बालबालिकामा पेट दुख्ने समस्या र निदान

725

– डा. बिनिता जोशी
बालरोग तथा बाल–बालिकाको पेट÷कलेजो रोग विशेषज्ञ
नर्भिक इन्टरनेशनल हस्पिटल

पेट दुख्ने, झाडापखाला लागिरहने, वाकवाकी लाग्ने र वान्ता गर्ने समस्या आम बालबालिकामा विद्यमान बहु प्रचलित समस्या रहिआएको छ । ती मध्ये पनि पेट दुख्ने समस्या धेरै बालबालिका विशेषतः ३ वर्षदेखि १५ वर्ष उमेर समूहमा देखिने एकदमै प्रचलित र विकराल समस्या नै हो । यदि बालबालिकामा पेट दुख्ने समस्या दैनिक तीनपटक भन्दा बढी देखा पर्छ, उक्त समस्या लामो समयसम्म अर्थात् तीन महिनासम्म पनि लगातार देखा पर्छ र बिरामीको दैनिक क्रियाकलापमा समेत त्यसले प्रभाव पार्छ भने त्यस अवस्थामा बालरोग विशेषज्ञ अझ भनौ बालबालिकाको पेटरोग विशेषज्ञद्वारा केही निश्चित तर विस्तृत जाँचहरू गराइनु नितान्त आवश्यक हुन्छ ।
बाल–बालिकाको पेट दुख्ने समस्यालाई मुख्यतया दुई वर्गमा विभाजित गर्न सकिन्छ । ती हुन् रोगीको शरीरको जैविक (शरीरमै खराबी जस्तो कि शारीरिक वा मानसिक विकृति) र शरीरको कुनै निश्चित अङ्गमा खराबी भएर हुनसक्ने कार्यात्मक गडबडी । हाम्रो जस्तो विकासशील वा अल्प विकसित देशका बालबालिकाहरुमा तिनको शरीरको जैविक क्षमतामै समस्या भई पेट दुख्ने कारणले पीडित हुने गरेको पाइन्छ ।
हाम्रो परिप्रेक्ष्यमा बालबालिकाको पेट दुख्ने समस्या बढी मात्रामा स्कूले नानीहरूमा पाइन्छ । त्यसको प्रमुख कारण भनेको तिनमा विद्यमान कब्जियत वा दिसा समयमा नहुने÷दिसा खलास नहुने समस्या नै हो । त्यसतर्फ अभिभावकहरू त्यति चनाखो नहुनु वा ती साना–तिना समस्या हुन् भनी तिनको बेवास्ता गरिनु पनि अर्को कारण
हो । यी सब हुनुका पछाडि बालबालिकाहरूले दिसा गर्दा पेट खलास पार्नेतर्फ ध्यान नदिनु÷नचाहनु वा तिनले तिनका स्कूलमा भएका चर्पी (ट्वाइलेट) हरूको प्रयोग गर्न नचाहनु पनि हो । त्यसप्रकार बाल–बालिकाको दिसा गर्ने बानी (व्यवहार) मा अपेक्षाकृत नकारात्मक प्रभाव पर्न थाल्दछ, जुन तिनका अभिभावकहरूलाई भनिएको हुँदैन, वा बालबालिकाको दिसा गर्ने बानीप्रति अभिभावकहरू ज्यादातररुपमा अनभिज्ञ नै रहन्छन् ।
यस्ता सानातिना समस्याका कारण निम्तिने पेट दुख्ने समस्याका लागि बालबालिकाहरूले अनगिन्ती अनावश्यक जाँच पड्तालहरूको अर्थात् प्रयोगशाला परीक्षणको झण्झट र व्ययभार व्यहोर्नु पर्ने हुन्छ । जब कि त्यसखाले साना–तिना समस्या बाल–बालिकामा विद्यमान सामान्य आनीबानीमा सुधार ल्याएर तथा त्यस्ता सामान्य औषधीहरूको प्रयोग, जसले तिनको दिसा नरम पारी सजिलै पेट खलास पार्ने गर्दा पेट दुख्ने समस्या पनि कम भएर जानसक्छ । त्यसका साथै बालबालिकालाई उचित तरिकाबाट चर्पीको प्रयोग गर्ने सम्बन्धमा दिइने सामान्य तालिमले समस्या न्यूनीकरण गर्न मद्दत पुग्दछ ।
बालबालिकामा पेट दुख्ने माथिका कारणहरू बाहेक हानीकारक जीवाणुहरूको सङ्क्रमणका कारण समेत पेट दुख्ने जटिल समस्या आइपर्ने गरेको पाइएको छ । हाम्राजस्तो अल्प विकसित वा अविकसित मुलुकमा वातावरणीय प्रदूषण लगायत सङ्क्रमित वा खराब गुणस्तरको पिउने पानीका कारण समेत जीवाणुहरूको सङ्क्रमण व्यापकरुपमा पाइन्छ ।
हाम्रो परिप्रेक्ष्यमा भन्नुपर्दा “जियार्डिया लाम्बिया” नामक जीवाणु (जुन मानिसको आन्द्रामा अत्यधिक फैलिने सूक्ष्म परजीवी हो) ले अत्यधिक रुपमा वयष्कका साथ साथै बाल–बालिकाहरूलाई समस्यामा पारिरहेको हुन्छ ।
धेरैजसो बालबालिकाको आन्द्रामा ती सुक्ष्म जीवाणुको सङ्क्रमण रहेको लक्षण नै नदेखिने भएता पनि त्यसखाले जीवाणुको आन्द्रामा हुने वृद्धि (वा अण्डाबाट लार्भामा परिणत हुने चरण) का कारण सङ्क्रमणका थप जटिलता आइपर्न सक्छन् । सङ्क्रमकाका कारण पेट दुख्नुको अतिरिक्त बाल–बालिकालाई झाडापखाला लाग्ने, वाक्वाकी लाग्ने र वान्ता पनि हुने, पेट फुल्ने, रक्त अल्पता हुने र शारीरिक तौल घट्ने जस्ता समस्याहरू समेत आइपर्न सक्छन् ।
त्यस्ता जीवाणुका सङ्क्रमण सामान्यतया वातावरणीय स्वच्छता, सर–सफाइ एवम् शारीरिक सर–सफाईमा ध्यान दिँदै खाना खानुअघि र दिसा गरेपछि नियमितरुपमा साबुन पानीले हात धुने, सफा र स्वस्थकर खाना मात्रै खाने बानी गर्ने, बजारका तरकारी वा फलफूलहरू अत्यन्तै सावधानीपूर्वक राम्रोसँग पखालेर मात्रै खाने बानी गर्दा कम भएर जाने निश्चित हुन्छ । यद्यपि सङ्क्रमण निर्मूल पार्न उचित औषधिको उचित मात्रा अनिवार्यरुपमा सेवन गराउनुपर्ने अपरिहार्यता नै हुन्छ ।
बालबालिकामा अत्यधिकरुपमा हुने पेट दुखाइको अर्को कारण भने तिनको पेटमा (अर्थात् आन्द्रामा) हुने हेलिको व्याक्टेरिया (एच पाइलोरी) को सङ्क्रमण नै हो । त्यसखाले ब्याक्टेरियाको सङ्क्रमण हुँदा कुनै कुनै बाल–बालिकाको पेटमा ÷ आन्द्रामा घाउ (अल्सर) हुने र रक्तश्राव हुने जोखिम समेत आइपर्न सक्छ । कहिलेकाहिँ पेट दुखाइ यति असह्य हुन्छ कि बच्चा राति निन्द्राबाट ब्युझिन्छ र रोइ–कराई समेत गर्नसक्छ ।
बालबालिकामा एच. पाइलोरी नामक ब्याक्टेरिया रहे नरहेको यकिन गर्न चिकित्सकले उसको पेटको इण्डोस्कोपी र बायोप्सी परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । कोही कोही अभिभावकहरू आफ्ना बाल–बालिकाको इण्डोस्कोपी गराउन डराउने वा त्यो प्रक्रिया गर्न नचाहने पनि हुन्छन् । तर यो प्रक्रिया वयष्क बिरामीमा झैं बाल–बालिकामा पनि सरल र सुरक्षित नै मानिन्छ । यदि बायोप्सी परीक्षणमा एच पाइलोरी संक्रमण भएको निश्चित भएमा बिरामीलाई निश्चित डोजमा एन्टिबायोटिक्स ख्वाएर सङ्क्रमणको उपचार गरिन्छ ।
माथि उल्लेख गरिएका सामान्य कारणहरू बाहेक बालबालिकाको पेट दुख्ने अन्य कारणहरूमा मूत्र प्रणालीमा हुने सङ्क्रमण, अग्नाशयको सुजन (प्यान्क्रियाटाइटिस्) बिरामीको पाचन प्रणलाीले गहुँजन्य खाद्य पदार्थप्रति देखाउने असहिष्णुता (गहुँको एलर्जी), पित्तथैलीको सङ्क्रमण वा समस्या, पेटको दीर्घकालिन रोग (आई.वी.डी.) ल्याक्टोज एलर्जी र पेट तथा आन्द्राका क्षयरोग आदि हुन सक्छन् ।
माथिका कारणहरू बाहेक पनि बालबालिकामा पेट दुख्ने समस्या निम्त्याउने अन्य थप कारणहरू विद्यमान छन् । ती कारणहरू मध्ये पनि बालबालिकामा विद्यमान तनाव वा चिन्ता मुख्य हुन् । तनाव वा चिन्ताका कारण पेट दुख्नुका अतिरिक्त बालबालिकामा टाउको दुखिरहने, रिङ्गटा लाग्ने वा झुम्म पारिरहने, वाकवाकी लाग्ने जस्ता समस्या परिरहन्छन् ।
ती बालबालिकाको तनाव वा चिन्ताको पारिवारीक इतिहास हुनसक्ने कारण नै तिनीहरू तत्सम्बन्धित समस्याबाट पीडित हुने सम्भावना रहन्छ । यी कारणले हुने पेट दुखाईको प्रकृति पनि शारीरिक वा जैविक कारणले हुने पेट दुखाईकै जस्तो हुने पाइएको छ ।
पेट दुखाइकै कारण बालबालिका यदि निन्द्राबाट ब्युझिन्छन्, दुखाईका साथ साथै बारम्बार वान्ता पनि भइरहन्छ, बिरामीमा ज्वरो छ, बिरामीको शारीरिक तौल घटेको छ, खानामा रुचि छैन, बिरामीको परिवारमा पेप्टिक अल्सरको इतिहास छ वा बिरामीलाई गहुँजन्य खाद्य पदार्थको एलर्जी छ र मलद्वार÷मलाशयबाट रक्तश्राव पनि भइरहेको छ भने चिकित्सकले निज बिरामीलाई तत्कालै ध्यान दिई उचित निदानात्मक उपचारतर्फ लाग्नु अति नै आवश्यक हुन्छ ।
उपयुक्त उपचारका लागि बिरामी अर्थात् बालबालिकालाई सम्भाव्य सबै जोखिमका कारकहरूप्रति चनाखो भई निदानात्मक उपचार सुरु गरिहाल्नुपर्छ किनकि दुखाइका कारणहरू धेरै हुनसक्छन् र बच्चैपिच्छे फरक फरक पनि हुनसक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here