काठमाडौं / आज गुरुङ्ग जातिको नयाँ वर्ष तमु ल्होसार हो । तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । यो पुस महिनाको १५ गते पर्छ । काठमाडौंको टुँडिखेलमा आज परम्परागत पहिरनमा तमु समूदायका व्यक्तिहरुलाई हर्षोल्लासपूर्णरुपमा उपस्थित भएको देख्न सकिन्छ ।
गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ ।
चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । यि जनावरहरुमा मुसा, गोरु, गाई, खरायो, चील, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकर, मृग र सुंगुरहरु पर्दछन् ।
नयाँ बर्षको स्वागत गर्दै यस समूदायले आज विशेष हर्षका साथ आफ्नो पारम्परीक नयाँ वर्षलाई स्वागत गर्दैछन् । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ुनयाँ वर्ष आयोु भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् ।
अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरू संग रमाइलो गर्छन् । गुरूङ जातिहरूको महान चाड भएकोले प्रधानमन्त्री र अन्य ठुला व्यक्तित्वद्वारापनि ल्होसारको शुभकामना आदन प्रदान गरिन्छ ।
गुरुङ जाति देशको विभिन्न ठाउँमा छरिएर बसेका छन् जस्तै- कास्की, गोरखा, लमजुङ, तनहुँ, चितवन, दैलेख, बाँके, सुर्खेत, मनाङ, रुम्जाटार, खोटाङ काठमाडौं आदि । नेपाल बाहेक विश्वका विभिन्न देशहरू जस्तै-बेलायत, अस्ट्रेलिया, हङकङ, बुर्नाई, जर्मनी, भारत आदि देशहरूमा पनि गुरूङ जातिको बसोवास रहेको छ । देश विदेश विभिन्न ठाउँमा भएका गुरुङ जातिले पुस १५ मा तमु ल्होसार भव्यताका साथ मनाउने गर्दछन् ।


















