काठमाडौं ÷ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको सिनामंगलस्थित सञ्चारग्राममा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारकर्मीहरूलाई स्थानीय तहको निर्वाचन सफल तुल्याउन सहयोगको लागि अनुरोध गर्नुभएको छ । निर्वाचनका लागि मिडियाले उपयुक्त वातावरण बनाउन आग्रह गर्दै गणतन्त्र सुदृढ र संस्थागत नभएसम्म खतराहरू ल्याउनेतर्फ ठूलो तप्का लागेकोले त्यसलाई असफल तुल्याउन निर्वाचन अपरिहार्य भएकोमा जोड दिंदै प्रधानमन्त्रीले सञ्चारमाध्यमहरूको सहयोगबाट यो कुरा सम्भव हुने विश्वास व्यक्त गर्नुभयो ।
दिवंगत तथा संघर्षशील पत्रकारको स्मृति र सम्मानमा प्रेस काउन्सिल नेपालले निर्माण गरेको कापी–कलम अंकित पत्रकार स्तम्भको अनावरणपछि बोल्नुहुँदै प्रम प्रचण्डले १९ वर्षदेखि स्थानीय निकायमा निर्वाचन नहुँदा अनेकन विकृति र विसंगतिहरू मौलाएको, चुनौतीका बीच सरकारले स्थानीय निर्वाचनको घोषणा गरेको र गणतन्त्रको अनुभूति गर्नेगरी प्रतिफल दिन सक्ने अवस्थाको निम्ति चुनाव हुनैपर्ने र यसबाट गणतन्त्रको उपलब्धि संस्थागत हुनेमा प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । संविधानको घोषणाले सिंहदरबारको अधिकार जनतासम्म पुगेको र युद्धदेखि जनआन्दोलनसम्म पत्रकारको उल्लेखनीय भूमिका रहेको स्मरण गराउँदै प्रेस स्वतन्त्रता, प्रेस नीतिनियमको निर्माणका साथै प्रोत्साहनको लागि सरकार गम्भीर रहेको र काउन्सिलको पछिल्लो विद्युतीय माध्यम अभिलेखीकरणलगायतका गतिविधिले विसंगतिविरुद्ध ठूलो सन्देश दिएको विचार उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बलिदानीको कदरस्वरूप निर्मित पत्रकार स्तम्भ अनावरण कार्यक्रममा सकारात्मक आलोचनाबाट समाजलाई पारदर्शी बनाउँदै जनता र राजनेतालाई दिशाबोध गर्नुपर्नेमा जोड दिनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्र्णबहादुर कार्कीले स्वस्थ र मर्यादित पत्रकारिताको विकासका लागि काउन्सिलले निरन्तर प्रोत्साहनका कार्यक्रममा जोड दिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले पनि आफ्ना विचार राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रेस काउन्सिल नेपालका सदस्य किशोर श्रेष्ठले गर्नुभएको थियो ।


















