सबै धर्मका अनुयायीहरुको सामिप्यता र सहकार्यबाट शान्ति र मित्रता कायम गराउन सकिन्छ भन्ने मान्नेता राख्ने अन्तराष्ट्रिय संस्था धर्म शान्तिको नेपाल च्याप्टरकी अध्यक्ष हुन इन्दिरा मानन्धर । इमेज ग्रुप अफ कम्पनीकी सह अध्यक्ष समेत रहेकी उनी विगत २५ वर्ष देखि धर्म शान्ति नेपालको अध्यक्ष भूमिकामा रहँदै आएकी छिन् । सन १९६५ मा अर्थशास्त्र तथा १९७१ मा प्राचिन इतिहास र संस्कृति विषयमा स्नाकोत्तर तह उत्रिण गरेकी उनीसँग लामो समयसम्म योजना आयोगको मातहतमा रहेर काम गरेको अनुभव पनि छ । महिला सहकारीको प्रमोटर हुँदै प्रमुखसम्म बनेकी उनी धर्मको माध्यमबाट शान्ति स्थापना गर्नसकिन्छ भन्ने सन्देश सहित आयोजना भएका विश्व सम्मेलन तथा एशियन सम्मेलनमा पटक पटक सहभागीता जनाउँदै आएकी छिन् । जिम्मेवारीका हिसाबले उनी एउटा ठूलो व्यापारिक घरानाकी उप–प्रमुख हुन् । तर सक्रियताका हिसाबले उनी व्यापारिक क्षेत्रमा भन्दा बढी सामाजिक क्षेत्रमा बढी सक्रिय छिन् । अर्थशास्त्रकी जानकार भएकाले बेला बेलामा आफ्नो व्यापारमा पनि सघाउने गरेकी छिन् ।
सन १९४४ मा काठमाडौमा जन्मिएकी इन्दिरा सानै देखि आफूले लिएको लक्ष्य पुरा गरेरै छाड्ने स्वभावकी थिइन । उनका बाबु रामभक्त मानन्धर त्यतिबेलाका नामी प्रोफेसर थिए । जसले गर्दा उनले स्कुलमै नगई घरमै अध्ययन गरेर उच्च शिक्षा प्राप्त गर्ने अवसर पाइन । तथापि तत्कालिन समाजमा छोरीहरुलाई पढाउनु हुदैन भन्ने मान्यताका कारण उनलाई पनि सहज भने थिएन । त्यसलाई चुनौति दिदै उनले डबल डिग्री प्राप्त गरेपश्चात लामो समयसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरिन । वि.सं. २०२८ शालमा मात्र उनले इमेज ग्रुप अफ कम्पनीका अध्यक्ष आरके मानन्धरसँग विवाह गरिन । त्यसपछिको उनको जीवनमा सामाजिकसँगै व्यापारीक जिम्मेवारी पनि थपियो । लामो समयदेखि महिला स्वरोजगारी लगायतका विभिन्न सामाजिक कार्यहरुमा सक्रिय सहभागिता जनाउँदै आएकी इन्दिराले सन २००४ मा प्राणघातक रोग क्यान्सरको सामना गर्नुप¥यो । स्तन क्यान्सरको चपेटामा परेकी उनलाई सुरुमा जीवन नै भयो जस्तो लाग्यो । तर सुरु देखिनै जिद्दि स्वभावकी उनलाई क्यान्सरले पनि पराजित गर्न सकेन । अर्थात प्राण घातक रोग लागेपनि उनले कहिल्यै आत्मविश्वास गुमाइनन् । आफ्नो आत्मविश्वासलाई यथावत राख्दै उनले थाइल्याण्डको बैंकक गएर क्यान्सरको उपचार गराईन् । जसले गर्दा उनको रोग पूर्ण रुपमले निको भयो । क्यान्सरको उपचार गरेको पनि १२ वर्ष पुगिसेको छ । हाल उनी पहिले जस्तै स्वस्थ जीवन बिताइरहेकी छिन् ।
इन्दिरासँग क्यान्सकार विषयमा कुरा गर्दा उनका आँखामा आँसु टिलपिलाईरहेको थियो । उनले आफ्नो अनुभव सुनाउँदै भनिन, ‘मसँग आत्मविश्वास त थियो, तर छोरा छोरीहरु सानै उमेरका थिए, त्यसैले उनीहरुको चिन्ताले निक्कै सताउँथ्यो । तथापि मैले आफ्नो आत्मविश्वासलाई कमजोर हुन दिइन, साथै परिवार र साथीभसंगीको सहयोग तथा समयमै उपचार हुन सकेकाले पनि क्यान्सरलाई पराजित गर्न सकेकी हुँ ।’ क्यान्सर जस्तो प्राणघातक रोगलाई पनि पराजित गरेकी इन्दिराको पछिल्ला केही वर्ष यता धेरै जसो समय क्यान्सर रोगीहरुको आत्मविश्वास जगाउने, क्यान्सर सम्बन्धी जनचेतना जगाउने तथा उनीहरुलाई सहयोग गर्नमै बित्ने गरेको छ । त्यति मात्र होइन अहिले त चिकित्सकहरुले समेत इन्दिरासँग परामर्स गर्ने तथा बिरामीहरुलाई कसरी निको बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने गर्छन् । हाल उनी क्यान्स सोसाईटीको उपप्रमुख समेत रहेकी छिन् ।
इन्दिरा क्यान्सर रोग जो कोहीलाई पनि लाग्न सक्ने र समयमै उपचार गरेमा निको हुने भएकाले स्वस्थ मानिसले पनि बेला बेलामा स्वास्थ्य जाँच गर्नुपर्ने सुझाव दिन्छिन् । कुनै पनि रोगसँग लड्नका लागि आत्मविश्वास सबैभन्दा ठूलो औषधी भएकाले क्यान्सरका बिरामीहरुले पनि आत्मविश्वास गुमाउन नहुने उनको तर्क छ । साथै समयमै उपचार गरेमा निको हुने भएकाले धेरै चिन्ता गर्न नहुने उनको तर्क छ । नेपालमा विशेषगरी महिलाहरुमा रोग लुकाउने प्रचलनका कारण क्यान्सर हुँदा समेत समयमै उपचार हुन नसकेकाले यसको जोखिम थप बढेको इन्जिराको भनाई छ । आफूलाई लागेको रोगका बारेमा परिवार वा साथीभाईलाई जानकारी गराएर समयमै उपचार गराएमा आफू जस्तै अन्य बिरामीहरु पनि निको हुन उनको तर्क छ । ७३ वर्षको उमेरमा पनि व्यापारसँगै सामाजिक कार्यमा उत्साह जनक सक्रियता देखाउँदै आएकी उनले धर्मको माध्यमबाट समाजमा सदभाव तथा शान्ति स्थापनाका लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छिन् ।


















