राष्ट्रको इतिहासलाई बेवारिसे बन्न दिनुहुन्न

197

अजेयराज सुमार्गी
अक्ष्यक्ष
थाहा अध्ययन प्रतिष्ठान
हालै मात्र थाहा अध्ययन प्रतिष्ठानको अगुवाइमा एक नेपाली प्रतिनिधिमण्डलले माघ ६ देखि ९ गतेसम्म भारतको उत्तराखण्डस्थित ऐतिहासिक नालापानी किल्लाको अवलोकन भ्रमण सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष अजेयराज सुमार्गीको नेतृत्वमा गएको उक्त टोलीमा नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायर, नेकपा एमालेका कर्णबहादुर थापा र नेकपा माओवादी केन्द्रका नेताद्वय लीलामणि पोखरेल र शशि श्रेष्ठ तथा अन्य व्यवसायी तथा पत्रकार गरी १५ जना सहभागी थिए । भ्रमणमा नयाँ दिल्लीबाट भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय र भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले समेत भाग लिएका थिए ।
भ्रमणपश्चात् सुमार्गीसँगको कुराकानीमा ‘वर्तमान समयमा किन इतिहासको उत्खनन आवश्यक छ ?’ भन्ने प्रश्नमा उनले यो अभियान इतिहासको वास्तविक खोजका लागि भएको बताए । ‘वीरताको इतिहास पाठ्यपुस्तकबाट किन हटाइयो ?,’ सुमार्गीले भने, ‘अब त्यो सच्याउनुपर्छ ।’ यो अभियानको उद्देश्य नयाँ पुस्तालाई वीरताको इतिहास बोध गराउनु रहेको सुमार्गीको भनाइ थियो । यो अभियान इतिहासको सही खोजका लागि भएको उल्लेख गर्दै सुमार्गीले नेपालको वीरताको इतिहासको अब खोज्ने र नयाँ पुस्तालाई त्यसबारे यथार्थबोध गराउने योजना सुनाए । सुमार्गीले प्रश्न गरे, ‘२०० वर्षअघि नेपाल साम्राज्यविरुद्ध लडेको थियो । हामीले स्वाभिमान कामय गरेका थियौं । अहिले पार्टी पार्टीको नाममा किन झगडा ?’
उनी भन्छन्, ‘नेपालमा अहिलेसम्म दर्जनौं प्रधानमन्त्री परिवर्तन भइसके । तर मुलुकको अवस्था जहाँको तहीँ नै छ । मुलुकमा प्रधानमन्त्री मात्र परिवर्तन हुने तर एउटाले ल्याएको योजनाको कार्यान्वयन अर्कोले नगर्ने परिपाटीले यसरी कहिलेसम्म चल्ला देश ? कसरी देश अघि जाला ? यो प्रश्नलाई वीर बलभद्र कुवँरको प्रसङ्गसँग जोडेर हेरौं न ।
उनले भने, ‘भीमसेन थापा, बलभद कँुवर, अमरसिंह थापालगायत वीरहरुको कारण अहिले हामी वीर गोर्खालीको रुपमा पहिचान बनाउन सकेका हौं । नेपाल अंग्रेज युद्धको २४ वर्षको इतिहासकै कारण हामी अरु पहिचान बनाउन नसके पनि संसारमा वीर गोर्खे लाहुरे भएर बिक्न सक्ने भयौँ । त्यस बेला हामीले पुरुषार्थ देखाएका थियौं । वीरताको पुरुषार्थ । त्यसैकारण उनीहरुमा नेपालीहरुसँग लड्ने होइन, लड्न सकिँदो रहेनछ, नेपालीहरुलाई किनेर आफ्नो बनाउन पाउन पाए हुन्थ्यो भन्ने भाव विकास भयो । नेपालीहरुलाई आफ्नै पक्षमा लिएर यिनीहरुलाई आफैं भित्र लडाउन पाए हुन्थ्यो भन्ने सोच उनीहरुमा आयो ।’
सुमार्गीका अनुसार त्यस समयदेखि नेपालको अधोगति सुरु भयो, ‘त्यस समयमा नेपाली फौजलाई आफ्नो पक्षमा ल्याउन सकिने सहज र सरल माध्यम थियो सम्झौता । यसैकारण नेपाल र अंग्रेज बीच सन् १८२२ मा सुगौली सन्धी भयो । त्यहाँबाट नेपालको अधोगति शुरु भएको हो । त्यस समय देखि नेपाल प्रगति पथमा अघि बढ्न सकेन ।’
सुमार्गीलाई लाग्छ कि यहाँका जनताहरु शोषित भएका छन्, थिचिएका छन् । यो कुरा सबैलाई थाहा छ । तर थाहा हुँदाहुँदै पनि कसैले पनि मुख खोल्दैनन् । त्यसको एउटै कारण छ, त्यो के भने भारतको विरोध गर्ने हो भने अर्को पटक आफ्नो पक्षमा राज्य सत्ता नआउला भन्ने डर । यस्तो अवस्था रहेको कारण हामी निकै विडम्बनापूर्वक बाँचिरहेका छौं ।
यस्तो अवस्थाबाट अब मुक्ति र समृद्धितर्फ लाग्न के गर्नुपर्ला त ? सुमार्गी भन्छन्, ‘अहिलेको यस्तो कठिन परिस्थितिमा कतै हाम्रो मुलुक चिराचिरा त पर्ने होइन भन्ने सम्बन्धमा हामी सबैजना डराइ रहेका छौं । तर यसलाई रोक्नको निम्ति प्रतिरोध कसरी गर्ने ? संरक्षणको दियो कसरी बाल्ने ? संरक्षणको प्रकाश कसरी छर्ने ? भन्ने बारेमा स्पष्ट मार्ग भेटिएको छैन । यद्यपि सानो कोसिस गरौं न, भन्ने किसिमले मेरा बच्चाहरु, हाम्रा बच्चाहरु, अर्थात् विद्यालयका विद्यार्थीहरुलाई मेची महाकालीबाट एउटा यात्राको रुपमा कम्तीमा १ पटक देहरादुन जानैपर्ने र त्यो वीरताको गाथालाई आफैंले अनुभूति गर्न सक्ने वातावरण मिलाउन हो भने आगामी दिनमा नेपाललाई कति सुन्दर बनाउन सकिएला ? फरक विचारको होनहार र कर्तव्यपरायण वीर योद्धा नेपालमा फेरि पनि जन्माउन सकिएला कि ? यो कुरा देशले बुझ्नुपर्छ कि पर्दैन ?
अहिले नेपालका जनतामा फुटको राजनीति गर्नेहरु हावी हुँदै गएको बताउँदै सुमार्गी जनतामा फेरि राष्ट्रियता एकता जगाउन इतिहासको बोध गराउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘हावाको दोष हो कि ? पानीको दोष पो हो कि ? घामको दोष पो हो कि ? यदि बलभद्रले तापेको हावा, पानी र घाम साथै हामीले पाएको हावा, पानी र घाम त्यही एउटै हो भने अहिले हामीमा आत्मा उत्सर्ग गर्ने हिम्मत किन आइरहेको छैन ? त्यही निष्क्रिय रहेकोे हिम्मत जगाउनको निम्ति हामीले सामाजिक रुपमा यस्तो सञ्जाल खडा गर्नुप¥यो, त्यो सञ्जालले वीर बलभद्र कुवँरले अंग्रेजसँग लडेर वीरताको गाथा लेखाउन सफल भएका छन्, (शत्रु पक्षबाट शिलालेख गर्न सफल भएको ठाऊँ खलङ्गा) हो, त्यही खलङ्गा किल्लामा हरेक विद्यालयका विद्यार्थीहरुलाई १ पटक कम्तीमा १५ दिनको यात्राको प्याकेजमा देहरादुन अनि दुकिल्लामा पु¥याउनैपर्ने वातावरण बनाउने कामको शुरुवात गरौं न । आखिर कसले रोक्ला र ?
सुमार्गी नेतृत्वको टोली नालापानीमा पुग्दा त्यहाँ बलभद्रकालीन किल्लाको कुनै नाम निसाना नै थिएन । उनले भने, ‘तैपनि अबका दिनमा अभियान सुरु गरौं न त । केही आधारहरुलाई लिएर त्यहाँ एउटा किल्ला बनाऔं । निकै ठूलो महत्व बोकेको यो इतिहास अहिले किन बेवारिसे छ । यसलाई बेबारिसे बन्न दिनुहुँदैन ।’
हाम्रो वीरताको इतिहासलाई पुनः विश्वव्यापीकरण गर्न र सम्पूर्ण नेपालीहरुमा राष्ट्रप्रति स्वाभिमान जागृत गर्न पनि हाम्रो इतिहासलाई बेवारिसे बन्न दिन नहुने सुमार्गीको विचार छ । त्यसका लागि उनले वीर बलभद्र कुँवरको स्मृतिमा नालापानीमा स्तम्भ निर्माण गर्नुपर्ने अभियान थालेका छन् । उनी भन्छन्, ‘यसमा जिम्मेवारी नेपाल सरकारको मात्र छैन । बलभद्र कुँवरले अफगानिस्तानबाट पनि युद्ध लडेका कारणले हामीले अफगानिस्तानसँग पनि कुरा गर्नुपर्छ । नेपाल र अफगानिस्तानबीचको सम्बन्ध जुन छ, त्यस सम्बन्धको आधारमा बलभद्र कुवँरको अन्त्य भएको ठाउँमा पनि स्तम्भ खडा गरौं । आधुनिक हतियारको अगाडि खुकुरीबाट भएको युद्धलाई नभुलौं । इतिहास नबिर्सौं । इतिहासलाई अघि बढाउनको निम्ति हामीले नेपालमा पनि कोर टिम बनाउँनेछौं । देहरादुनमा पनि यसबारे छलफल गरेका छौं । समिति बनाउने काम अघि बढाएका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here