान्ति मिसनमा फिल्डमा खटिने क्रममा भारतीय सेनाले नेपाली सेनालाई अघि लगाएर त्यसको नेतृत्व गर्दै आफू दादा बन्न खोज्ने गर्दछन् ।
आफ्नो नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, ‘नेपाली सेना शान्ति मिसनका लागि फिल्डमा खटिन्छ, तर भारतीय सेना भने नेपाली सेना मूभ भएपछि मात्र नेतृत्व गर्ने शैलीमा नेपाली सेनाको पछि–पछि आउने गर्छ । त्यहाँ उनीहरूको व्यवहार तथा प्रस्तुति हेर्दा उनीहरूले नै नेपाली सेनालाई नेतृत्व गरेजस्तो अहम्ता देखाउँछन् ।’ ती सैन्य अधिकारीका अनुसार भारतीय सेनाहरूलाई देख्दाबित्तिकै द्वन्द्वग्रस्त मुलुकहरूमा आक्रोश व्यक्त हुने भएकाले भारतीय सेनाहरू अगाडि देखिन डराउने गर्दछन् । शान्ति मिसनमा खटिने सेनामा पनि गोर्खाली सेनाहरूलाई अगाडि लगाएर गैरगोर्खाली सेनाहरू सुरक्षित बन्न खोज्ने गरेको ती सैन्य अधिकारी जानकारी गराए । यूएन शान्ति मिसनमा नेपाली सेनाले देखाएको उत्कृष्ट प्रदर्शनका कारण नेपाली शान्ति सेना विश्वकै उत्कृष्ट ६ नम्बरमा पर्ने भए पनि भारतीय पक्षले भने नेपाली सेनालाई लडाकुका रूपमा मात्र हेर्ने गरेको उनको भनाइ थियो ।
नेपाली सेनाको उत्कृष्ट कार्य कौशलताबाट लोभिएको भारतले नेपालको राजनीतिमा जस्तै सेनामा पनि आफ्नो प्रभाव कायम गराउन खोज्ने गरेको छ । यसका लागि लामो समयदेखि प्रयास पनि गरिरहेको छ । भारतीय सेनाका बहालवाला तथा पूर्व जर्नेलहरूले नेपाल भ्रमणका बेला तथा विभिन्न कार्यक्रमहरूमा सार्क क्षेत्रका सेनाहरूलाई सार्क वा सार्क स्तरीय अन्य कुनै संगठनको मातहतमा पठाउन प्रस्ताव ल्याउने गरेका छन् । दक्षिण एशियामा आफूलाई उदाउँदो शक्तिका रूपमा विकास गरिरहेको भारतले आफू मातहतका संगठनमार्फत् नेपाललगायत मुलुकका सेनालाई शान्ति सेनामा पठाउँदा आफू मातहतमा राख्न सकिने भारतीय पक्षको विश्वास रहेको छ । राजसंस्थालाई विघटन गराउन राजनीतिक दलहरूको सहयोगी बनेको भारतले अब नेपाली सेनामाथि आफ्नो पकड जमाउन नेपालका राजनीतिक दलहरूसँग बार्गेनिङ सुरु गरिसकेको बुझिन्छ ।
यता नेपाली सेनाले भने विश्वकै उत्कृष्ट सेना बन्न सफल भएको आफ्नो संस्थालाई कसैको मातहतमा रहन आवश्यक नरहेको भन्दै अप्रत्यक्ष रूपमा आउने यस्ता प्रस्तावको विरुद्धमा पटक–पटक उत्रिने गरेको छ । जसले गर्दा भारतीय पक्षबाट हुने प्रयास सफल हुन सकिरहेको छैन । नेपाली सेनाबाट आफ्नो प्रस्ताव स्वीकृत नहुने संकेत पाएको भारतले बेलाबखतमा आफू अनुकूलका राजनीतिक दलहरू सत्तामा आउँदा राजनीतिक ढंगले यस्ता प्रस्तावहरू अघि सार्ने गरेको छ । पछिल्लो पटक सार्वजनिक भएको भारतीय प्रस्तावसम्बन्धी विषय पनि यसैको निरन्तरता भएको विश्लेषकहरूले दावी गरेका छन् ।
यसैबीच नेपाली सेनाले शान्ति सेनामा भारतको मातहतमा नेपाली सेना पठाउने विषयमा सैन्य मुख्यालयलाई कुनै जानकारी नरहेको भन्दै यसप्रति ध्यानाकर्षण भएको जनाएको छ । सैन्य जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै विशिष्ट पृष्ठभूमि बोकेको दक्षिण एशियाकै पुरानो नेपाली सेनाले हालसम्म संयुक्त राष्ट्र संघ बाहेकका कुनै पनि निकायको मातहतमा रहेर काम नगरेको प्रष्ट पारेको छ । सेनाले विज्ञप्तिमार्फत अप्रत्यक्ष रूपमा नेपाली शान्ति सेनालाई भारतको मातहतमा लैजाने भन्ने कुराको विरोध मात्र गरेको छैन, नेपाली सेनाको कार्य कौशलतालाई कमजोर नठान्न आग्रहसमेत गरेको छ । सेनाको विज्ञप्तिमार्फत नेपाली सेनाको संस्थालाई कमजोर बनाउने विषयमा विभिन्न पक्षबाट हुने प्रत्यक्ष तथा अप्रत्यक्ष हस्तक्षेपका घटनालाई पनि चुनौती दिइएको छ ।
यसैबीच भारतले दुई देशबीच असीमित उडान गर्ने गरी अघि सारेको खुला आकाश सम्झौताको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । नेपाल र भारतका अधिकारीहरुबीच अघिल्लो साता भएको वार्तामा भारतले खुला आकाश सम्झौताको प्रस्ताव गरेको थियो ।
बैठकमा नेपालले माग गर्दै आएको तीन हवाई रुट खुला गर्नेबारे अध्ययन गर्न संयुक्त प्राविधिक समिति बनाउने सहमति भएको छ । नेपालले जनकपुर, भैरहवा र नेपालगञ्जबाट भारत उडानका लागि नयाँ एयर रुट माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here