राप्रपा एकता महाधिवेशनले दिएको सन्देश

245

राज्यलक्ष्मी शाक्य
राष्ट्रिय प्रजातान्त्रिक पार्टीको एकता महाधिवेशन काठमाडौंमा भएको छ । पार्टीको महाधिवेशनले अत्यधिक बहुमतका साथ कमल थापालाई अध्यक्ष पदमा चयन गरेको छ । त्यस्तै, अन्य केन्द्रीय सदस्यहरूको पनि चयन गरेको छ । केन्द्रीय सदस्यहरूमा केही कलाकार अनुहार पनि समावेश भएका छन् । कोमल ओली, रेखा थापा जस्त कलाकार राप्रपाको केन्द्रीय सदस्य बन्न सफल भएका छन् । महाधिवेशनमा पार्टीका नेताहरूले अब राप्रपा राजनीतिक पार्टीहरूको भीडमा तेस्रो पार्टी बन्ने दाबी गरेका थिए भने पार्टीको सिद्धान्त पनि सार्वजनिक गरिएको थियो । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको नीति अख्तियार गर्दै वैकल्पिक प्रजातान्त्रिक शक्तिका रूपमा आफूलाई दाबी गर्दै आएको राप्रपाले राजासहितको गणतन्त्रको पक्षमा आफूलाई उभ्याएको छ । त्यस्तै, हिन्दूराष्ट्रप्रति बढी झुकाव रहेको छ । एकता महाधिवेशनमा प्रमुख दलका शीर्ष नेताहरूले राप्रपाप्रति प्रकट गरेको शुभेच्छाले पनि राप्रपा शक्तिकेन्द्रमा स्थापित हुँदै गएको मनन गर्न सकिन्छ । नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको एक दशक बितिसक्दा पनि राप्रपाले अझै राजतन्त्र र हिन्दूराष्ट्र छोडेको छैन । संविधानमा नै देश संघीयतामा जाने, धर्मनिरपेक्ष राष्ट्रको रूपमा लेखिए पनि किन राप्रपा पार्टीप्रति जनमत बढ्दै छ त ? राजालाई सामन्तको प्रतीक मान्ने र आफूलाई गणतन्त्रका हिमायती सम्पूर्ण दलहरूले गम्भीर रूपमा सोच्नुपर्ने विषय बनेको छ ।
पछिल्लो समय प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका नेताहरूको कार्यशैली जनताले मन पराउन छोडेका छन् । नेपाल जस्तो स्रोतसाधन सम्पन्न राष्ट्र भएता पनि प्रमुख दलका नेताहरूकै अक्षमताका कारण मुलुकको विकास हुन नसकेको विषयमा जनमत बन्दै गएको छ । विशेष गरी दोस्रो जनआन्दोलनयता कांग्रेस, माओवादी र एमालेको नेतृत्वमा सरकार गठन भए पनि मुलुकको अवस्था जहाँको त्यहीँ रहनु, बाह्य हस्तक्षेप बढ्नु, भ्रष्टाचार, दण्डहीनताले प्रश्रय पाउनु र जनताले दैनिक थप कष्ट भोग्नुपर्ने अवस्था सिर्जना भएका कारण पनि प्रमुख दलहरूप्रति जनताको जुन विश्वास रहेको थियो, त्यो हराउँदै गएको छ । यता, पुरानै व्यवस्थालाई आत्मसात् गर्नुपर्ने नारा बोकेको राप्रपाले भने जनमत बटुल्न थालेको छ । प्रमुख दलहरूको कार्यशैलीप्रति प्रश्नचिह्न उठाउँदै जनताले दोस्रो जनआन्दोलनमा समानुपातिकतर्फ मत दिँदा राप्रपालाई प्राथमिकता दिनु यसको उदाहरण हो । त्यो समयमा ‘एक भोट दाइलाई, एक भोट गाईलाई’ भन्ने नाराकै रूपमा स्थापित भएको थियो । जनताकै सहानुभूतिका कारण आज राप्रपा व्यवस्थापिका संसदमा चौंथो पार्टीको रूपमा रहेको छ भने आगामी चुनावमा पनि तेस्रो पार्टी बन्ने दाबी गरिरहेको छ ।
राप्रपाको बढ्दो लोकप्रियताले प्रमुख दलहरूको अक्षमतालाई प्रष्ट पारिदिएको छ भने उनीहरूको कार्यशैलीमाथि पनि प्रश्नचिह्न खडा गरिएको छ । विशेषगरी विगत एक दशकयता दलहरूका नेताहरू आपसी स्वार्थमा अल्झिँदा मुलुकको स्वाभिमान, स्वाधीनता र सार्वभौमसत्ता नै खतरामा परेको छ । छिमेकी देश भारतको हस्तक्षेप दिनानुदिन बढिरहेको छ । यही विषयलाई नै जनताले प्रत्यक्ष रूपमा महसुस गरेका छन् । प्रमुख दलहरूले यसरी नै गल्ती गरिरहने हो भने अवश्य पनि जनताले उनीहरूलाई दण्डित गर्ने नै छन् । लोकतन्त्रमा जहिले पनि जनताको अभिमत सर्वोच्च रहने गर्दछ । आज नभए भोलि देश र जनताको भविष्यमाथि खेलबाड गर्ने जोकोहीले पनि जनताबाट दण्डित हुनुपर्दछ । त्यो आगामी निर्वाचनमा जनताले दिने मतबाट स्पष्ट हुनेछ । जसको प्रत्यक्ष फाइदा राप्रपा जस्ता पार्टीहरूले पाउने देखिन्छ । प्रमुख दलहरूलाई सर्वेसर्वा बनाउने जनता नै हुन्, यो कुरा उनीहरूले भुल्नु हुँदैन । तर, जनताले चाहे भने पुनः देशमा राजाप्रतिको सहानुभूति बढ्ने र भविष्यमा जुनसुकै अवस्था आउनसक्ने विषयलाई पनि प्रमुख दलका नेताहरूले नजरअन्दाज गर्नुहुन्न । शीर्ष नेताहरूले यस विषयमा गम्भीर ढंगले सोचेर बेलैमा नसच्चिए उनीहरूलाई ठूलो घाटा पुग्ने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here