मारवाडी घरानाका राजेन्द्र र सारिका एकले अर्काप्रति गर्व गर्छन्

161

राजेन्द्र खेतान र सारिका नेपाली मारवाडी व्यवसायी उच्च घरानाका दम्पती हुन् । यी दुई जना विवाह बन्धनमा बाँधिएको २५ वर्ष पूरा भएको छ । एकले अर्कालाई अत्यन्त सहयोगीका रुपमा लिने गर्दछन् राजेन्द्र र सारिका । प्रतिष्ठित उद्यमी मोहनगोपाल खेतानका जेष्ठ सुपुत्र राजेन्द्र र नूनकरणकी सुपुत्री सारिकाबीचको सम्बन्ध मोहनगोपाल खेतानकै प्रयासमा भएको हो । नेपाली मारवाडी उद्यमीहरुमा मोहनगोपाल खेतानको स्थान निकै सम्मानित रहेको छ । समाज सेवामा विशेष योगदान पु¥याएका खेतानले आफ्नो व्यवसायको उत्तराधिकारीका रुपमा छोरा राजेन्द्र खेतानलाई विशेष रुपमा प्रशिक्षण दिएका कारण राजेन्द्र आफ्नो कार्यक्षेत्रमा सफल मानिन्छन् ।
राजेन्द्र र सारिका विवाह हुनुभन्दा एक आपसमा अपरिचित थिए । दुवैका अभिभावकमार्फत परिचय भएपछि विवाह बन्धनमा बाँधिन पुगेका यी दम्पतीलाई विवाह भएको पच्चीस वर्ष पार गरिसक्दा पनि भर्खरै विवाह भएको जस्तो महसुस हुने दुवैको भनाइ छ । पारिवारिक पहलमा परिचय भएपछि विवाहको लगन जुर्न चार महिना लागेको थियो । यो चार महिनाबीचको समय राजेन्द्र र सारिकाले एकअर्कालाई नजिकबाट चिन्न सक्ने समय बन्न पुग्यो । यही चार महिना यो दम्पतीलाई प्रेमीप्रेमिकाको रुपमा नजिकिने समय बन्न पुग्यो । कहिले रेष्टुरेन्टतिर त कहिले लामो दूरीको ड्राइभिङ डेटिङमा रमाउने गरेको सम्झना आज पनि यी दुवैलाई ताजा लाग्दछ । यो चार महिनाको अवधि एकले अर्कालाई नजिकबाट बुझ्ने महत्वपूर्ण अवसरका रुपमा रहेको राजेन्द्रको बुझाइ छ । राजेन्द्र भन्छन्, ‘लामो जिन्दगीको सहयात्री बन्नका निम्ति एकले अर्काको रुचि, स्वभाव र व्यवहार बुझ्न आवश्यक हुने भएकाले परिचय पछिको चार महिनाको यो महत्वपूर्ण समय हाम्रो लागि निकै लाभप्रद रह्यो ।’
विवाह बन्धनमा बाँधिने सहमति भएपछि राजेन्द्र आफ्नो विवाहको पोशाक सिलाउन कलकत्तातिर लागे भने सारिका मुम्बईतिर लागिन् । राजेन्द्रले सेरवानी र साफर सिलाए भने सारिकाले मुम्बई पुगेर घाँघर सिलाइन् । विवाहअघि पारिवारिक जमघटहरुमा राजेन्द्र र सारिकाको भेटघाट भइरहन्थ्यो । विवाहभन्दा अगाडिदेखि नै राजेन्द्र र सारिकाको घरमा विशेष चहलपहल सुरु भइरहेको थियो । राजेन्द्रको घरमा जेठी बुहारीका रुपमा सारिकालाई भित्र्याउने तयारीमा विशेष रौनक थियो । राजेन्द्र भन्छन् ‘मेरो परिवारमा २३ वर्षपछि केटाको विवाह हुन लागेकोले पनि अलि बढी चहलपहल थियो ।’
विवाह भइसकेपछिको अनुभव स्मरण गर्दै राजेन्द्र र सारिका दुवैले एकअर्कालाई बुझ्न ६ महिना लागेको जानकारी गराए । राजेन्द्र र सारिकाको बीचमा ३ वर्षको मात्र उमेरमा फरक छ । राजेन्द्रले सारिकालाई अझै पनि अपरिपक्व ठान्छन् भने आफू परिपक्व भएको दाबी गर्छन् । राजेन्द्र आफू शाकाहारी भोजन गर्ने र मदिराजन्य पदार्थ सेवन नगर्ने भएकाले पनि साथीहरुसँगको जमघटमा नजाने गरेको सुनाउँछन् । सारिकाको व्यवहारबारे राजेन्द्रले आधुनिक जीवनशैलीमा हुर्केर पनि घरलाई राम्रोसँग चलाउन सक्षम ठान्दछन् । सारिका जस्ती जीवनसंगिनी पाएकोमा राजेन्द्र गर्व महसुस गर्छन् । त्यसैगरी सारिका पनि राजेन्द्रप्रति निकै खुशी छिन् । व्यवसायमा व्यस्त भए पनि समय निकालेर परिवारको खुशीतर्पm राजेन्द्रको ध्यान हुने गरेकोमा सारिकालाई ज्यादै खुशी लाग्दछ । सारिका भन्छिन्, ‘दाम्पत्य जीवनमा एकले अर्कालाई बुझ्न जरुरी हुन्छ, त्यो गुण भएको पति मैले पाएकी छु ।’
खेतान समूह नेपालकै चर्चित र प्रतिष्ठित व्यापारिक घराना हो । हुन त राजेन्द्र आफ्ना पिता मोहनगोपाल खेतान जत्तिको जनसम्पर्कमा रहन रुचाउँदैनन् भन्ने कुरा उनका पिताको निधनपछि उनका क्रियाकलापबाटै बुझ्न सकिन्छ । पिता मोहन खेतानको निधनपछि व्यावसायिक जिम्मेवारी बहन गर्दै आएका राजेन्द्रलाई सारिकाले पनि व्यवसायमा सघाउन थालेकी छिन् । कुनै पनि काममा दुवैबीच सरसल्लाह गरेर अगाडि बढ्ने यो दम्पतीले आपसी समझदारीका निम्ति हरेक कामबारे संवाद आवश्यक हुने ठान्दछ ।
सारिकालाई राजेन्द्रको स्वभाव स्ट्रेट फरवार्ड लाग्दछ । राजेन्द्र रमाइलो गर्न रुचाउने व्यक्तिका रुपमा सारिकाले चिनेकी छिन् । राजेन्द्रको समय तालिका मिलाउने कलाबाट सारिका निकै प्रभावित भएको कुरा उनी सगर्व सुनाउंछिन् । छोरीहरुको विषयमा कहिलेकाँही पतिपत्नीबीच झगडा पनि हुने गरेको सारिकाको अनुभव छ । राजेन्द्रलाई टिसर्ट, कालो पाइन्ट र कोटमा सजिएको देख्दा सारिकालाई निकै राम्रो लाग्छ । त्यसैगरी राजेन्द्रले सारिकालाई कलरफुल पहिरनमा सजिएको देख्न पाउँदा आफू प्रफुल्लित हुने र सारिकाको पहिरनअनुसार उनको मुड बुझ्न सजिलो हुने दाबी गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here