प्रचण्ड सरकारलाई तानाशाही भने वैद्यले

135

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले सप्तरी घटनाको बारेमा पार्टीको धारणा स्पष्ट गर्दै प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । प्रेस विज्ञप्तिमा भनिएको छ– ‘यही फागुन २३ एमालेद्वारा आयोजित सभाको कार्यक्रमको सन्दर्भ र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासितको विवादको अवस्थामा प्रहरीद्वारा अन्धाधुन्ध गोली चलाई रञ्जन मेहता, पीताम्बर लाल यादव, आनन्द शाह र दिगम्बर यादवसहित चार जना मधेशी मोर्चाका कार्यकर्ताहरूको निर्मम हत्या गरिएको छ र दर्जनौंलाई घाइते बनाएको छ । यस भयावह घटनाले पार्टी स्तब्ध भएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ– ‘यो घटना संविधान संशोधन र स्थानीय निर्वाचनको घोषणासित सम्बन्धित छ । यसवारे उत्पन्न समस्याको समाधान गर्न नसक्ने सरकार मुख्य दोषी देखिन्छ भने सभा गर्ने स्वतन्त्रता भए पनि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसक्ने एमालेसमेत जिम्मेवार रहेको छ । साथै, यस घटनामा सम्बन्धित सबै संयमित नभएको पनि पाइन्छ । अन्ततः यो वर्तमान राज्यसत्ता र व्यवस्थाकै असफलताको एक ठोस उदाहरण हो ।’
‘यस स्थितिमा हाम्रो पार्टी अन्दाधुन्द गोली चलाई निर्दोष नागरिकहरूको क्रूर रूपमा हत्या गर्ने तानाशाही नेपाल सरकारको तीव्र निन्दा तथा भत्र्सना गर्दछ । हाम्रो पार्टी प्रहरीको गोलीद्वारा हत्या गरिएका रञ्जन मेहता, पीताम्बर लाल यादव, आनन्द शाह र दिगम्वर यादवप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै, हाम्रो पार्टी मृतकहरूका शोक सन्तप्त परिवारजनप्रति पनि हार्दिक समवेदना व्यक्त गर्दछ । अन्ततः, हाम्रो पार्टी वर्गीय, जातीय तथा क्षेत्रीय सहित सवै विभेद एवम् उत्पीडनको अन्त्यका साथै राष्ट्रियता, जनतन्त्र र जनजीविका समस्याहरूको समाधानार्थ संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्षको वाटोमा दृढतातापूर्वक अगाडि बढ्न सबै देशभक्त, जनवादी र वामपन्थी शक्तिहरूसित विशेष अनुरोध गर्दछ ।’ –विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here