वैदेशिक रोजगार व्यवसायमा स्थापित महिला उद्यमी

344

वैदेशिक रोजगार व्यवसायमा महिला व्यवसायीका रुपमा चर्चित नाम हो कल्पना रावल । २०५९ देखि वैदेशिक रोजगार व्यवसायमा लागेकी कल्पनाले ६७ देखि आफ्नो एक्लो स्वामित्वको भेरी एण्ड कर्णाली इन्टरनेशनल प्रालि सञ्चालनमा ल्याएकी छिन् । सानैदेखि विद्रोही स्वभावकी कल्पना पुरुषहरुले गर्ने काम महिलाहरुले पनि गर्न सक्छन् भन्ने मान्यता राख्थिन् । यही स्वभाव उनलाई यस व्यवसायमा स्थापित हुन सहयोगी बन्यो । चुनौतीपूर्ण व्यवसायका रुपमा मानिने वैदेशिक रोजगार व्यवसायमा सानो–सानो कुरालाई लिएर विभिन्न समस्या तथा चुनौतीहरु भोग्नुपर्ने उनको अनुभव छ । तर उनी यस्ता सबै किसिमका चुनौतीलाई आफैँले सम्हाल्दै समस्याको समाधान निकाल्छिन् । नेपालबाट कामदारलाई पठाउनेदेखि विदेशमा पुगेर कामदारले सन्तोषजनक ढंगले काम नगर्दासम्म म्यानपावर कम्पनीहरुले विभिन्न चुनौतीहरु सहनुपर्ने उनको भनाइ छ । कतिपय अवस्थामा त सुरक्षाकर्मी, गुण्डा तथा डनहरुबाट समेत दुःख सहनुपरेको अनुभव उनीसँग छ । तर उनी यस्ता कुराहरुलाई सामान्य रुपमा लिन्छिन् । उनी भन्छिन्, ‘आफूले इमानदारिताका साथ काम गरियो भने कसैसँग डराउनु पर्दैन ।’
वि.सं. २०३५ मा बर्दियामा जन्मिएकी कल्पनाले आफ्नो इन्टरमिडिएट तहसम्मको अध्ययन नेपालगञ्जबाट पूरा गरिन् । पछि काठमाडौंबाट बीबीएससम्मको अध्ययन पूरा गरेपछि विभिन्न एनजीओ तथा आईएनजीओमा आबद्ध भइन् । तर जागिरे जीवनबाट उनी सन्तुष्ट हुन सकिनन् । जसले उनलाई वैदेशिक रोजगार व्यवसायतर्फ आकर्षित ग¥यो । हुन त उनले पहिलेदेखि यस व्यवसायमा लाग्ने सोच बनाएकी थिइनन् । तर उनका श्रीमान् राजनीतिसँगै व्यवसायमा आबद्ध थिए । श्रीमान्को सहयोग र साथले उनी पनि यस व्यवसायमा आबद्ध भइन् । आफ्नो कामप्रति निकै लगाव राख्ने उनले हाल वैदेशिक रोजगार व्यवसायमा स्थापित व्यवसायीका रुपमा आफ्नो पहिचान बनाएकी छिन् ।
कल्पना यो व्यवसायलाई राज्यले अहिले पनि सम्मान गर्न नसकेको गुनासो गर्छिन् । आफैमा चुनौतीपूर्ण रहेको यो व्यवसायलाई राज्यले असहयोग गरेको उनको तर्क छ । कतिपय व्यवसायीहरुले गलत काम गरेको आधारमा राज्यले समग्र व्यवसायप्रति नै गलत सोच बनाएको भन्दै उनले काम गर्ने सिलसिलामा राज्यका विभिन्न निकायहरुले पैसा नलिई काम नगर्ने गरेको खुलासा गरिन् । उनी भन्छिन्, ‘एकातर्फ सरकारले सहयोग गर्दैन, अर्काेतर्फ पैसा नखुवाई कुनै पनि निकायले काम गर्दैनन् । यसले थप समस्या सिर्जना गरिरहेको छ ।’ राज्यले यो व्यवसायलाई सम्मान गरेको अवस्थामा यस व्यवसायमा थप सम्भावनाहरु खोज्न सकिने र यस व्यवसायमा लाग्नेहरुलाई पनि हौसला मिल्ने उनको तर्क छ ।
कल्पना कहिलेकाहीँ रोजगारीका लागि नेपाली कामदारहरु जाने मुलुकहरुमा पनि भ्रमण गर्ने गरेकी छिन् । भ्रमणका क्रममा नेपाली महिला कामदारको अवस्थाले आफूलाई निकै भावुक बनाउने गरेको भनाइ छ । उनले नेपाली महिला कामदारहरुलाई स्थानीय रोजगारदाताहरुले भेडाबाख्रालाई जस्तै खरिद गर्ने र उनीहरुमाथि शोषण गर्ने गरेको जनाउँछिन् । महिलाहरुको यस्तै अवस्थालाई देखेर उनले सकेसम्म महिलाहरुलाई वैदेशिक रोजगारीमा नजान र गए पनि कामको प्रकृति निश्चित गरेर मात्र जान अनुरोध गर्दै आएकी छिन् । उनले नेपाली महिला कामदारहरुले खाडी मुलुकमा भोगिरहेको समस्यालाई मध्यनजर गर्दै आफूले हालसम्म एक जना पनि महिला कामदारहरुलाई वैदेशिक रोजगारीमा नपठाएको उनको तर्क छ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारहरु ठगिने प्रवृत्तिका पछाडि कतिपय व्यवसायीको गलत प्रवृत्ति मुख्य कारण रहेको कल्पनाको भनाइ छ । म्यानपावर कम्पनीहरुले एजेन्टमार्फत कामदारबाट ठूलो रकम असुल गर्ने तर पछि कामदारलाई समस्या पर्दा एजेन्टलाई दोषी देखाउने प्रवृत्ति रहेको भन्दै उनले एजेन्टहरुले उठाएको रकमको झण्डै ९० प्रतिशत रकम स्वयम् व्यवसायीहरुले नै खाने गरेको जनाउँछिन् । उनी एजेन्टहरुलाई दोषी देखाएर व्यवसायीहरुले फाइदा लिने गरेको तर्क गर्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here