चीनले बचाएको नेपालको राष्ट्रियता

121

–निमकान्त पाण्डे–
हाम्रो देश नेपाल यति बेला निर्णयात्मक मोडमा पुगेको छ । नेपाल स्वतन्त्र राष्ट्र रहने हो वा नरहने हो भन्ने गम्भीर खतराको स्थिति पैदा भएको छ । नेपालको अस्तित्व रहने हो वा नेपाल फिजी, भूटान वा सिक्किम जस्तै बन्ने हो भन्ने गम्भीर प्रश्न देशका अगाडि उपस्थित भएको छ । तराईको सप्तरी जिल्लामा घटेको पछिल्लो घटनाले नेपालको वास्तविक चित्र प्रदर्शन गरेको छ । नेपाललाई अस्थिर तुल्याउन चाहने बाहिरी शक्तिको चलखेल उत्कर्षमा पुगेको छ ।
हुन त नेपालको राष्ट्रियतामाथि छिमेकी मुलुक भारतले पटक–पटक गम्भीर अवस्था सृजना गराउँदै आएको छ । अहिले भारतको प्रयत्न निकै उत्कर्षमा पुगेको छ । आफ्नो प्रयासलाई निर्णयात्मक मोड दिने प्रयासमा भारतको वर्तमान सत्तापक्ष लागेको छ । सुगौली सन्धिबाट नेपालले गुमाएको भूमि भारतमा गाभिएदेखिबाट सुरु भएको नेपालको राष्ट्रियतामाथिको खतरा हालसम्म पनि जारी रहेको छ । नेपालको कालापानीमा भारतीय सेनाको शिविर स्थापना हुनु, सीमा क्षेत्रमा लगातार नेपालीभूमि अतिक्रमित भइरहनु र नेपाली भूमि लिपुलेकलाई भारत र चीन दुवै देशले धावा बोल्नु लगायतका घटनाहरूसँगै नेपालमाथि नाकाबन्दी गर्नु र मधेश केन्द्रित नेताहरूलाई खुला रूपमा नेपालको राष्ट्रिय अखण्डताविरुद्ध आन्दोलित गराउँदै आएको भारत पछिल्लोपटक सप्तरी जिल्लामा एमाले पार्टीले आयोजना गरेको चुनाव प्रचार अभियानको कार्यक्रमलाई बिथोल्नेसम्मको योजनामा उत्रिएपछि नेपालको तराई क्षेत्र पाकिस्तानबाट बंगलादेश अलग्गिनुभन्दा पहिलेको अवस्थामा नेपाललाई पु¥याउन खोजिएको महसुस हुन थालेको छ । यस्ता गतिविधिहरू भारतले नेपालको राष्ट्रिय स्वाधीनतालाई खलबल्याउन तयार गर्दै आएका आधारहरू हुन् भन्न सकिन्छ ।
भारतले नेपालको संविधान संशोधन गराउन किन चाहन्छ भन्ने कुरा अब स्पष्ट हँुदै गएको छ । नेपालको भूपरिवेष्ठित अवस्था र दक्षिणतिरको समतल भूभागका कारण नेपालमाथि भारतको हस्तक्षेप सहज बनिरहेको छ । उत्तरतर्फ चीनको उपस्थिति नभइदिएको भए नेपालमाथि भारतले सैनिक आक्रमण गरेरै भए पनि नेपाललाई आफ्नो कब्जामा लिइसक्ने थियो भन्ने अनुमान भारतका क्रियाकलापबाट गर्न सकिन्छ । त्यस्तो सैनिक हस्तक्षेपलाई चीनले सजिलैसँग स्वीकार गर्ने सम्भावना नभएकाले नै नेपालको राष्ट्रियता माथि प्रत्यक्ष हस्तक्षेप गर्न भारतले हिम्मत गरिहालेको छैन । परन्तु नेपालको तराई क्षेत्रलाई भारतमा मिलाउन भारतको प्रयास उत्कर्षमा पुगेको वर्तमान अवस्थाले चीनलाई पनि चिन्तित बनाएको बुझ्न सकिन्छ । नेपालमाथि सैनिक हस्तक्षेप गर्दा चीनको विरोध हुने भएकाले नै शान्तिपूर्ण तरिकाबाटै तराई क्षेत्रलाई भारतमा गाभ्न सफल हुने निष्कर्षका साथ भारतीय गतिविधि भइरहेको देखिन्छ । त्यसैका निम्ति तराई क्षेत्रलाई नेपालको पहाडी क्षेत्रबाट अलग प्रदेश बनाउने अभियानलाई भारतले सहयोग पु¥याइरहेको छ । भारतले नेपाल र चीनको व्यापारिक सम्बन्धलाई पनि विकसित हुन नदिने नीति लिएको छ भने आफ्नो तर्फबाट पनि नेपाललाई असहज परिस्थिति सृजना गर्ने भूमिकामा भारत नाङ्गिएर लागेको छ । यो स्थितिले गर्दा नेपाल संकटबाट माथि उठ्न पाइरहेको छैन ।
नेपालमा स्थानीय निकायको चुनाव नभएको २० वर्ष पुग्नै लागेको छ । स्थानीय निकायमा चुनाव नहुनु भनेको स्थानीय तहका जनताका बीच राजनीतिक दलहरूको उपस्थिति हुन नपाउनु हो । जनताका बीचमा राजनीतिक दलहरूको उपस्थिति नहुनु भनेको जनतामा राजनीतिक चेतना जागरण नहुने अवस्था हो । जनतामा राजनीतिक चेतना भएन भने राष्ट्रिय भावना पनि जागरण हुन सक्दैन । नेपालको विगत २० वर्षदेखिको अवस्था यस्तै रहिआएको छ । यो अवस्थालाई चिर्दै अगाडि बढ्न स्थानीय निकायको चुनाव घोषणा भएको अवस्थालाई छिमेकी देश भारतले अवरोध सृजना गर्ने काम गरिरहेको छ । यही कारण हो नेपालको सप्तरी जिल्लामा घटेको पछिल्लो घटना ।
भारतले नेपालका राजनीतिक शक्तिहरूलाई उपयोग गरेर नै नेपालमाथि अस्थिरता पैदा गर्न सफलता हासिल गरिरहेको छ । नेपालका राजनीतिक दलहरूलाई आपसमा लडाएर मधेश केन्द्रित दलहरूको माध्यमबाट नेपालमा आफ्नो स्वार्थसिद्ध गर्ने काम भारतले गरिरहेको छ । मधेश केन्द्रित दलहरूलाई प्रयोग गरेर तराई क्षेत्रलाई अलग प्रदेश गराउने र तराईलाई भारतमा मिलाउने रणनीतिको प्रारम्भिक कार्यका रूपमा ५ नम्बर प्रदेशलाई पहाडि भूभागबाट अलग गराउने अभियानमा भारत अन्तिम कसरतमा लागेको छ । व्यवस्थापिका संसद्मै यो अभियानलाई प्रवेश गराइएको छ र यो अभियानलाई सफल तुल्याउन तराईलाई आन्दोलित गराइएको छ । नेपालका देशभक्त जनताले भारतको यो अभियानलाई सफल हुन भने अवश्य दिनेछैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here