काठमाडौं÷ दशवर्षे जनयुद्धपछि शान्तिप्रक्रियामा अवतरण गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को एउटा हिस्सा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जनयुद्ध शैलीकै युद्ध गर्ने पक्षमा देखिएको छ । सो पार्टीका क्रियाकलापहरू वर्तमान राजनीतिक परिवर्तनप्रति असन्तोष व्यक्त भइरहेका पाइन्छन् । स्थानीय तहको चुनावलाई केन्द्रित गरी सो पार्टीले एकीकृत जनजागरण तथा प्रतिरोध अभियानअन्तर्गत रोल्पाको थवाङ, गाम, घर्तीगाउँ, माडीचौरलगायत दर्जनौं क्षेत्रमा घरदैलो अभियान चलाइरहेको छ । यसअघिको माओवादी सशस्त्र युद्धको जन्मथलोको रूपमा परिचित रोल्पाका जिल्ला गाउँहरूमा विप्लव नेतृत्वको पार्टीले आफ्नो पकड जमाइरहेको छ । घरदैलो अभियानमा स्थानीयहरूको सहभागिता उत्साहजनक देखिएको जनाइएको छ ।
‘कथित स्थानीय चुनाव खारेज गरौं, शान्ति, समानता, स्वाधीनता र समृद्धिका लागि बैज्ञानिक समाजवाद स्थापना गरौं’ भन्ने नारासहित जिल्लास्तरीय नेता–कार्यकर्ताहरू सांस्कृतिक टोलीसहित अभियानमा खटेका छन् । ठाउँ–ठाउँमा प्रहरीको अबरोधका बाबजुद पनि रोल्पाली जनता उत्साहपूर्वक चुनाव बहिष्कारको अभियानमा खटिएको पाइएको छ ।
अभियानमा राष्ट्रिय युवा जनस्वयंसेवकको टोली, जलजला र सामना सांस्कृतिक परिवारको टोली पनि सहभागी रहेको छ । जनपक्षीय गीत र संगीतमार्फत चुनाव बहिष्कारका लागि कलाकारहरूले अपिल गरेका छन् । रोल्पा जिल्लाका सबै क्षेत्रमा २ दर्जन बढी टोली खटिएको जनाइएको छ ।
यसैबीच अभियानकै क्रममा जलजला सांस्कृतिक परिवारका संयोजक हिमाललाई नृत्य देखाइरहेका बेला गिरफ्तार गरिएको छ । बालकलाकार १२ वर्षीय राम पुनलाई सांस्कृतिक कार्यक्रममा नृत्य प्रदर्शन गरिरहेका बेला प्रहरीले कुटपिट गरी पक्राउ गरेको आरोप टोलीले लगाएको छ । रोल्पाको झैमाकसलावासी बालकलाकार पुन र हिमाललाई लिवाङस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाइएको छ । पार्टी सेक्रेटरी जागृतिले विज्ञप्ति जारी गर्दै बालकलाकारलाई पक्राउ गर्ने प्रशासनको हर्कतले सरकार आफै नांगिएको भन्दै बालकलाकार र हिमाललाई तत्काल रिहा नगरे प्रतिरोध संघर्षलाई चर्काउने चेतावनी दिएका छन् ।

















