चिकित्साविद् डा. हरिहर वस्तीका अनुसार नेपालको कानुनमा कुनै पनि अस्वाभाविक मृत्यु, शंकास्पद ज्यान जानुलगायत कतिपय अवस्थामा लाश जाँच गरेर प्रतिवेदन दिनुपर्ने प्रावधान रहेको छ । पोष्टमार्टमको विश्वव्यापी प्रयोगले पोष्टमार्टमले मृत्युको कारणलाई मात्र नभएर विविध कुरालाई मद्दत गर्छ । जस्तो मृत्युको समय, दुर्घटना श्रृंखलादेखि अन्य विभिन्न क्रोनोलोजी पत्ता लगाउन पोस्र्टमार्टमले मद्दत गर्छ । दरबार हत्याकाण्डको अनुसन्धानका लागि पनि यो निकै आवश्यक थियो । तर राजपरिवारका मृतक सदस्यहरुको अनुसन्धानको महत्वपूर्ण पाटो मानिने पोष्टमार्टम गरिएन । राजपरिवारका मृतक सदस्यहरुको पोष्टमार्टम गरिनुपथ्र्याे भन्ने तर्क छ डा. वस्तीको । तर तत्कालीन अवस्थामा मृत्युको कारण सबैलाई थाहा भएको भन्दै पोष्टमार्टम नगरी अन्त्येष्टि गर्न लगाइएको थियो ।
दरबार हत्याकाण्ड जसरी रहस्यमय ढंगबाट गराइयो । त्यस्तै, ढंगले घटनाको सत्य ओकल्ने प्रमाणहरुलाई पनि त्यसरी नै क्रमिक रुपमा नष्ट गरियो । जस्तो मृतक सदस्यहरुको पोष्टमार्टम नगराउनु, हत्याकाण्ड भएको त्रिभुवन सदनलाई भत्काउनु, घटनाकी जीवित साक्षी भनिएकी पूर्व अधिराज कुमार धीरेन्द्र शाहकी पत्नी प्रेक्षा शाह पनि हत्याकाण्डको झण्डै पाँच महिनापछि अर्थात् २०५८ कात्तिक २३ गते फिस्टेल एयरको ९ एन एएफपी एएस ३५० बी इक्युरियल हेलिकोप्टर रारा तालमा दुर्घटनामा मारिनुलाई संयोग मात्र मान्न सकिँदैन । उक्त हेलिकोप्टर दुर्घटनालाई पनि दरबार हत्याकाण्डजस्तै रहस्यमय बनाइएको छ ।
जाँच आयोगको प्रतिवेदन र राजपरिवारका जीवित सदस्यहरुले दाबी गरेअनुसार हत्याकाण्डमा दीपेन्द्रको सहभागिता थियो भने हत्याकाण्डपश्चात् पर्याप्त जाँच तथा अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउँदा कसैलाई नोक्सानी हुने थिएन । बरु दरबार हत्याकाण्डको विषयमा वर्तमानमा उब्जिइरहेका प्रश्न त्यतिबेलै समाधान भइसक्थे । प्रविधिको उच्च विकास र विश्वस्तरीय विज्ञहरुको सहकार्यमा दरबार हत्याकाण्डको सत्यतथ्य जाँच र अनुसन्धान भएको भए वर्तमानमा दरबार हत्याकाण्डलाई शंकाको दृष्टिले हेर्ने अवस्था सिर्जना हुने थिएन । तर त्यसको विपरीत तत्कालीन राजा ज्ञानेन्द्र, गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकार तथा विभिन्न निकायहरुले अनुसन्धानलाई अघि बढाउने भन्दा पनि भएका प्रमाणहरुलाई नै नष्ट गर्ने कार्य गरे । जसले गर्दा दरबार हत्याकाण्ड भएको १६ वर्षपछि पनि उक्त दुःखद घटना रहस्यकै गर्भमा लुकिरहेको छ ।

















