राजदरबार हत्याकाण्डबारे प्रत्यक्षदर्शीहरुको बयान तथा जाँच आयोगले तयार पारेको प्रतिवेदनका आधारमा हत्यारा तत्कालीन युवराज दीपेन्द्र भएको जनाइँदै आएको छ । प्रतिवेदन रिपोर्टमा उल्लेख भएअनुसार दरबार हत्याकाण्डको कारण युवराज दीपेन्द्रको देवयानी राणासँगको प्रेमसम्बन्ध भनिएको छ । युवराज दीपेन्द्रको प्रेमलाई परिवारले नस्वीकारेका कारण बदलास्वरुप दीपेन्द्रले परिवारको हत्या गरेको आशय जाँच प्रतिवेदनले व्यक्त गर्न खोजेको छ । दरबार हत्याकाण्ड हुनुभन्दा पहिले तत्कालीन युवराज दीपेन्द्र नशाको सुरमा लट्ठिएको प्रतिवेदनमा उल्लेख गरिएको छ भने प्रत्यक्षदर्शीहरुको पनि त्यस्तै दाबी रहेको छ । नशामा लठ्ठ भएका दीपेन्द्रले गलफ्रेन्ड देवयानीलाई फोन गरेपछि आर्मीको युनिफर्ममा बिलियार्ड हलमा झरेको र परिवारका सदस्यहरुको एक एक गरेर हत्या गरेपछि आफैँलाई गोली प्रहार गरेर आत्महत्या गरेको जाँच प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तर जाँच प्रतिवेदनमै उल्लेखित कतिपय तथ्यहरुलाई केलाउँदा तथा कतिपय प्रत्यक्षदर्शीहरुका कुरा सुन्दा दीपेन्द्र आफैँले दरबार हत्याकाण्ड गराएको भन्ने तर्कमाथि विश्वास गर्न गाह्रो हुन्छ । यसका लागि केही तथ्यहरु केलाउन आवश्यक छ । पहिलो कुरा युवराज दीपेन्द्र नशाको सुरमा आफैँलाई नियन्त्रण गर्न सक्ने अवस्थामा नरहेको भनिएको छ । जब कि दरबार हत्याकाण्डमा जति पनि सदस्यहरुले ज्यान गुमाएका छन्, उनीहरुको टाउको र छातीमा गोली दागिएको छ । दोस्रो कुरा युवराज दीपेन्द्रको कोठामा हतियार नै नभएको भनिएको छ । तर हत्याकाण्डमा फरकफरक किसिमका तीनवटा हतियारहरु प्रयोग भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । छानबिन आयोगको रिपोर्टमा युवराज दीपेन्द्रको सुत्ने कोठा बाहिर सातवटा गोलीका खोका भेटिएको भनिएको छ । दीपेन्द्रको शरीर जाँच गरेका डाक्टरहरुले जाँच आयोगलाई दिएको बयानमा दीपेन्द्रको टाउकोमा दायाँ बायाँ दुवैतर्फ गोली लागेको जनाएका छन् । त्यस्तै, अधिराजकुमारी श्रुतिका श्रीमान् गोरखको बयानमा गोली दीपेन्द्रले नै चलाएको तर गोली चलाउँदा उनको अनुहारमा कुनै परिवर्तन नदेखिएको भनिएको छ । साथै, युवराज दीपेन्द्रको कोठामा समेत गिदी र रगत भेटिएको प्रतिवेदनमै जनाइएको छ । जब कि उनको लाश तलाउको छेउमा फेला परेको भनिएको छ ।
जाँच आयोगले नै तयार पारेको प्रतिवेदनलाई सही मानेर त्यहाँ उल्लेख गरिएका घटनाक्रमको विश्लेषण गर्ने हो भने नशामा चुर भएर ढलेको मानिसले कसरी निशाना लगाएर छाती र टाउकोमा फरकफरक हतियारको प्रयोग गरेर गोली प्रहार गर्न सक्छ ? कोठामा हतियार नै नराख्ने युवराजसँग एकाएक फरकफरक हतियार कहाँबाट आए ? अरुको हत्या गर्न गोली चलाएका भनिएका युवराज दीपेन्द्रको सुत्ने कोठाबाहिर गोलीका खोकाहरु कहाँबाट आए ? यदि दीपेन्द्रले आत्महत्या नै गरेका हुन् भने पनि एकतर्फको कञ्चटमा उनले गोली प्रहार गरेपछि आफैँले अर्काे तर्फको कञ्चटमा गोली प्रहार गर्न सम्भव कसरी हुन्छ ? गोरख राणाको बयानलाई मान्ने हो भने गोलीको निशाना लगाउँदा हरेक मानिसको सक्कली अनुहारमा परिवर्तन नआउने कुरै हुँदैन भने आँखाको निशाना लगाउँदा छाला केही खुम्चिन्छ, तर गोली प्रहार गर्ने व्यक्तिमा कुनै परिवर्तन नदेखिनुका पछाडि के कारण हो ? अर्थात् कस्तो अनुहारमा गोली चलाउँदा कुनै परिवर्तन हुँदैन ? र, अर्काे महत्वपूर्ण कुरा आफ्नो कोठाबाट निस्किएर परिवारका सदस्यमाथि आक्रमण गरेका भनिएका युवराज दीपेन्द्रको कोठामा रगत र गिदी कहाँबाट आयो ? यस्ता कैयाँै अनुत्तरित प्रश्न जाँच आयोगको प्रतिवेदनमा देखिन्छन् । तर यस्ता प्रश्नको जवाफ खोज्ने प्रयास भएको देखिँदैन । त्यसैले प्रतिवेदनलाई आधार मानेर तत्कालीन युवराजलाई दरबार हत्याकाण्डको प्रमुख पात्र मान्न सकिने आधारहरु देखिँदैनन् । बरु प्रतिवेदन रिपोर्टको अध्ययनपश्चात् के चाहिँ भन्न सकिन्छ भने हत्या अरु कसैबाटै भएको थियो तर त्यसमा दीपेन्द्रको मुखुण्डोको प्रयोग भएको थियो र मुखुण्डोधारीहरुले लामो अभ्यासपश्चात् उक्त घटनालाई अन्तिम रुप दिएका हुन् भन्ने पुष्टि हुन्छ ।


















